डा. राजु पगेनी, छाती रोग विशेषज्ञ
० फोक्सोको मुख्य काम के हो ?
– मानिसको शरीरभित्र दायाँ र बायाँ दुवैतिर फोक्सो हुन्छ । यसको मुख्य काम भनेको हावामा भएको अक्सिजन लिएर रगतसम्म पु¥याउने र अरु मांसपेशीबाट बनेको कार्बनडाइअक्साइड ग्यासलाई बाहिर फाल्ने हो । चिकित्सकीय भाषामा यसलाई ग्यास एक्सचेन्ज भन्छौं । मुख्य काम शरीरमा अक्सिजन पु¥याउने र कार्बनडाइअक्साइड बाहिर निकाल्ने हो । त्यो बाहेक शरीरको तापक्रम सन्तुलन गर्ने, हर्मोन रिलिज गर्ने र मुटुबाट निस्केको रगत फिल्टर गरेर विभिन्न भागमा पु¥याउने काम हुन्छ । यसबाहेक अरु काम पनि हुन्छन्, तर मुख्य काम भनेको चाहिँ अक्सिजन र कार्बनडाइअक्साइडलाई एक्सचेन्ज गर्ने हो ।
० छातीको संक्रमण भन्नले के बुझ्न सकिन्छ ?
– बाहिरबाट माइक्रो अग्र्यानिजमहरू प्रवेश गरेर छातीभित्र सुजन (सुन्निनु) हुन्छ । फोक्सोमा पानी र फोहोर कुरा जम्ने ग¥यो भने बालबालिका तथा विरामीलाई समस्या हुन्छ । त्यस्तो बेला हामी छातीमा संक्रमण भयो भन्छौं ।
० कुन कुन कारणले छातीमा पानी भरिन्छ ?
– हाम्रो फोक्सोमा लाखौंलाख बेलुन जस्ता कोषहरु हुन्छन् । ती कोषहरु हावाले फुलेर बसेका झुप्पाजस्ता हुन्छन् । तर संक्रमण भएका बेला ती कोषमा पानी वा फोहोर कुरा जम्मा भएको हुन्छ । त्यस्तो बेलामा शरीरमा अक्सिजन पनि राम्रोसँग सञ्चार हुँदैन । फोक्सोभित्र फोहोर कुरा जम्मा भएर सुजन हुनुलाई हामी निमोनिया भन्छौं । कहिलेकाहीँ त्यो संक्रमण फैलिएर फोक्सोभन्दा बाहिरको लेयरमा आएर पानी जम्यो भने थप समस्या हुन्छ । निमोनियाका कारण फोक्सो बाहिर पनि पानी जम्न थाल्छ । हाम्रोजस्तो ठाउँमा धेरैजसो निमोनिया यही कारणले हुन्छ । तर कहिलेकाहीँ क्यान्सर, टिबी लगायतका कारण पनि फोक्सोमा पानी जम्न सक्छ ।
० यो अवस्थामा कस्तो लक्षण देख्न सकिन्छ ?
– छातीको संक्रमणको सामान्य संकेत भनेको ज्वरो आउने, खोकी लाग्ने हुन्छ । खकारको रंग परिवर्तन हुन्छ । पहेंलो खकार आउने, कहिलेकाहीँ रगतको छिटा देखिन्छ । कसैलाई रगत मात्र आउन सक्छ । त्यसबाहेक छाती दुख्ने, राति राति पसिना आउने, श्वास फेर्न गाह्रो, अप्ठ्यारो हुने, शरीरमा अक्सिजनको मात्रा कम हुनेलगायत लक्षण हुन्छन् । निमोनियामा दुई तीन दिनको मात्रै लक्षण हुन्छ भने क्षय रोगमा चाहिँ हप्ता दिनभन्दा लामो लक्षण देखिन्छ ।
० छातीमा पानी कसरी भरिन्छ ?
– फोक्सोको बाहिरपट्टि दुईवटा लियर हुन्छ । यो दुईवटा लेयरको बीचमा जम्मा तीन–चार एमएल पानी हुन्छ । त्यो पानी बन्छ र शरीरमा सोसिन्छ । यो प्रक्रिया बारम्बार भइराखेको हुन्छ । फोक्सोमा संक्रमण भयो, निमोनिया भयो, क्यान्सर र टिबी भयो भने पानीको मात्रा धेरै बन्ने तर सोस्ने प्रक्रिया कम हुन्छ । जसले गर्दा फोक्सोको बाहिरपट्टि पानी जम्दैजम्दै जान्छ । जुन कारणले त्यो पानी जम्यो, त्यो कारणको उपचार नभएसम्म पानी बढ्दै जान्छ । अलि पछि गएपछि त्यसको लक्षण देखिँदै जान्छ । इन्फेक्सन वा क्यान्सरको कारणले बन्ने प्रोसेस र सोस्ने प्रोसेसमा समस्या आयो भने फोक्सोको बाहिरपट्टि पानी जम्छ ।
० टिबीले गर्दा पनि छातीमा संक्रमण हुन्छ ?
– टिबीको कीटाणु हाम्रो फोक्सोको बाहिरपट्टिको लेयरमा प्रवेश गरेपछि तिनीहरूले प्रतिक्रिया जनाउँछन् । त्यो प्रतिक्रियास्वरूप फोक्सोको बाहिरपट्टि पानी जम्छ, टिबीका कीटाणुले पानी सोस्ने छिद्र ब्लक गर्दिछन् ।
० छातीको संक्रमणमा धूवाँधुलोले कत्तिको असर गरिरहेको हुन्छ ?
– धूवाँधुलो भित्रभित्रै समस्या उत्पन्न गर्ने वस्तु हुन् । यसले दुई तीनवटा कारणले संक्रमण फैलाउँछ । पहिलेदेखि नै छाती वा दमको रोग छ, फोक्सो कमजोर छ र शरीरमा रोगसँग लड्ने क्षमता कमजोर छ भने प्रदूषण भएको बेला वा धूवाँधुलोमा गएको बेला यी रोगहरू बल्झेर एक्कासि समस्या आउँछ । धूवाँले छातीभित्रबाट खकारहरू निकाल्ने अथवा खकारलाई हामीले खोकेर निकाल्ने संयन्त्रलाई अवरोध गर्दिन्छ । जसले गर्दा शरीरमा खकार जम्ने र निमोनियाको संक्रमण हुन्छ । धूवाँ र धुलोले पुरानो छातीको समस्यालाई बल्झाउन पनि सक्छ र छातीमा नयाँ समस्या पनि सिर्जना गर्दिन्छ । त्यसकारण धूवाँ र धुलोबाट जोगिनुपर्छ ।
० डाक्टरहरू निमोनियाबाट मेनेन्जाइटिस हुन्छ भन्छन्, यसले फोक्सोबाट दिमागमा कसरी असर पुयाउँछ ?
– कसैलाई रुघा लाग्यो, रुघा लागेको मान्छेले खोक्दा खकारमा लाखौं लाख कीटाणु हुन्छन् । कसैलाई टिबी लागेको छ भने खकारमा रहेका टिबीका कीटाणु हावामा जान्छ । ती कीटाणुलाई हामीले श्वासमा लिन्छौं र फोक्सोमा पुग्छ । ती कीटाणु छिरिसकेपछि हामीलाई रोग लाग्ने वा नलाग्ने कुरा एक दुईवटा चीजमा भर पर्छ । रोगसँग लड्ने क्षमता शरीरमा कत्ति छ र अर्को कुरा कीटाणु कत्ति धेरै मात्रामा हाम्रो शरीरमा प्रवेश गरे भन्ने कुरामा भर पर्छ ।
हाम्रो शरीरमा ती कीटाणु प्रवेश गरिसकेपछि हाम्रो फोक्सोले खोकेर खकारमार्फत बाहिर निकाल्छ । रोगसँग लड्ने क्षमता हाम्रो शरीरमा एकदमै कम छ भने हाम्रो फोक्सोले त्यसलाई बाहिर निकाल्न सक्दैन । फोक्सोको माध्यमबाट ती कीटाणु रगतमा प्रवेश गर्छन् । रक्तसञ्चारमा कीटाणु प्रवेश गरिसकेपछि संक्रमण हुँदै हाम्रो शरीरको विभिन्न अंगहरूमा जान्छन् । त्यसमध्ये एउटा अंग ब्रेन पनि हो । ती किटाणु टाउकोमा पुगेर संक्रमण गर्न थाल्यो भने मेनेन्जाइटिस हन्छ । टाउकोमा मात्र होइन, शरीरको अरु अंगमा पनि असर पुग्छ । कहिले मुटु, आन्द्रालगायत अन्य अंगहरूमा असर गर्छ ।
० निमोनिया कुन उमेर समूहलाई बढी लाग्छ ?
– निमोनिया पाँच वर्षमुनिका बालबालिका र ६५ वर्ष कटेका बुवाआमालाई बढी हुने सम्भावना रहन्छ । बालबालिकाको स्वास्थ्य राम्रो नै भए पनि रोगसँग लड्ने क्षमता विकसित भइसकेको हुँदैन भने वृद्धावस्थामा पनि रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ । अन्य एचआईभी संक्रमित, सुगर र किड्नीका विरामी, पुरानो दीर्घरोग भएकासँग पनि रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । चुरोट पिउने, रक्सी सेवन गर्ने तथा धूवाँधुलोमा बस्नेलाई अन्यभन्दा निमोनिया हुने सम्भावना धेरै हुन्छ ।
० धेरैजसो किड्नीका विरामीहरू छातीमा पानी जम्यो भनेर अस्पताल भर्ना भएका हुन्छन् नि ?
– यसका दुई तीनवटा कारण हुनसक्छन् । दुवै किड्नी (मृगौला) ले काम गरेको छैन भने शरीरमा विषादीहरू जम्मा हुन्छ । किड्नीले फिल्टर गर्नुपर्ने, त्यो काम नभएपछि विषादीको मात्रा बढ्दै जान्छ । विषादीले गर्दा फोक्सोमा पानी जम्न सक्छ । दोस्रो कारण, किड्नीको समस्या भएका विरामीको पिसाब राम्रोसँग खुल्दैन । पिसाब नखुलेपछि शरीरमा पानीको मात्रा बढी हुन्छ । पानीको मात्रा बढी भएपछि केही मात्रामा पानी फोक्सोमा पनि छिर्छ । त्यसले पनि फोक्सोको बाहिरी लेयरमा पानी जम्छ । त्यसबाहेक किड्नीको समस्या हुनेलाई निमोनियाको जोखिम बढी हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको कारणले निमोनिया हुन्छ । किड्नीको समस्या भएकालाई धेरै कारणले फोक्सोमा पानी जम्न सक्छ ।