धनकुटा । 

गोलभेंडा (टमाटर)ले उचित मूल्य नपाउँदा धनकुटाका किसान मारमा परेका छन्। व्यापारीले किसानबाट खरिद गरेको गोलभेंडाको मनपरी मूल्य लिइरहेका छन्। तर, उत्पादन गर्ने किसान भने मूल्य नपाएपछि लगानी समेत नउठ्ने चिन्तामा परेका छन्।

गत वर्ष प्रतिकेजी ७० रुपैयाँसम्म बिक्री भएको गोलभेंडा तीन रुपैयाँमा पनि बिक्री नभएपछि धनकुटा नगरपालिका र शहीदभूमि गाउँपालिकाको किसानका गोलभेंडा कुहिएर जान थालेका छन्। केही समय अघिसम्म ४० रुपैयाँ प्रतिकेजी बिक्री भएको गोलभेंडा भारत सरकारले निकासीमा रोक लगाएको भन्दै व्यापारीहरुले खरिद नगर्दा यस्तो अवस्था आएको किसानको भनाइ छ।

गोलभेंडा उत्पादन हुने सिजन सुरु भएसँगै किसानले बजार र मूल्य नपाउँदा व्यावसायिक खेती गर्दै आइरहेका किसानहरू निराश भएका छन्। यसअघि व्यापारीहरू घरमै आएर भाउ मोलमोलाई गरी अग्रिम भुक्तानी गरेर जान्थे। तर अहिले खरिदका लागि फोन गर्दा समेत बेवास्ता गर्न थालेको धनकुटा नगरपालिका–९ बेलहाराकी कृष्णमाया घिमिरेले बताइन्।

घरखर्च राम्ररी धान्ने भएकाले गोलभेंडाको व्यवसायिक खेती सुरु गरेका यहाँका धेरै किसान गोलभेंडाको सिजन असार अन्तिम सातादेखि भदौसम्म यस्तै बजार मूल्य हुने हो कि भनेर चिन्तित छन्। गत वर्ष प्रतिकिलो ७० रुपैयाँसम्म गोलभेंडा बिक्री गरेको तर अहिले ३ देखि ५ रुपैयाँमा पनि बिक्न गाह्रो परिरहेको किसान भुवन खत्रीले दुखेसो पोखे। ‘ किसानको पीडा सरोकारवाला निकायले बुझ्ने कोसिस कहिल्यै गरेन,’ उनले आक्रोस पोखे, ‘अनि कृषक पेन्सनजस्ता कार्यक्रम कार्यान्वयन होलारु’ पहिले व्यापारीले आफैं फोन गरेर गोलभेंडा टिपेर तयारी अवस्थामा राखिदिनु भनेर फोन गर्ने गरेको किसानहरु बताउँछन्। तर, अहिले आफैले फोन गर्दा समेत खरिद गर्न गाह्रो मान्ने गरेको उनीहरुको भनाइ छ।
किसानको बारीबाट प्रतिकिलो तीन देखि छ रुपैयाँमा खरिद गरेको गोलभेंडा व्यापारीले २० रुपैयाँमा बिक्री गरिरहेका छन्। धनकुटा बजारमा व्यापार गर्दै आएका नगेन्द्र थापा प्रतिकिलो २० रुपैयाँसम्म बिक्री गरिरहेको बताउँछन्। जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ। व्यापारीले आफु खुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन्। किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन्। तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन्। थाहाखबरबाट

