Aamsanchar

अदालतको फैसला उल्लंघन

Author Image
मङ्गलवार, भदौ ७, २०७३

 

पार्थ मण्डल, भद्रपुर।

16_03_2016-eppff

झापाका चर्चित उद्योगपित स्वर्गीय मोहनलाल अग्रवालको निजी सम्पत्तिमा विवाद शुरु भएको छ । भद्रपुर–८स्थित जनताचोक मूल घरमा भएका मोहनलालको निधन भएको एक बर्ष वितिसक्दा पनि माइला छोरा सुरेशले दाजु महेशलाई पैतृक सम्पत्तिको हक नदिएपछि विवाद शुरु भएको हो ।

उपचारको सिलसिलामा १३ बर्ष अघि भारतको कलकतामा बस्दै आएका दाजु महेश दुई महिना अघि आफ्नै घर भद्रपुर फर्किएका छन् । घर फर्किंदा पनि भाइ सुरेशले कम्पनीको कारोबार तथा सम्पत्तिको हक नदिएपछि अहिले महेश पीडित बनेका छन् । महेशको नाममा रहेको सम्पत्ति र शेयर लगानीबाट भाइ सुरेशले वञ्चित गरेको बताइएको छ ।
महेश आफ्नी श्रीमतीको नाममा रहेको जग्गा जोतभोगका लागि अगाडि बढे पनि सुरेशले प्रहरी, प्रशासनको आडमा रोक लगाउन खोजेपछि दुई भाइबीच विवाद बढेको छ । दाजु–भाइबीचको बिवाद जिल्ला प्रहरी कार्यालय झापासम्म पुगेको छ ।
घटना अनुसार साविक महेशपुर–५हाल भद्रपुर–१मा रहेको मोहन टी इस्टेट प्रालि महेशकी श्रीमती चन्दाको नाममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता छ । महेशले सञ्चालन गरे पनि लगभग २२ विगाह क्षेत्रफलमा रहेको सो चिया बगानको आम्दानी १३ बर्षदेखि सुरेशले भोग गर्दै आइरहेका छन् । भाइ सुरेशले आफ्नी श्रीमती चन्दाको नाममा रहेको जग्गा हडपेको भन्दै महेशले आइतबार बगानमा गएर मजदुरलाई सरकारले तोकेको न्यूनतम तलब दिने प्रतिवद्धता जाहेर गरेपछि मजुदरले चियापत्ति टिप्न थालेका थिए ।
महेशको उपस्थितिमा चियापत्ति टिप्न थालेपछि भाइ सुरेशले प्रहरीलाई खबर गरेर पत्ती टिप्न रोक लगाएका थिए । साथै मजदुर लगाएर आफ्नो जग्गाको पत्ती टिपेको भन्दै सुरेशले दाजुकाबिरुद्ध आइतबार प्रहरीमा निवेदन दिएका छन् ।
सोमबार प्रहरी कार्यालय झापाका एसपी शैलेश थापा क्षेत्रीको उपस्थितिमा भएको छलफलमा महेश र सुरेश दुवैतर्फका वकिल, उद्योगी व्यवसायी सहभागी भएका थिए । अदालतबाट समेत महेशको पक्षमा फैसला भएको कागजात पेश भएपछि महेशले नै पत्ती टिप्ने प्रहरी कार्यालय झापामा मौखिक सहमति भएको छ । यस बिषयमा मंगलवार पुनः जिल्ला प्रशासन कार्यालय झापामा छलफल हुने एक उद्योगीले बताए । २०५८ साल असोज ११ गते मोहन टी इस्टेटका सञ्चालक महेशको नाममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको कागजातमा उल्लेख छ ।
टी इस्टेट सञ्चालक महेशले श्रीमती, छोराछोरी गरी चार जनाको शेयर रहेको भनी २०५८ कात्तिक २५ गते निवेदन दर्ता गराएको देखिन्छ । २०५९ असोज १० गते महेशले श्रीमती चन्दाको नाममा टी इस्टेटको सञ्चालकका रुपमा नामसारी गरेका थिए । यति हुँदाहँुदै पनि उनका बाबु मोहनलालले मोहन टी इस्टेट प्रालिका सञ्चालक महेश र उनकी श्रीमती चन्दा नभएको कीर्ते कागजात बनाइ २०६२ सालमा काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । कागजात कीर्ते ठहर भएको भन्दै काठमाडौ जिल्ला अदालतले मोहन टी इस्टेटका सञ्चालक चन्दा भएको भनी २०६५ भदौ ६मा फैसला गरेको थियो । अदालतले गरेको फैसला पक्षमा नभएको भन्दै उनका बाबु मोहनलालले पुनः पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दा पनि महेश र उनकी श्रीमतीको पक्षमा पुनरावेदन अदालतले २०६८ मंसीर १८ गते फैसला गरेको थियो । दुई वटा अदालतले महेश र उनको श्रीमतीको पक्षमा फैसला गरे पनि हालसम्म सो जग्गाको आम्दानी सुरेशले राखेका छन् । टी इस्टेटको कारोबारको हिसाबकिताब माग्दा समेत भाइ सुरेशले नदेखाएको महेशले बताए ।
अदालतको फैसला आफ्नो पक्षमा रहे पनि भाइ सुरेशले प्रहरी प्रशासनको आडमा जवरजस्ती सम्पत्ति हडप्न खोजेको महेशले आरोप लगाएका छन् । उनले मित्तल टी इस्टेट, कुवाडीदेवी टी इस्टेट, मित्तल सिमेन्टमा समेत आफ्नो नामको शेयर लगानी रहे पनि हालसम्म कुनै पनि कम्पनीको आर्थिक कारोबार सुरेशले नदेखाएकोमा आपत्ति जनाए । अदालतले गरेको फैसला कार्यान्वयन नभएकोमा गुनासो पोख्दै उनले कानून अनुसार भोगचलन गर्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको भन्दै न्यायका लागि अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१