Aamsanchar

यौन अपराधको कारक फेसबुक

Author Image
बिहिवार, भदौ २१, २०७५

भद्रपुर ।

केही महिना अगाडि झापाको बिर्तामोड निवासी एक व्यक्तिले आफ्नो फेसबुकमा एउटी युवतीले पठाएको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरे । त्यसपछि अपरिचित ती युवतीसँग निरन्तर फेसबुक च्याटमा कुराकानी गर्न थाले । सोही कुराकानीको दौरानमा उनीहरुबीच प्रेम सम्बन्ध बस्यो । तर, ती व्यक्ति विवाहित पुरुष हुन् । फेसबुकमा अपरिचित युवतीसंग प्रेम सम्बन्ध बसेपछि उनीहरुबीच अश्लील कुराकानी समेत हुँदै गयो ।
यतिसम्म कि उनीहरुबीच नाङ्गो भिडियो च्याट समेत हुन थाल्यो । सोही मौका छोपी ती अपरिचित युवतीले नाङ्गो भिडियो रेकर्ड गरिन् र उनलाई इमेलमार्फत पठाएर बार्गेनिङ्ग गर्न शुरु गरिन् । नाङ्गो भिडियो वापत ती व्यक्तिसँग युवतीले १० हजार डलर मागेपछि उनी मानसिक तनावमा पुगे । बार्गेनिङ्गको सञ्जालमा परेर मानसिक तनाव झेल्न नसकेपछि उनी इलाका प्रहरी कार्यालय बिर्तामोड पुगे ।
उनको घटना सुनेपछि इलाका प्रहरी कार्यालयले साइबर अपराध शाखासँगको सहकार्यमा ती युवतीको फेसबुक एकाउन्टको बारेमा सोधीखोजी गर्दा स्थानीय ठेगाना फिलिपिन्स देखियो । ती नेपाली व्यक्तिलाई प्रहरीले न्याय दिन नसकेको तीतो यथार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले झापाको भद्रपुरमा आयोजित बालबालिकामा हुने अनलाइन यौनशोषण रोकथाम बिषयक जिल्लास्तरीय परामर्श कार्यक्रम सुनाए ।

प्रहरी नायव उपरीक्षक कोइरालाले भने– ‘यो त एउटा प्रतिनिधि घटना मात्र हो, झापा लगायत देशभर यस्ता समस्याका घटना प्रहरी समक्ष दैनिक आइपुग्छ ।’ जस्ट से नो नेपाल नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा उनले भने– पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत अपराधका घटनाहरु बढ्न थालेको छ, यो नेपालमा मात्र चुनौतिको बिषय बनेको होइन संसार मै यसले विकृति फैलाउन थालिसकेको छ ।

बिशेषगरी बालबालिकामा यसको असर देखापरेको छ’– उनले भने– अहिले प्रत्येक नेपाली बालबालिकाको हात÷हातमा मोबाइल, ल्याप्टप र कम्प्युटर छ, बालबालिकाले फेसबुक एकाउन्ट त बनाउँछन्, तर फेसबुक एकाउन्टमा हुने सुरक्षित तरिकाबाट उनीहरु अनभिज्ञ छन,् जसको असरपछि गएर देखा पर्छ । उनीहरु अपरिचित व्यक्तिसंग कुराकानी गर्ने, प्रेम सम्बन्ध बढाउने अनि यौनजन्य घटनाका शिकारमा पर्ने घटनाहरु पनि देखापर्न थालिसकेका छन् । ‘बालबालिका मात्र नभई अहिलेका युवा पुस्ताहरु पनि सामाजिक सञ्जालमा फसी स्वास्थ्य, आर्थिक र मानसिक तनावमा पर्न थालिसकेका छन्, बेलैमा सुरक्षित भएर यसको प्रयोग नगरे लागूऔषधको लत जस्तै सबैलाई यसको रोग लाग्नेमा कुनै दुविधा छैन– उनले भने । अहिले यौनजन्य जस्तै आर्थिक प्रलोभनमा परी मानिसहरु ठगिन थालिसकेकाले बेलैमा सचेत बन्न उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह पनि गरे ।

प्रहरी समक्ष घटना लिएर आउनुभन्दा अघि नै सचेत भइदिए यस्ता प्रकृतिका घटनालाई रोकथाम गर्न सकिन्छ’–उनले भने – ‘तर’ ‘अहिलेका प्रयोगकर्तामा त्यस्तो सचेतना छैन ।’ त्यस्तै जस्ट से नो नेपाल नामक संस्थाका संयोजक ऋषि ओझाले जथाभावी फेसबुकमा व्यक्तिगत विवरण हाल्न थालेकोले अनलाइन यौन शोषणका घटनाले प्रोत्साहन पाइरहेको बताए ।

नेपालमा झण्डै एक करोड फेसबुक प्रयोगकर्ता रहेको बताउँदै उनले भने– ‘यसको लतमा फसेर मानिसको जीवन एक्लो बन्न थालिसकेको छ । यसलाई रोकथामका लागि सरकारले ठोस् कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ । त्यसैगरी झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले फेसबुकसँगै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताको सुरक्षाका लागि प्रहरी, प्रशासन गम्भीर रहेको बताए । सामाजिक सञ्जाल प्रयोगकर्तालाई सुरक्षित बनाउन स्थानीय सरकारले सचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सामाजिक सञ्जाल प्रयोग गर्नु राम्रो हो, तर त्यसबाट हुने असर तथा आई पर्ने घटनाको बिषयमा प्रयोगकर्ता आफंै सचेत बन्नुपर्छ । ‘खेलकुद क्षेत्रमा बालबालिकाको आकर्षण घट्दै गइरहेको छ’– कराते प्रशिक्षक मदन उप्रेतीले भने– ‘सामाजिक सञ्जालमै दिन बिताउँदै गए भने आउँदो दिनमा मानसिक र आँखा रोगी भयावह रुपमा देखिन्छ ।’

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर