Aamsanchar

भूकम्पमा भागेका १०५ कैदी मात्र पक्राउ

Author Image
बिहिवार, भदौ २, २०७३

मेलम्ची ।kaidi

गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी भएका ५६ थुनुवा हालसम्म पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ महिला छन् भने ९६ जना पुरुष रहेका छन् ।

जिल्लाबाट पछिल्लो समय पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका अभियुक्त, भूकम्पपश्चात् कारगारबाट फरार भएका सिन्धुपाल्चोक जिल्ला पाङग्रेटार–६ का मानबहादुर श्रेष्ठ रहेको र उनी समेत अहिलेसम्म १०५ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला कारागार सिन्धुपाल्चोकका निमित्त कारागार प्रमुख आकाश अधिकारीले जानकारी दिनुभयो ।

ज्यान मुद्दाको आरोपी उनी भूकम्पपछि जिल्ला कारागारबाट भागेको र गत असार १० गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई धुलिखेल स्थानान्तरण गरिसकेको जिल्ला कारागारले जानकारी दिएको छ ।

कारागारमा भूकम्पअघि २१६ कैदिबन्दी रहेको, जसमा १९६ पुरुष र २० महिला रहेको कारागारले जनाएको छ । भूकम्पपश्चात् फरार भएका कतिपय कैदी आफैँ सम्पर्कमा आएका थिए भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो ।

भूकम्पपश्चात् कारागारसमेत भत्किएकाले कैदी राख्ने ठाउँसम्म नहँुदा धेरै समस्या भएको र समातिएका कैदीलाई विभागले तोके अनुुसारको ठाउँमा पठाउने गरेको निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पले पूर्णरुपमा भत्किएको कारागार अझ सम्म पनि निर्माण गर्ने तत्परता देखिएको छैन । कारागार निर्माणका लागि सार्वजनिक जग्गाको अभाव हँुदा निर्माण प्रक्रिया अहिलेसम्म रोकिएको हो । भूकम्प गएको १५ महिना बितिसक्दासमेत १११ जना कैदीबन्दी अझै फरार छन् ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर