झापा।
नेपाल औषधि तथा विक्री प्रतिनिधि संघको ४९ औं स्थापना दिवस झापा सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
झापामा आयोजित कार्यक्रममा सहभागी चिकित्सकले औषधि विक्रेता र चिकित्सक एक अर्काका अभिन्न अंग भएको बताएका छन् । नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा चन्द्रश्वरप्रसाद यादव (सीपी) ले औषधि विक्रेता र चिकित्सक एक अर्काका परिपुरक भएकाले सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले भने –सरकारले भदौं १ गतेदेखि लागू गर्ने नयाँ कानूनमा धेरै जटिलता रहेकाले औषधि विक्रेता र चिकित्सक एक हुनु पर्छ ।
अर्का चिकित्सक मिङ्कु झाले औषधि विक्रेताले सिफारिस गरेको औषधि डाक्टरले विश्वासका भरमा प्रयोग गर्नु हुन्छ भन्दै अगाडि भने – डाक्टर र औषधि विक्रेता प्रतिनिधिको सम्वन्ध नङ र मासुको झै सम्वन्ध हुनुपर्छ ।
कार्यक्रममा वोल्दै सीएमएसंघ झापाका अध्यक्ष प्रदीप खरेलले चिकित्सक र औषधि विक्रेता प्रतिनिधि एक ढिक्का भए चिकित्सक र व्यवसायीमाथि जस्तो सुकै समस्या आएपनि सहजै हल गर्न सकिने धारणा राखे । कार्यक्रममा नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ मेचीका पूर्व अध्यक्ष एक राज सुवेदीले समेत धारणा राखेका थिए ।
नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ मेचीका अध्यक्ष उमेश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव रत्नराज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुर्दशन दाहालले गरेका थिए । कार्यक्रममा नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका सदस्य केवल आचार्य दुर्घटनामा घाइते भएकाले उनको निःशुल्क उपचारको पहल गरिदिन चिकित्सकलाई आग्रह गरिएको थियो । ४९ स्थापना दिवसका अवसरमा घाइते आचार्यले केक काटेका थिए । कार्यक्रम पछि मैत्रीपूर्ण फुटसल समेत भएको थियो ।