ठेकेदारले १५ दिन भित्र व्यवस्थित काम नगरे सडकमा लगेर बाँधेर राख्नु होला
बिर्तामोड, असार १८ । सडक निर्माणको काम सुरु गर्दा स्थानीय जनप्रतिनिधि र ठेकेदारले उत्साहित हुदैं समयमा काम सम्पन्न गर्ने आश्वासन दिइरहदा स्थानीयले पनि खुशी ब्यक्त गर्दै सामाजिक सञ्जालमा अब बिर्तामोड–भद्रपुर सडक खण्ड चारलेनको हुने भन्दै खुशी साटेका थिए । तर काम सुरुभएको वर्षदिन बितिसक्दा समेत भद्रपुर सडक खण्ड भद्रगोल अवस्थामा रहेको भन्दै स्थानीय आक्रोशित बन्दै गएका छन् ।
बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुरको लेखनाथ चोकसम्म जोडने सडकको दुरी १४ किलोमिटर पर्छ । १४ किलोमिटर सडक अन्तरगत पहिलो चरणको निर्माण कार्य जम्मा चार किलोमिटर हो । स्मार्ट सिटीको अवधारणाअनुसार भद्रपुर रोडमा निर्माण कार्य सुरु भएको १४ महिना बितिसक्यो ।
निर्माण कम्पनीले गरेको सम्झौताअनुसार सडक निर्माण कार्य २०७६ असोजभित्र सकिनु पर्ने हुन्छ । तर, अहिलेसम्म सडक छेऊछाऊको दायाँबायाँ दुवै तर्फ पक्की नाला बनाउने कार्य समेत पूरा भएको छैन । दमकस्थित सडक डिभिजन कार्यालय झापाले पहिलो चरणको ठेक्का स्वीकृत अनुसार बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड १८ महिनाभित्र सक्नुपर्ने जनाएको छ । आशिष प्रेरा जेभीसँग गत वर्ष २४ असारमा ठेक्का सम्झौता गरेको बताइएको छ ।
सम्झौताअनुसार बिर्तामोड बजार क्षेत्रको अढाई किलोमिटर सडक चार लेनको र त्यहाँदेखि उता डेढ किलोमिटर सडक दुई लेनको बनाउनुपर्ने छ । तर, काम अत्यन्तै कछुवाको गतिमा भइरहेकोले सडक आसपासका स्थानीय र व्यापारी आक्रोशित बनेका हुन् ।
ब्यवसायी नगरपालिका पुगे
विकासको काममा सदैव सहयोग गरेको तर आफुहरुको ब्यवसाय नै धरासायी बन्दा समेत सम्बन्धीत निकायले चासो नदिएको भन्दै ब्यवसायी आक्रोशित भएका छन् । उनीहरुले मंगलबार मुक्ति चोकमा प्रर्दशन गर्ने तयारी गरेपनि नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले छलफलका लागि बोलाएपछि बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेको नेतृत्वमा ब्यवसायीहरु नगरपालिका पुगेका थिए ।
छलफलका क्रममा नगरपालिकाले आवश्यक सहयोग गर्ने बचन दिँदा समेत ठेकेदारले काम नगरको भन्दै ठेकेदारको कमजोरीका कारण नगरपालिकालाई असर परेको नगरप्रमुख शिवाकोटीले बताए । उनले ठेकेदारको काम गर्ने ढङ्गै नभएको उल्लेख गरे । नगरबासीलाई परेको समस्या समाधानका लागि आफु मजदुर खोजी दिनका लागि जलपाईगुढीसम्म पुगेको नगरप्रमुख शिवाकोटीको भनाई छ ।
ब्यवसायीको समस्याको विषयमा आफु अवगत रहेको भन्दै नगरप्रमुख शिवाकोटीले सडक निर्माणको ठेक्का दिने सडक विभाग र यसको अनुगमन गर्ने सडक डिभिजन कार्यालय दमक जिम्मेवार बन्नु पर्ने उल्लेख गरे । उनले बिर्तामोडबासीले धेरै संयम्ता अप्नाएको बताए । ब्यवसायीहरु वाणिज्य संघका उपाध्यक्ष न्यौपाने, ब्यवसायी रामेश्वर मण्डल, चेतनाथ तिम्सिना(विनोद) लगायतले ब्यवसायीहरु धरासायी बन्नुपरेको भन्दै नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।
नगरप्रमुख भन्छन्–१५ दिनमा सुधार नगरे सडकमा बाँध्न लगाँउछु
सडकको समस्याको विषयमा पटक–पटक ठेकेदारलाई जानकारी गराएपनि काम नगरेको भन्दै बिर्तामोडको भद्रपुर–सडक खण्डको ठेक्का लिएका ठेकेदार राजकिशोर गुप्तालाई १५ दिनभित्र सडक निर्माण कार्यलाई तिब्रता दिएर सुधार नगरे नगरबासीलाई सडकमा लगेर बाँधेर राख्न निर्देशन दिने बताए ।
उनले सडक निर्माणको कामका ठेकेदारको चरमलापरबाही भएको भन्दै आवश्यक परेको खण्डमा पक्राउ गरेर कारबार्ही प्रक्रियालाई अघि बढाउने चेतावनी दिए । नगरको राम्रो कामलाई एउटा सडकका कारण बदनाम गर्ने काम गरेको भन्दै अब नगरपालिका चुपलागेर नबस्ने शिवाकोटीको भनाई छ ।
प्रोजेक्ट मेनेजर भन्छन्– सात दिन समय दिनुहोस्
बिर्तामोडका ब्यवसायी र नगरप्रमुखको चर्को आलोचना पछि सडक निर्माणको जिम्मा लिएका ठेकेदारका प्रोजेक्ट मेनेजर अनुष केसीले सात दिनभित्र मुक्ति चोक दक्षिणको समस्या समाधान गरिसक्ने बताए । उनले आफ्नो कमजोरी स्वीकार गर्दै सबै मजदुरलाई बजार केन्द्रित गरेर सडकको समस्या समाधान गर्ने र सात दिनभित्र पनि केहि सुधार गर्न नसके आफु नगरपालिकाले गर्ने कारबाही भोग्न तयार रहेको उल्लेख गरे ।
ब्यवसायीहरुले नगरपालिका भन्दा पनि सडक विभाग र सडक डिभिजन कार्यालय जिम्मेवार हुनुपर्ने भन्दै अब काममा ढिलासुस्ती गरेको खण्डमा जस्तोसुकै आन्दोलन गर्नपनि बिर्तामोडका ब्यवसायी तयार रहेको उल्लेख गरे । बिर्तामोड–भद्रपुर सडक खण्डको सडक विस्तार कार्यलाई अब तिब्रता दिने केसीले प्रतिबद्धता जनाए ।