नालामै फूल्यो ढकमक्क फूल – आकासियो जग्गाको भाऊ

बिर्तामोड ।



३२ फुटे कालोपत्रे सडक, सडकको दुवैतर्फ फराकिलो नाली, नालीमाथि गमला अनि गमलामा ढकमक्क फूल । हेर्दै मन लोभ्याउने सडक बनाए बिर्तामोडका–५ का स्थानीयवासिन्दाले ।


बिर्तामोड नगरपालिकाले सडक निर्माणका लागि ४१ लाख रुपैयाँ बजेट बिनियोजन गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा इन्देणी टोलका स्थानीयवासीले नगरक्षेत्रमै पहिलो नमूना सडक निर्माण गरेका छन् । न्यूटन स्कूल दक्षिण झण्डै एक किलोमिटर सडक पेटीमा उनीहरुले फूल सहित गोल्डेन चेरी र गोल्डेन स्वामीका विरुवा रोपेर सडकलाई नमूना बनाएका हुन् ।
‘आफ्नो ठाँउ आफैं बनाऊ’ भन्ने नारा सहित त्यस क्षेत्रका वासिन्दाले सडकको दुर्व तर्फको नालीमाथि १४३ वटा गमला राखेर ढकमक्क फूल फूलाएका छन् भने केही गमलामा विरुवा रोपिएको छ । जसका कारण सडकको सुन्दरता बढेको बताउँछन् सोही ठाउँका स्थानीयवासी मेघराज वास्तोला । उनी भन्छन् –‘नमूना सडक बनेपछि यहाँको जग्गाको भाउ समेत आकासिएको देख्ता म आफैं अचम्ममा परे, एक वर्षअघिसम्म जग्गा विक्री गर्न हम्मे – हम्मे पर्ने यो ठाउँमा अहिले जग्गा किन्नेको लर्काे छ ।’ सौन्दर्य कसलाई मन पर्दैन र उनी भन्छन्–‘वाटो हिँड्ने बटुवालेपनि यो सडक देखेपछि सेल्फी लिहाल्छन्,झन् जग्गाको कारोवार त कहाँ पुग्यो कहाँ ।’

सोचे अनुरुपको विकास हुन नसक्दा जताततैका सडक वर्षा याममा हिलाम्वे र अहिले धुलाम्वे छन् । धुलाको कारण त्यस्ता सडकमा हिनडुल गर्नसम्म मुस्किल हुन्छ । वर्षाैदेखि जीर्ण बनेका सडक नवन्दा सास्ती खेपिरहेका स्थानीयवासीलाई समेत सरकारको मुख मात्र नताकौं आफ्नो ठाउँवाट पनि केही गर्न सकिन्छ भन्ने सञ्देश सहित त्यहाँका स्थानीयवासी सडक निर्माणमा जुटेको र नमूना सडक निर्माण गरेको वास्तोलाको भनाई छ ।
उनी भन्छन्–‘सडक निर्माणका लागि बनेको उपभोक्ता समितिले आफ्नो क्षमताले भ्याएसम्म सामग्री जुटाएर सडकलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने तर्फ लागेका छन् । बिर्तामोड नगरपालिकाका कर्मचारी समेत रहेका उनी सोही ठाउँका स्थानीयवासी समेत हुन् ।
शिरोमणि खतिवडा(शिरोसान्दाई)को अध्यक्षतामा बनोको सडक निर्माण उपभोक्ता समितिले गरेको काम साँच्चै उदाहरणीय रहेको रक्षा पोखरेल बताउँछिन् । उनी भन्छिन्–‘ नमूना सडक बनाउने योजनाकार जीतवहादुर कार्की हुनुहुन्छ , उहाँकै अग्रसरतामा यो सडक आज यस्तो बन्यो ।’
नालामाथि रोपिएको विरुवाको संरक्षण र सम्वद्धन गर्ने व्यक्ति हुन् वालकृष्ण पोखरेल । उनीसंगै गणेश खतिवडा, निरज खतिवडा, शुशील कार्की, रक्षा पोखरेलले पनि विरुवा संरक्षणमा अग्रसरता देखाएको बताइन्छ । सरकारले एक घर दुई विरुवाको नीति अघि सारिसहेका बेला इन्दे्रणीटोलका स्थानीयवासीले देखाएको अग्रसरता समग्र नगरवासीकै लागि अनुकरणीय भएको वास्तोलाको भनाई छ ।
सडक किनारमा विरुवा रोपेको खण्डमा वातावरण समेत सुन्दर हुने भन्दै वास्तोलाले भने–‘ इन्द्रेणीटोलका वासीले झैं सबै नगरवासीले आफ्नो घर, टोल वरीपरि यसैगरी विरुवा र फूल रोप्ने हो भने हाम्रो नगर सञ्चै सुन्दर र प्रदुषण रहित बन्छ ।’

