बिर्तामोड।

झापाको बिर्तामोडमा अधिकांश मिठाई पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ ।

संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीका सदस्य एवम् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्र मिश्रका अनुसार बिर्ता बजारका प्रायः मिठाई पसलहरु सरकारका कुनै पनि निकायका दर्ता भएका छैनन् ।

उद्योग व्यवसाय सञ्चालन गर्न नगरपालिका, घरेलु, आन्तरिक राजश्व कार्यालयलगायत सरकारी निकायमा अनिवार्य दर्ता गर्नुपर्ने मिश्रले जानकारी दिए । त्यस्ता पसललाई साताभित्र दर्ता गर्न र सुधार्न निर्देशन दिइएको छ ।

टोलीले बिर्तामोड राजमार्ग आसपासका होटल ग्राण्ड प्यासिफिक, बिनायक, रेडमग, बगैँचा, कलकत्ता, ममता, गाउँलेलगायत होटलमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताए ।
उनका अनुसार यसअघि चैत १ गते अनुगमन गर्दा फोहोर भेटिएका होटलहरुमा सन्तोषजनक सुधार आएको छ । केही होटलहरु भने पहिलेकै स्थितिमा रहेको पनि पाइएको उनले जानकारी दिए । टोलीले नौवटा होटलको अनुगमन गरेको थियो ।
त्यस्तै, अनुगमन समितिले अर्जुनधारा–६मा रहेको एक सस उद्योगमा अनुगमन गर्दा दर्ताको प्रमाणपत्र नपाएपछि बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । मिश्रका अनुसार अंगुरा सस उद्योगको नाममा सस उत्पादन हुँदै आए पनि सो उद्योग जिल्लास्थित कुनै पनि कार्यालयमा दर्ता गरिएको छैन ।
अनुगमन टोलीमा मिश्र र ढुंगानाका साथै जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत चूडाराज भट्टराई, बिर्तामोड नगरपालिकाका शाखा अधिकृत कुमार बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रतीलगायत थिए ।

