Aamsanchar

बङ्गलादेशबाट आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान मानेनन्

Author Image
शुक्रवार, भदौ ३, २०७३

chamal

काठमाडौँ ।

बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ ।
नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो ।
गुणस्तरीय, सफा भए पनि चामल मोटो र उसिनेको कारणले उपभोक्ताले नरुचाउँदा बिक्री नभएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराउनुभयो ।
उहाँले यहाँका मानिसमा मसिनो चामल खाने बानी परेकाले पनि मोटो चामल किन्न नरुचाएको हुनसक्ने बताउनुभयो ।
सूचना अधिकारी कार्कीले संस्थानले सिन्धुपाल्चोकको जुरे पहिरोमा चीन सरकारले पठाएको एक हजार २८८ क्विन्टल चामल बिक्री भए तापनि सँगै बिक्री गर्न थालेको बङ्गलादेशको उक्त उसिना चामल भने बिक्री नभएको बताउनुभयो ।

संस्थानले चिनियाँ चामलको मूल्य प्रतिकिलो रु ४० र उसिना चामलको मूल्य रु ४१ तोकेको छ ।
“चीनबाट पठाएको चामल मसिनो टाइचिन खालको थियो र त्यो चाँडै विक्री भयो” सूचना अधिकारी कार्कीले भन्नुभयो – “तर बङ्गलादेशको चामल मोटा भएकाले उपभोक्ताले रुचाएनन् ।”
उहाँले जेठदेखि बिक्री वितरण गर्न थालेको उसिना मोटा चामल अहिलेसम्म ५०० क्विन्टल मात्र बिक्री भएको जानकारी पनि गराउनुभयो ।
भूकम्पपीडितको राहतका लागि बङ्गलादेशले पठाएको १० मेट्रिक टनमध्ये २१ हजार ८०५ क्विन्टल मात्र भूकम्पपीडितलाई वितरण गरिएको थियो ।
भूकम्प प्रभावित क्षेत्रबाट माग नभएपछि एक वर्षसम्म ७८ हजार १९५ हजार क्विन्टल काठमाडौँ, गोर्खा, सुर्खेत, नेपालगन्ज र धनगढीस्थित संस्थानकै गोदाममै थन्किएको थियो ।
सरकारले गत वैशाखमा मन्त्रिपरिषद्को निर्णय गर्दै गोदाममा थन्किएको चामलमध्ये ३४ हजार क्विन्टल ‘कामका लागि खाद्यान्न योजना’ ल्याएर संस्थानमार्फत कर्णालीका चार जिल्लामा ३० हजार र कालीकोटमा चार हजार क्विन्टल बेच्न निर्देशन दिएको थियो ।
सो परिमाणको चामल हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा बिक्रीका लागि पठाइसकेकोे बताउँदै सूचना अधिकारी कार्कीले भन्नुभयो – जिल्लामा पठाएको सो चामल दसैँसम्ममा बिक्री गर्ने लक्ष्य लिएको छ ।
“दसैँमा विभिन्न ठाउँमा बिक्री कक्ष राखेका हुन्छौँ”, उहाँले भन्नुभयो – “त्यहीबेला उक्त चामल बिक्री गर्ने योजना रहेको छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)