Aamsanchar

रगत चाहियो भने रेडियोमा विज्ञापन

Author Image
सोमवार, साउन ३१, २०७३

Giving-Blood_EL_604-300x155

सोलुखुम्बु।

आइतबार दिउँसोदेखि सोलुखुम्बुको सदरमुकामबाट प्रसारणमा रहेका तीनवटै एफएम रेडियोबाट ‘बी’ पोजेटिभ रगत चाहियो भन्ने विज्ञापन प्रसारण भइरहेको छ ।

छेस्काम–२ सोलुखुम्बुका दमाई हजर राईलाई रगत आवश्यकता भएपछि रगत खोज्दाखोज्दा हैरान भएर रेडियोमा रगत आवश्यकता भनेर विज्ञापन बजाउन थालिएको राईका ज्वाईं पटनबहादुर राईले बताउनुभयो ।

पन्ध्र दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय राईको उपचारका लागि चार पाउण्ड रगत आवश्यक परेको र सेना, प्रहरी रेडक्रस सबैतिर गुहार्दा पनि दाता नभेटेपछि रेडियोमा सूचना प्रसारण गर्न सुझाएको जिल्ला अस्पताल फाप्लुका डा राजेन्द्र बस्नेतले बताउनुभयो ।

सोलुखुम्बुमा रगतको आवश्यकता भएमा ‘रगत चाहियो’ भनेर रेडियोबाट विज्ञापन बजाउनु नौलो होइन, महिनामा चार÷पाँचवटा यस्ता विज्ञापन प्रसारण भइरहेका हुन्छन् ।

सदरमुकाममा आफन्त हुने तथा चिनजान भएकाहरुले मिल्ने समूहको रगत भएको व्यक्ति खोजेर अस्पताल लैजाने गर्छन् भने गाउँबाट आएका र चिनजान नभएकाहरु रेडियोमा विज्ञापन प्रसारण गर्छन्, यसरी प्रसारण भएको विज्ञापन सुनेर केही दाताहरु अस्पतालसम्म पुगी रगत दिनेसमेत गरेका छन् ।

जिल्लामा ब्लड बैंक नभएका कारण रगत अभाव भएमा यस्तै समस्या भोग्नु तथा महँगो यातायात भाडा तिरेर राजधानी लैजानुको विकल्प सोलुखुम्बुवासीसँग छैन । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर