भद्रपुर।

२० बर्ष पश्चात स्थानीय तह जनप्रतिनिधिको हातमा आएको छ । जनप्रतिनिधिले नगरको आर्थिक विकासको पाटोलाई चुस्तदुरुस्त बनाउँदै जनभावना अनुसार काम गर्ने भन्दै चुनावमा खुबै प्रचारप्रसार गरे ।

नगरबासीले ती कुरालाई पत्याए र भोट हालेर निर्वाचित पनि गराए । तर, जनताले कर्मचारीले चलाएको स्थानीय तहमा भोगेका समस्या र गुनासा अहिले जनप्रतिनिधि आउँदा पनि जस्ताको तस्तै छ । यो प्रसंग हो– भद्रपुर नगरपालिकाले गरेको सार्वजनिक सुुनुवाई कार्यक्रमको ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति आक्रोश पोख्दै नगरबासीले समस्यै समस्यासहितका गुनासाहरु पोखेका छन् । नगरपालिकाले चालूआर्थिक बर्षको साउनदेखि माघ मसान्तसम्म गरेको गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, वडा अध्यक्ष, सदस्यहरु समक्ष नगरबासीले खुलेर समस्यासहितका गुनासा पोखेका थिए ।

कार्यक्रममा नगर तथा वडास्तरीय योजनाका विकास निर्माणका कामप्रति नगरपालिकाले चासो नदेखाउँदा ढिलासुस्ती भइरहेको, अनुगमन नहुँदा नगर भित्रको निर्माणाधीन कामहरु गुणस्तरहीन बन्दै गएको, करको दररेट बढाएको, घर नक्सा पास गर्न समस्या हुने गरेको, सडक बत्ती र सरसफाईमा लापरवाही भइरहेको, कृषि पशु शाखावाट यथोचित सेवा नपाएको, हात्ती नियन्त्रणमा कुनै पहल नदेखिएको, सिञ्चाई सुविधामा खासै चासो नदेखाएको र भुस्याहा कुकुर आतंक रोकथाममा पहल नगरेको लगायतका समस्याहरु नगरबासीले राखेका थिए ।
वडा नम्बर ९का वडा अध्यक्ष शनिलाल राजवंशीको निस्कृयताका कारण वडाको विकास निर्माण काम ढिलासुस्ती भइरहेको स्थानीय नन्दलाल भट्टराईले गुनासो पोखे । उनले भने– ‘सडक बत्ती बिग्रिएको हुन्छ, राति हिँड्न समस्या हुन्छ, यस बिषयमा वडा कार्यालय जानकारी गराउँदा पनि कुनै सुनवाई हँुदैन ।’
त्यस्तै स्थानीय राजन भट्टराईले नगरभित्र एकैपटक सघन शहरी विकास कार्यक्रम अन्तर्गत लगाइएको सडक ठेक्का प्रक्रिया नै शुरुदेखि गलत भएको बताए । एउटै प्याकेजमा ठूल्ठूला सडक बनाउने योजना राखिएकोले अहिले नगरको सडक बिस्तारको काम गुणस्तरहीन हुनुका साथै सडकको धुलोले नगरबासी बिरामी पर्न थालेको उनको भनाइ छ ।
जनतामाथि कर बढाएर जनप्रतिनिधि सुविधामुखी हुनुका साथै आफैं नै ठेकेदार बन्दा नगरबासीले सोचे जस्तो हुन नसकेको उनले बताए । त्यस्तै स्थानीय लक्ष्मण बस्नेतका अनुसार कर्मचारीको पालामा शुरु भएको भद्रपुर–५स्थित कोल्ड स्टोर जनप्रतिनिधि आएको झण्डै डेढ बर्ष हुँदा पनि सञ्चालनमा आउन नसकेको दुखेसो पोखे ।
हिराप्रसाद पोखरेलले नगरपालिकाले योजनाका काम समयमा शुरु नगरी अहिले आर्थिक बर्ष सकिन लाग्दा शुरु गरेको बताए । सघन शहरीले थालेको सडक विस्तारको काम चित्त बुझ्दो नभएको बताउँदै उनले भने– ‘नगरपालिकले अनुगमन र रेखदेख नगर्दा गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ ।’
यता नगरबासीबाट आएका गुनासाका बारेमा नगर प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वाड नम्बर ७, ९ र १०का वडाध्यक्ष बिनोद पोखरेल, शनिलाल राजवंशी र टेकबहादुर खड्का (काजी) लगायतले बोलेका थिए ।
भद्रपुर नगरपालिकाको आयोजना तथा नागरिक एफएम भद्रपुरको सहजीकरणमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्रेष्ठले गरेका थिए । नागरिक एफएमका प्रबन्धक चिन्तामणि दाहालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपाल गिरीले गरेका थिए ।

