बिर्तामोड।

झापाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा कक्षा ११ र १२मा अत्यधिक भर्ना शुल्क लिने गरेको र विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी रुपमा रकम उठाएको भन्दै विद्यार्थीले विरोध गरेका छन् ।

अनेरास्ववियु झापा र अखिल क्रान्तिकारी झापाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बढाएको शुल्क फिर्ता नलिए आफूहरु संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । बिना दर्ता जथाभावी च्याउसरी कन्सलटेन्सी खोलिएका र कन्सलटेन्सीमा अभिभावक तथा विद्यार्थी ठगिने र अलपत्र पार्ने गरेको पाइएकाले त्यस्ता कन्सलटेन्सी बन्द गर्ने लगायतका ६ बुँदे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदी र अनेरास्ववियू झपाका अध्यक्ष दुर्गा धमलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शैक्षिक माफियाकरण अन्त्यका लागि झापाली बिद्यार्थी, अभिभावक, राजनीतिक दल, समाजसेवी, पत्रकार तथा सम्पूर्ण सरोकारवाला पक्षलाई शैक्षिक अराजकताबिरुद्ध उत्रन आव्हान समेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– प्याब्सन, एनप्याब्सन र विद्यार्थी संगठनबीच भएको केन्द्रीय सहमति तथा जिल्ला प्याब्सन, एनप्याब्सन तथा विद्यार्थी संगठनबीच भएको सहमति कार्यान्वयन भएको छैन । सीटीईभीटीबाट सञ्चालित विभिन्न शिक्षण संस्थाले राज्यको नियम उल्लंघन गरी गुणस्तरहीन शिक्षा दिएको साथै अस्वभाविक शुल्क असुल गर्ने गरेको देखिएकाले गुणस्तरीय शिक्षाका लागि संघर्ष गर्ने विज्ञप्तिमा जनाइएको छ । विभिन्न समयमा राज्य र विद्यार्थी संगठनबीच भएका सबै खाले सहमति कार्यान्वयनका लागि शिक्षामा भएका निजीकरण र माफियाकरणका बिरुद्धमा बृहत ¥यालीसहित विरोध प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ ।
साउन १२ गतेदेखि राष्ट्रिय मुद्दा बनेको मेडिकल शिक्षा सम्बन्धी अन्तरक्रिया गरिने र १२ गते नै स्थानीय निकायमा ज्ञापनपत्र पेश गर्ने, १४ गते प्याब्सन–एनप्याब्सनका पदाधिकारी रहेका विद्यालयमा तालाबन्दी गर्ने, १७ गते अत्यधिक शुल्कबृद्धि भएका सामुदायिक तथा संस्थागत विद्यालयमा तालाबन्दी गर्ने, २० गते बिना दर्ता खोलिएका कन्सलटेन्सी तथा गुणस्तर र पूर्वाधार बिनाका सीटीईभीटी सम्बन्धन प्राप्त शिक्षण संस्थामा तालाबन्दी गर्ने उल्लेख छ ।
त्यस्तै २३ गते मेडिकल शिक्षा सम्बन्धी बृहत् अन्तरक्रिया गर्ने, २७ गते शैक्षिक विकृतिका विरुद्धमा बृहत् ¥याली प्रदर्शन गर्ने, २८ गते स्थानीय निकायका शिक्षा समितिमा तालाबन्दी गर्ने र साउन २९ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने विज्ञप्तिमा भनिएको छ ।

