Aamsanchar

गुठीको जग्गा बेचिएको खुलासा

Author Image
शुक्रवार, भदौ १०, २०७३

पार्थ मण्डल

भद्रपुर ।

झापाका जमिन्दार भनेर परिचित स्व. सत्यनारायण अग्रवालले धार्मिक संस्था अर्थात गुठीको नाममा दर्ता गरेको जग्गा उनका सन्ततिले बेचविखन गरेको रहस्य खुलेको छ ।
भद्रपुर नगरपालिका–८ बस्ने स्व. सत्यनारायणका छोरा स्व. मोहनलाल अग्रवालले गुठीको जग्गा कानून विपरीत बेचविखन गरेको खुलेको हो ।
जमिन्दार सत्यनारायणका एक मात्र छोरा स्व. मोहनलाल झापाका पुराना तथा चर्चित उद्योगपति भनेर नेपालमै परिचित व्यक्तित्व हुन् । मोहनलालको तीन छोरा महेश, सुरेश र हरिश छन् । अहिले जेठो छोरा महेश र माइला छोरा सुरेशबीच अंशको बिषय लिएर घरायसी विवाद चर्किँदै झापाका प्रहरी प्रशासन सम्म पुगेको छ ।
घटना अनुसार ३४ बर्ष अघि भूमिसुधार कार्यालय चन्द्रगढीले भद्रपुर–४ हाल भद्रपुर–८स्थित शिव लक्ष्मीनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गाको लेखाजोखाको बिषयमा सत्यनारायणसँग स्पष्टीकरण मागेको थियो । कार्यालयले भूमि सम्बन्धी ऐन ०२१ को दफा १२ को खण्ड (च) बमोजिम गुठीको जग्गालाई मात्र हदबन्दीमा छुट दिने व्यवस्था देखिएको भन्दै सत्यनारायणलाई पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार ०३९ साल भदौ २१ गते सत्यनारायणकै हस्ताक्षरमा भूमिसुधार कार्यालयमा गुठीको जग्गा सहितको प्रमाण तथा स्पष्टीकरण पेश गरेको थियो ।
सो पत्रको बुँदा नम्बर २मा शिव लक्ष्मी नारायण मन्दिरको नाममा दर्ता र धनीपुर्जा समेत भई सकेकोले मन्दिरको जग्गा मन्दिरकै काममा लाग्छ, म र मेरो परिवार समेत कसैले खान पाउने छैन भनी उल्लेख गरिएको छ । सत्यनारायणका श्रीमती रामकली देवीको नाममा रहेको जग्गा उनले मन्दिरको नाममा नामसारी गरेको देखिन्छ । मन्दिरको नाममा राजगढ गाविस–५का कित्ता नम्बर २१८, २१९, २२०,२२१ को जग्गा १३ विगाह १६ कठ्ठा ५ धुर र भद्रपुर–४स्थित मन्दिर निर्माण गरिएको २ कठ्ठा साढे दुई धुर जग्गाबाट हुने आम्दानी मन्दिरको पूजा सामग्री, पुजारीको तलव दिने र पर्व–पर्वमा विशेष पूजाअर्चना लागि छुट्याइएको थियो ।
सो जग्गा धार्मिक संस्थाको भएकोले मसहित मेरो परिवारले बिक्री गर्न पाउने छैन भनी सत्यनारायणले पेश गरेको कागजमा उल्लेख छ । सो जग्गा मन्दिरलाई नामसारी गरेपछि सत्यनारायणले उक्त मन्दिर र भगवान एक धार्मिक सस्था भएको, मेरो व्यक्तिगत सम्पत्ति होइन, भूमि सुधार ऐन ०२१ को दफा क देखि ज सम्म लेखिएको बेहोरा मनन गर्दा सोमा लेखिएको जग्गा सीमा बाँधी जतिसुकै जग्गा भए पनि हदबन्दी लाग्ने नसक्ने व्यवस्था छ । त्यसै अन्तरगत (च) गुठी संस्था ऐन ०२१ बमोजिमको गुठी संस्थाको अधिनस्त जग्गालाई सरकारले छुट दिने व्यवस्था अनुसार सत्यनारायणले आफ्नो अन्य जग्गा हदबन्दी हुनबाट जोगाएका थिए । तत्कालीन प्रचलित कानून अनुसार २८ विगाह भन्दा बढी जग्गा भएका व्यक्तिको हकमा हदबन्दी अनुसार कार्वाही गर्ने नियम रहेको थियो । सत्यनारायणले ०३९ भदौ १३ गते जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता नम्बर १६मा रामकली देवी सनातन धर्म सेवा समिति भद्रपुर नामको संस्था दर्ता गराएका थिए ।
सो संस्थाको दर्ता तत्कालिन कामु प्रजिअ अनिरुद्ध ठाकुरले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । संस्था दर्ता पश्चात मन्दिरको सम्पूर्ण जग्गा संस्थामा राखेर मन्दिरको आम्दानी खर्च चलाउने र सो जग्गा मेरो निजी जग्गामा जोड्न नमिल्ने भनी भूमि सुधार कार्यालयमा लिखित स्पष्टीकरण दिएका थिए । सो लिखित स्पष्टीकरणपत्र पूर्वाञ्चकर्मीसँग सुरक्षित छ । पिता सत्यनारायणले बेचविखन गर्न नपाउने भनी लिखित पत्र बनाए पनि स्व. मोहनलालले गुठी अर्थात मन्दिरको जग्गा बेचविखन गरिसकेको परिवार निकट स्रोतको दावी छ । अहिलेको बजार भाउ अनुसार सो जग्गाको मूल्य करोडौं रहेको छ । सो मन्दिरको जग्गा सत्यनारायणका सन्ततिले कानून विपरीत भोगचलन गरेकोले तत्काल छानविन हुनुपर्ने स्थानीयले आवाज उठाउन थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)