Aamsanchar

जन्मँदा महिला जन्मेको अहिले म तेस्रोलिङ्गी पुरुष हुँ…..

Author Image
बुधवार, भदौ ८, २०७३

sauchalaya

काठमाडौँ ।

संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले आफ्नै कार्यालय परिसरमा लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण गरेको छ ।

नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित भएको भन्दै राष्ट्रसङ्घको नेपाल कार्यालयले लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण गरेको हो ।

शौचालयको राष्ट्रसङ्घीय विकास कार्यक्रमका निर्देशक रेनो मेअर, आवासीय प्रतिनिधि भेलरी जुलियान्ड, सहायक प्रशासक जेन्स वान्डेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

राष्ट्रसङ्घीय विकास कार्यक्रमका निर्देशक रेनो मेअरले फरक पहिचान भएका व्यक्तिको पनि अरुसरह समान अधिकार स्थापित गर्नुपर्नेमा जोड दिँदै तेस्रोलिङ्गीका लागि छुट्टै शौचालय नहुँदा समस्या भोग्नुपरेको गुनासो आइरहेकाले राष्ट्रसङ्घको नेपाल कार्यालयले तेस्रोलिङ्गी मैत्री शौचालय निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो साङ्केतिक हो । तेस्रोलिङ्गी भएकै कारण हुने विभेद, दुव्र्यवहार र हिंसा अन्त्य हुनुपर्छ । तेस्रोलिङ्गी मैत्री शौचालय निर्माण गर्नु धेरै महत्वपूर्ण र राम्रो उदाहरण हो ।”
उहाँले यो हेरेर सरकारले पनि तेस्रोलिङ्गी मैत्री शौचालय निर्माण गर्ने र तेस्रोलिङ्गीले सहज महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले सबैका लागि शौचालय निर्माण भए पनि तेस्रोलिङ्गी मैत्री शौचालय त्यति नबनेको बताउँदै सबै ठाउँमा तेस्रोलिङ्गी मैत्री शौचालय बन्नुपर्नेमा जोड दिनुभयो ।

तेस्रोलिङ्गी एलिन भण्डारीले तेस्रोलिङ्गी मैत्री शौचालय नहुँदा धेरै अप्ठ्यारो हुने गरेको बताउनुभयो । उहाँले आफू तेस्रोलिङ्गी पुरुष भएकाले सार्वजनिक शौचालय प्रयोग गर्दा अप्ठ्यारो हुने अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “जन्मँदा म महिला भएर जन्मेको अहिले मेरो पहिचान भन्नुपर्दा म तेस्रोलिङ्गी पुरुष हुँ । म महिलाको शौचालयमा जाँदा विभेद सहनुपर्छ । कुन सार्वजनिक शौचालयमा जाने हामी ?”

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर