Aamsanchar

झापामा चल्यो राडार गन !

Author Image
मङ्गलवार, भदौ ७, २०७३

 

बिर्तामोड।

14117777_1766279043593068_5125784970698247198_n

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि झापामा नयाँ अभियान शुरु गरेको छ । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनको गति मापनका लागि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको सहयोगमा पूर्वमा नै पहिलोपटक सवारीको गति मापन गर्ने यन्त्र (स्पिड मिटर) राडार गन प्रयोगमा ल्याएको छ ।

ट्राफिक प्रहरीले सो साधनको सहायताले गुडिरहेको सवारीको गति मापन गर्दै तीव्र गतिमा गुडेका सवारीलाई कारवाही गर्न शुरु गरेको छ ।
सवारी साधनको अनियन्त्रित गति दुर्घटना बढ्नुको मुख्य कारण भएको जनाउँदै ट्राफिक प्रहरीले यस्तो अभियान शुरु गरेको हो । अभियान अन्तर्गत सोमवार झापाको शिवसताक्षी नगरपालिकाको मिलन चोकमा ट्राफिक प्रहरीले सवारी साधनको आकस्मिक चेकजाँच गरेको थियो । जसको उद्घाटन पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक पवन गिरीले गरेका थिए ।
राडार गनको सहायताले १६ देखि एकसय ७० प्रतिकिलोमिटर गतिमा गुडेको सवारी साधनको चारसय ५७ मिटर दुरीसम्म रेडियो रेको सहयोगबाट गति मापन गर्न सकिने भएकाले दुर्घटना न्यूनीकरण गर्न पूर्व क्षेत्रमा यो अभियान शुरु गरिएको प्रहरी उपरीक्षक गिरीले बताए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको मिलन चोक आसपासको क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र भएकाले मिलन चोकबाट अभियानको शुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिए ।
सामान्यतया झापाको सडकमा प्रतिघण्टा ४० किलोमिटरका दरले सवारी गुडाउन सकिन्छ । सहरी र बस्ती भएका क्षेत्रमा प्रतिघण्टा २०–३० किलोमिटर गतिमा सवारी साधन चलाउनुपर्ने प्रावधान छ । त्यसविपरीत तीव्र गतिमा सवारी चलाउँदा वर्षेनि झापामा ८० देखि सय जना मानिसले ज्यान गुमाउँदै आएका छन् । चालकले लापरबाही गरेर सवारी तीव्र गतिमा चलाउँदा धेरै दुर्घटना हुने गरेको पाइएपछि गति मापन यन्त्रको प्रयोग शुरु गरिएको प्रहरी नायव निरीक्षक खड्काले बताए ।

राजमार्गमा प्रतिघण्टा ६० किलोमिटरका दरले सवारी गुडाउन पाइने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरीक्षक गोपाल श्रेष्ठले बताए । राजमार्गमा प्रतिघण्टा १०० किलोमिटर भन्दा तीव्र गतिमा सवारी चलाएको पाएपछि २६ वटा सवारीलाई कारवाही गरेको छ । जसबाट प्रहरीले १६ हजार रुपैयाँ जरिवाना गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)