Aamsanchar

सैनिक महोत्सव शुरु

Author Image
शनिवार, फागुन ४, २०७५

बिर्तामोड।

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई जोगाउन शुक्रवारदेखि ऐतिहासिक सैनिक महोत्सव शुरु भएको छ ।

महोत्सवको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले उद्घाटन गरे । महाभारतकालीन इतिहास बोकेका बिर्तामोड–१०का पोखरीहरुको संरक्षण र सम्वद्र्धन गर्न सके पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पोर्तेलले सैनिक बजारका पुराना वस्तुहरुलाई संग्रहित गरेर संग्राहलय स्थापना गर्नुपर्ने बताए ।

बिर्तामोड–१०का वडाध्यक्ष दूर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३का वडाध्यक्ष भोजराज सिटौला, वडा नम्बर ५का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नयाँ श्रीनाथ गण चारआलीका मेजर ज्ञानबहादुर बस्नेतलगायतले बोलेका थिए ।

त्यस अवसरमा सैनिक बजारसहित वडा नम्बर १०को इतिहास र पहिचान भएको ‘चिनारी पुस्तिका’ बिमोचन गरिएको थियो । कार्यक्रममा राजवंशी, राई, सन्थाल, सुनुवार, नेवार, गुरुङ, तामाङ, लिम्बूलगायतका जातीय झाँकी प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन अघि झाँकीसहितको र्यालीले सैनिक बजार परिक्रममा गरेको थियो ।

महोत्सवमा विभिन्न व्यापारिक ४० वटा स्टलहरुका साथै विभिन्न खेल तमासाका तथा मनोरञ्जनका साधनहरु रहेका छन् । प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष अर्जुन सिटौलाले बताए ।

महोत्सव फागुन १३ गतेसम्म चल्नेछ । तत्कालीन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका २ सय परिवारलाई सो स्थानमा वि.सं. २०२० सालमा पुनर्वास गराएका थिए ।

त्यस्तै सैनिकले रामदर्शन गुरुङ, प्रवेश कटुवाल, दिलेन लोक्ताम, सञ्जय राईलगायतका राष्ट्रिय खेलाडीहरु जन्माएको छ भने सोही वडामा तेलकानी, मधु, सधु र कुँवापानीजस्ता महाभारतकालीन पोखरीहरु रहेका छन् ।

त्यस्तै २५ भन्दाबढी जातजातिको बसोबास रहेको वडा नम्बर १०मा विभिन्न ऐतिहासिक मठमन्दिर र गुम्बा रहेका छन् ।

Views: 227

प्रतिक्रिया (०)