अर्जुनधारा।

झापाको अर्जुनधारा–३ खुदुनावारीमा रहेको सर्वेश्वर शिव पाञ्चायन मन्दिरको कम्पाउण्ड वाल निर्माण गरिने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीराम शर्माको अध्यक्षतामा शनिबार आयोजित गत माघ १ देखि ७ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय विवरण सार्वजनिक कार्यक्रममा उक्त कम्पाउण्ड वाल निर्माण गर्ने निर्णय गरिएको हो ।

चार सय मिटर कम्पाउण्ड वाल निर्माण गर्न सोही कार्यक्रमबाट समितिका सचिव युवराज चापागाईंको अध्यक्षतामा ११ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

नवगठित समितिको सचिवमा दिपक दुलाल, कोषाध्यक्षमा कृष्णप्रसाद बाँस्कोटा, सदस्यहरुमा नर्वदा बाँस्कोटा, नेत्रकुमारी कार्की, पदम कटुवाल, यामकुमार बाँस्कोटा, लोकनाथ दुलाल, वेदमाया शर्मा, होम पाण्डे र होम ल्वागुन चयन भएका छन् ।
त्यसैगरी निर्माण हुने उक्त कम्पाउण्ड वालको अनुगमन गर्न सल्लाहकार समितिका संयोजक शिव सेंढाईंको संयोजकत्वमा पदमलाल ढकाल, मदन बाँस्कोटा सदस्य रहेको पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ । थप दुई जना सदस्य अर्जुनधारा–३ वडा समिति र स्थानीय जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहसँग माग गर्ने बताइएको छ ।
उक्त कम्पाउण्ड वाल निर्माण गर्न महायज्ञबाट भएको जम्मा बचत दुई लाख ९२ हजार ४५ रुपैयाँ प्रारम्भिक लगानीकोरुपमा खर्च गरिने बताइएको छ । थप आवश्यक रकम अर्जुनधारा नगरपालिका, सहयोगी संघ–संस्थाहरु, दाता महानुभावहरुसँग समन्वय गरिने समितिका सचिव दुलालले जानकारी दिए ।
कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार महायज्ञको जम्मा आम्दानी पाँच लाख ५५ हजार तीन सय ६९ रुपैयाँ र जम्मा खर्च दुई लाख ६३ हजार तीन सय २४ रुपैयाँ रहेको छ ।
अध्यक्ष शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा नगर बोर्ड सदस्य खिनमान दास, बुद्धशान्ति–५ वडा कार्यालयका वडासचिव उद्धव दाहाल, सशस्त्र प्रहरी बल खुदुनावारी वेसका प्रमुख सई खड्गविक्रम राई, त्रिपुरेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका सचिव शंकर घिमिरे, दिपक बाँस्कोटालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सचिव चापागाईंले गरेका थिए ।

