Aamsanchar

पहिलोपटक सामुदायिक वन दिवस मनाइयो

Author Image
मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ ।

‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ ।

सामुदायिक वन दिवसका अवसरमा वन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले विश्व जगत्मा नेपालको पहिचान नै वन क्षेत्र भएकाले यसको विकास र विस्तार अहिलेको आवश्यकता भएकोे बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको वनले ‘हरियो वन नेपालको धन’ भन्ने पहिचान पाएकाले यसको संरक्षण हुनु जरुरी छ ।”

उहाँले देश विकासका लागि स्रोत साधन भए पनि यसको उपयोग गर्न नसक्नु दुःखद् भएको बताउनुभयो । उहाँले सामुदायिक वन दिवससँगै देश विकासलाई पनि अगाडि बढाउनुपर्ने स्पष्ट पार्नुभयो ।

सभापति चौधरीले सामुदायिक वनमा संरक्षणमा स्थानीयस्तरको जनतालाई सहभागिता गराए मात्र सामुदायिक वनको संरक्षण हुने उल्लेख गर्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले सामुदायिक वनमा देखिएका चुनौतीलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर एउटै धारणा बनाइयो भने सामुदायिक वनको समस्या हल हुन्छ ।”

सचिव ठाकुरले सामुदायिक वनले विश्वव्यापी रुपमा आफ्नो पहिचान बनाएको भन्दै यो उपलब्धिमूलक ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

वन विभागका निमित्त महानिर्देशक गणेश झाले राष्ट्रिय वनको संरक्षण र सम्बद्र्धनका लागि सामुदायिक वनको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वनको अवधारणा २०३० सालमा पञ्चायती वन कार्यक्रमका रुपमा आए पनि सरकारी स्तरबाट अहिलेदेखि मात्र राष्ट्रिय दिवस मनाएका हौँ ।”

सामुदायिक वन महासङ्घका अध्यक्ष गणेशबहादुर कार्कीले सामुदायिक वनको संरक्षण र सम्बद्र्धनमा महासङ्घ गम्भीररुपले लागेको बताउनुभयो । हाल देशभर १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० सामुदायिक वन रहेका छन् ।

डा महत र भण्डारीलाई सम्मान

सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा विभागले सामुदायिक वन अभियन्ताद्वय डा तेजबहादुर सिंह महत र नीलप्रसाद भण्डारीलाई सम्मान गरेको छ ।

सामुदायिक वन विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै महत र भण्डारीलाई सम्मान गरेको हो । उहाँहरुलाई दोसल्ला र ताम्रपत्रबाट सम्मान गरेको थियो । सामुदायिक वनको अभियान २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वनबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर