प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदको सपथ लिएको पछिल्लो ११ दिनमा महत्वपूर्ण ११ निर्णय गरेका छन् । उनको ११ निर्णयले जनतामा उत्साह मात्रै छाएको छैन, अपेक्षा र विश्वास समेत बढाएको छ ।
हेरौँ ११ दिनमा प्रधानमन्त्रीले गरेका ११ निर्णय ।
निर्णय १. मन्त्रिपरिषद्का ४ जनमुखी निर्णय
प्रधानमन्त्री पदको पदभार ग्रहण गर्दै प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ४ वटा जनमुखी निर्णय गर्यो । जनतालाई विकास र सरकारसँग जोड्ने प्रचण्ड सरकारको मुख्य निर्णय थियो । गरिबसँग सरकार, प्रत्येक जिल्लामा चिकित्सक, बाढीपीडितलाई एक लाख, भुकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता, कर्णाली र दलित समुदायबाट जन्म दर्ता गरे प्रोत्साहन स्वरुप १ हजार रुपियाँ दिने सरकारको मुख्य निर्णय थियो ।
निर्णय २. मधेस आन्दोलनका घाइतेलाई १ लाख, छानबिनका लागि निर्देशन
प्रधानमन्त्री पदको पदभार ग्रहण गरेको दोस्रो दिन शुक्रबार सत्तारुढ गठबन्धन कांग्रेससहित मधेसी मोर्चासँग छलफल भयो । प्रधानमन्त्रीको निर्वाचनपूर्व मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनमा प्रचण्डले तदारुकता देखाउँदै मधेस आन्दोलनका मृतक परिवारलाई १० लाख र आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठनका लागि गृहमन्त्रालयलाई निर्देशन दिए ।
निर्णय ३. रिबन काट्न नजाने
प्रधानमन्त्री प्रचण्डले आफू रिबन काट्ने कार्यक्रममा नजाने उद्घोष गर्दै त्यस्ता कार्यक्रममा नबोलाई सहयोग गर्न आग्रह गरे । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले हरेक समय जनताको सेवामा लाग्ने भन्दै अपवादबाहेक त्यस्ता कार्यक्रममा नजाने बताए । ‘रिबन काटेर समय बिताउने योजनामा म छैन, समय थोरै छ, जनताको पक्षमा काम गर्नुपर्छ, मैले रिबन काट्न कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छु’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
निर्णय ४. सचिवहरुलाई निर्देशन
प्रधानमन्त्री प्रचण्डले पहिलोपटक सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर २८ बुँदे निर्देशन दिए । सबै कर्मचारीले जनताको पक्षमा काम नगरे कार्वाही हुने बताउँदै उनले तीन दिनभित्र रिजल्ट आउने कार्ययोजना ल्याउन समेत निर्देशन दिए । प्रचण्ड नेतृत्वको सरकारले गरेको ४ बुँदे निर्णय कार्यान्वयनमा तुरुन्त लाग्न समेत उनले निर्देश गरे ।
निर्णय ५. अलपत्र युवाका उद्धार
रोजगारीको सिलसिलामा विदेशमा गई अलपत्र परेका युवाहरुलाई तुरुन्त नेपाल आउने वातावरण मिलाउनका साथै प्रचण्डले गत सोमबार रोजागारीको व्यवस्था गर्न समेत निर्देशन दिए । परराष्ट सचिवलाई टेलिफोनमार्फत उनले जतिसक्दो चाँडो ती युवालाई स्वदेश फर्काउन वा रोजगारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
निर्णय ६. रामचन्द्र तिमल्सिना र अन्य बन्दी जीवन बिताएकालाई रिहाई
प्रधानमन्त्री प्रचण्डले खाडीमा जेल बिताइरहेका काभ्रेका रामचन्द्र तिमल्सिनालाई नेपाल फर्काउने निर्णयका साथ निर्देशन दियो। त्यससँगै उसले खाडीमा जेल जीवन बिताइरहेका अन्य बन्दीहरुलाई सकुसल नेपाल फर्काउने प्रतिबद्धता व्यक्त गरे ।
निर्णय ७. नक्कली डाक्टरलाई बिरामी जाँच्न रोक
नक्कली डाक्टर काममा फर्किएको खबरपछि प्रधानमन्त्रीले उनीहरुलाई बिरामी जाँच्न नदिन निर्देशन दिए । त्यसले नक्कली डाक्टर काममा फर्किनबाट रोकियो ।
निर्णय ८. महंगी र कालोबजारी रोक्न निर्देशन
प्रधानमन्त्रीले पछिल्लो समय महंगी र कालोबजारी बढेको भन्दै त्यसलाई तुरुन्त रोक्न निर्देशन दिए । देखावटी रुपमा नभई परिणाम देखिने गरी अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।
निर्णय ९. दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने
प्रधानमन्त्री प्रचण्डले सरकारका दुई उपप्रधानमन्त्रीलाई छिमेकी राष्ट्र चीन र भारत पठाउने निर्णय गर्यो । जसअनुरुप उपप्रधानमन्त्री कृष्णबहादुर चीन प्रस्थान भइसकेका छन् भने अर्का उपप्रधानमन्त्री बिमलेन्द्र निधि भारत जाने तयारीमा छन् ।
निर्णय १०. म्याद नाघेका सामग्री जलाउन आदेश
प्रधानमन्त्रीले म्याद नाघेका सामानहरु संकलन गरी रत्नपार्क लगी जलाउन आदेश दिए । बजारमा म्याद नाघेका सामग्रीहरु बिक्री वितरण गरेको खबरपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री सो निर्देशनपछि म्याद नाघेका सामग्री खरिद गर्नबाट उपभोक्ता जोगिने भएको छ ।
निर्णय ११. विपत्तिमा तदारुकता
काभ्रेमा भएको बस दुर्घटनाका मृतकलाई उद्धार गर्न प्रधानमन्त्रीले देखाएको तदारुकताले घाइतेहरु अस्पतालसम्म ल्याउन सफल भएको छ। प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएपश्चात घटनास्थलमा हेलिकोप्टर पुगी घाइतेको उद्धार भएको थियो ।
श्रोत : खवर टायमबाट