Aamsanchar

झापामा हेपाटाइटिस ‘सी’ का रोगी बढ्दै, बिर्तामोडमा निःशुल्क परीक्षण शुरु

Author Image
शुक्रवार, भदौ १५, २०७५

झापा ।

झापाको बिर्तामोडमा रहेको पुनर्जन्म समूह नेपालले हेपाटाइटिस (कलेजो सुन्निने) ‘सी’ को निःशुल्क परीक्षण शुरु गरेको छ ।

पछिल्लो समय लागूऔषध दुव्र्यसनीको संख्या बढ्दै गएपछि हेपाटाइटिस ‘सी’ को उच्च जोखिम रहने भएकाले उनीहरुलाई समयमै सचेत गराउँदै उपचारका लागि सहज बनाउन पुनर्जन्म समूह नेपालले मौखिक प्रतिस्थापन प्रणाली अनुसार हेपाटाइटिस ‘सी’को निःशुल्क परीक्षण शुरु गरेको बताइएको छ । पुनर्जन्म समूह नेपालका सञ्चालक राजु गिरीका अनुसार ह्याप्पी नेपाल दमकको सहयोगमा हेपाटाइटिस ‘सी’ को निःशुल्क परीक्षण शुरु गरिएको हो । पछिल्लो समय सो संस्थाले ९ सय ८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

जसमा ७७ जनामा हेपाटाइटिस–सी पाइएपछि संस्थाले विहीवार ह्याप्पी नेपालको भद्रपुरस्थित कार्यालयमा पुन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । सो शिविरमा ६० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको पुनर्जन्म समूह नेपालका सञ्चालक गिरीले बताए । हेपाटाइटिस ‘सी’ परीक्षण शिविर दुई दिनसम्म सञ्चालनमा रहने गिरीले जानकारी दिए । भद्रपुर क्षेत्रमा लागू औषध दुव्र्यसनीको संख्या बढ्दै गएको बताइएपछि उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताइएको छ । पुनर्जन्म समूह नेपालले बिर्तामोडमा हेपाटाइटिस ‘सी’ निःशुल्क रगत जाँच गरिसकेको गिरीको भनाइ छ ।

झापामा ६÷७ हजारको संख्यामा लागूऔषधि दुव्र्यवसनीको संख्या रहेको र उनीहरुमध्ये धेरैमा हेपाटाइटिस ‘सी’ को लक्षण देखापर्ने सम्भावना रहेको ह्याप्पी नेपाल दमकका कार्यक्रम निर्देशक कुमार गुरुङले बताए । केही समय अघिसम्म एचआईभीको अवस्था भयावह रहे पनि हाल हेपाटाइटिस ‘सी’का विरामीको अवस्था भयावह रहेको उनको भनाइ छ ।

के हो हेपाटाइटिस ‘सी’ ः

हेपाटाइटिस ‘सी’ एक किसिमको जीवाणु हो, जुन सन् १९८९मा पत्ता लागेको थियो । हेपाटाइटिस ’बी’ पछि पत्ता लागेकाले यसको नाम हेपाटाइटिस ‘सी’ भएको हुनुपर्छ । यसले शरीरभित्र छिरिसकेपछि कलेजोलाई हानी गर्न सक्छ ।

यो कसरी सर्छ ?ः

एचआईभी र हेपाटाइटिस ’बी’ जस्तै हेपाटाइटिस ‘सी’ पनि रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर हेपाटाइटिस ‘बी’ र एचआईभीभन्दा फरक यो संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने सम्भावना कम रहन्छ । त्यस्तै एचआइभीजस्तै यौनसम्पर्कबाट सर्ने सम्भावना पनि कम रहन्छ । अप्राकृतिक यौनसम्र्पक गर्नाले भने सर्ने सम्भावना बढी हुन्छ । पुरानो तथ्यांक अनुसार हाम्रो देशमा हेपाटाइटिस ‘सी’ भएका व्यक्तिहरूमध्ये ९५ प्रतिशतलाई सुईबाट प्रयोग गर्ने लागू पदार्थको दुव्र्यसनबाट भएको पाइन्छ । एउटा तथ्यांकबाट लागूपदार्थ दुव्र्यसनीमध्ये ९० प्रतिशतलाई हेपाटाइटिस ‘सी’ संक्रमण भएको पाइएको थियो । अन्य सर्ने तरिकामा संक्रमित रगतको प्रयोग, संक्रमित औजारको प्रयोग गरी गरिने शल्यक्रिया आदि पर्छन्, जुन माध्यमबाट सरे पनि यसले गर्ने खराबी भने एउटै हो ।

हेपाटाइटिस ‘सी’ ले कलेजोलाई असर गर्छ । यो जीवाणु शरीरभित्र पसे–नपसेको धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमता अनुसार र अन्य रोग भए÷नभएका अनुसार शुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने जण्डिस, वाक्वाक् लाग्ने, बान्ता हुने, खान मन नलाग्ने हुन सक्छ । केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै निर्मुल पारिदिन सक्छ । यस अवस्थामा अर्कोपटक हेपाटाइटिस ‘सी’ को संक्रमण हुने सम्भावना न्यून रहन्छ । शरीरले जित्न नसकेको अवस्थामा यो जीवाणु रगत र कलेजोमा रहिरहने र कलेजोको संक्रमण भई क्रोनिक हेपाटाइटिस हुन्छ । यस अवस्थामा लक्षणहरू खासै देखिँदैन । पेटको बायाँ माथिल्लो भागमा भारी हुने र चाँडो थकाइ लाग्नेबाहेक अरू लक्षण नहुने कारणले गर्दा यो रोगको निदान समयमै गर्न गाह्रो हुन्छ । क्रोनिक हेपाटाइटिसको उपचार नगरेमा कलेजो क्रमशः बिग्रँदै गएर अन्त्यमा लिभर सिरोसिस हुन्छ । लिभर सिरोसिस भएपछि मात्र लक्षणहरू जस्तै जन्डिस, खुट्टा र पेट सुन्निने, शरीरका मांसपेशीहरू घट्दै जाने, रगत बान्ता गर्ने, बेहोस हुने आदि हुन सक्छन् ।
सामान्यतया हेपाटाइटिस ‘सी’ संक्रमण भएर क्रोनिक हेपाटाइटिस भइसकेपछि अवस्था हेरेर १०÷१५ वर्षपछि लिभर सिरोसिस हुने गर्छ । तर यदि हेपाटाइटिस ‘सी’ को संक्रमण भएको व्यक्तिले रक्सी तथा रक्सीजन्य पदार्थको सेवन गर्ने गरेमा ५ वर्षभित्रै लिभर सिरोसिस हुन सक्छ ।

निदानको उपाय ः

हेपाटाइटिस ‘सी’ बाट संक्रमित व्यक्तिहरूको रगत जाँच गर्दा एन्टी एचसीभी पोजिटिभ अथवा रियाक्टिभ भन्ने नतिजा निस्कन्छ । केही प्रतिशत व्यक्तिमा भने हेपाटाइटिस ‘सी’ संक्रमण हुँदाहुँदै पनि यो नेगेटिभ आउन सक्छ । यस्ता व्यक्तिहरूमा कि रोगको शुरुको अवस्थामा अथवा अन्य रोगका कारणले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम पाइने गरेको छ । रोग यकिन गर्नका लागि जीवाणुलाई पीसीआर पद्धतिबाट रगत हेर्नुपर्ने हुन्छ । यो निकै महंगो प्रविधि हो र हाल हाम्रो देशमा यो सुविधा सजिलोसँग उपलब्ध छैन । पीसीआर पद्धतिबाट जीवाणुको संख्या यकिन गरेपछि उही पद्धतिबाट उपचार गर्नका लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ । अहिलेसम्म १२ जेनेटाइप (१–१२) पत्ता लागे पनि ६ प्रकारका जीवाणुहरू (१–६) उपचारका लागि छुट्याइने गरिन्छ । रोगबाट सिर्जित अवस्था थाहा पाउनका लागि (एलएफटी, प्रोथोमबिन टाइम), कलेजोको भिडियो एक्स– रे, इन्डोस्कोपी र अवस्था हेरी लिभर बायोप्स्सी नगरिकन कलेजोको कडापन जाँच्न सकिन्छ । यस प्रविधिलाई फाइब्रोस्क्यान भनिन्छ । केही महिनाभित्र यो प्रविधि नेपालमा पनि उपलब्ध हुनेवाला छ । यसबाट केही मिनेटको जाँचपछि कलेजोको कडापन कम्प्युटरको सफ्टवेयरको मद्दतबाट पत्ता लगाउन सकिन्छ ।
सन् १९९१ मा अल्फा इन्टरफेरोन भन्ने औषधिबाट यसको उपचार शुरु गरिएको हो । धेरै साइड इफेक्टहरूको कारण बिरामीहरूले बीचैमा उपचार छाड्नुपर्ने बाध्यता थियो । महंगो मात्र नभएर उपचार गरे पनि निको नहुने र निको भइसकेपछि पनि जीवाणु पुनः देखा पर्ने समस्याले हाम्रो देशमा यसको प्रयोग खासै हुन सकेन । १९९८ मा राइबाभेटिनको आविष्कारपछि यी दुई औषधि प्रयोगबाट उपचारमा काँचुली फेरियो । दुई औषधिको एकैसाथ प्रयोग गर्नाले सफल उपचारको प्रतिशत बढ्न गयो । २००१ मा ’पेटा इन्टरफेरोन’ को आविष्कारपछि हेपाटाइटिस ’सी’ का बिरामीहरूले वरदान पाएजस्तै भयो । ‘पेटा इन्टरफेरोन’ हप्तामा १ पटक लिए हुन्छ र यसको साइड इफेक्ट तुलनात्मक रूपमा निकै कम हुने गर्छ । राइबाभेरिनका साथमा प्रयोग गर्दा धेरै बिरामीले उपचार गर्ने मौका पाएका छन् । २०११ मा अन्य औषधि पनि प्रयोगमा आएका छन् । ’टेलप्रिभिर’ र ’बोसिप्रिभिर’ को प्रयोगबाट तुलनात्मक रूपमा निको हुन गाह्रो हुने जेनोटाइप १ का रोगीहरू र उपचार सकेपछि पनि रोग फर्केका बिरामीहरूले लाभ पाउने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर