सुरुङ्गा ।

कडरिया बन्धु सेवा समाज झापा–मोरङ शाखाको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कडरिया बन्धु भवन कोटीहोममा समाजका अध्यक्ष गोविन्दप्रसाद कडरियाको अध्यक्षतामा भएको सभा प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष प्रभाखर कडरियाले दीप प्रज्ज्वलनसहित ब्यानर वाचन गरी उद्घाटन गरेका थिए । उनले बन्धुको एकता र सहकार्यमा जोड दिदै बन्धु समाजलाई सामाजिक काममा सक्रिय गराउनुपर्ने बताए ।

कार्यक्रममा ज्येष्ठ मातापिताहरु खगेन्द्रमाया कडरिया, छबिमाया कडरिया, रामप्रसाद कडरिया, गजबहादुर कडरिया, दाताराम कडरिया, विष्णुमाया कडरिया, चूडामणि कडरिया, पवित्रा कडरिया र गंगाप्रसाद कडरियालाई सम्मान गरिएको थियो । त्यसै गरी, संस्था स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा संस्थापक अध्यक्ष मोहन कडरियालाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा २०७४ सालको एसईई परीक्षामा कडरिया बन्धुको छोराछोरीमध्ये उत्कृष्ट ग्रेड ल्याउने कनकाई मावि सुरुङ्गाका अनुराग कडरिया र कमलप्रसाद कडरिया, पाथीभरा अंग्रेजी मावि लक्ष्मीपुरकी रेखा कडरिया, दाम्रिभिट्टा अंग्रेजी मावि मोरङ्गकी प्रकृति कडरिया, इस्टर्न स्टार अंग्रेजी मावि दमकका मोहन कडरिया र अर्जुन कडरियालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
साधारणसभाको बन्दसत्रले अध्यक्ष गोविन्दप्रसाद कडरियाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, सचिव वीरेन्द्र कडरियाद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष गंगाप्रसाद कडरियाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको समाजका कार्यसमिति सदस्य कैलाश कडरियाले जानकारी दिए ।
कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष कोमलप्रसाद प्रसाई, कडरिया बन्धु वंशावली प्रकाशन समितिका संयोजक मेदिनीप्रसाद कडरिया, बुद्धिजीवी सी.पी. कडरिया, सिचाइँ विभागका इञ्जिनियर दुर्गाप्रसाद कडरिया, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, तारकेश्वर महादेव आश्रमका अध्यक्ष अग्निप्रसाद कडरिया लगायतको आतिथ्य रहेको कार्यक्रममा समाजका केन्द्रीय सचिव भुपेन्द्र कडरिया, प्रकाश कन्स्ट्रक्सन कम्पनीका सञ्चालक प्रकाश कडरिया लगायतले मन्तव्य राखेका थिए ।
समाजका जिल्ला कार्यसमिति झापा–मोरङ्ग शाखाका उपाध्यक्ष कमलप्रसाद कडरियाले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव वीरेन्द्र कडरियाले सञ्चालन गरेका थिए ।

