Aamsanchar

बुद्धिबहादुरको बुद्धि बिग्रिएपछि……

Author Image
शुक्रवार, भदौ १०, २०७३

hatya

जाजरकोट ।

जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे ।

हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ । बुद्धिबहादुरका बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव दिँदै आएका थिए । आमाले नमानेपछि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भिरबाट खसालेर मार्ने योजनासमेत रहेको बुद्धिबहादुरले स्वीकार गरेका छन् ।

हत्या कसरी गरे ?

गत साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरी देउमतीको हत्या गरेको बुद्धिले प्रहरीसमक्ष बयान दिएका छन् । हत्या गर्नु दुई दिनअघि नै श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखून् भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न लगाएका थिए । खाल्डो खनी तयार भएको दुई दिनपछि अर्थात् साउन २२ गते बुद्धिबहादुरले म सेपुखोला जान्छु मेरो उतै राति बसाइ हुन्छ, छोराछोरी डराउँछन्, सासूबुहारी सँगै सुत्नुहोला भनी सल्लाह गरेर हिँडेका थिए ।

तर बुद्धिबहादुर राति फर्केर आपmू छुट्टै कोठामा सुते । सुतेका श्रीमान्लाई उनकी श्रीमतीले तीनपटक सम्म उठाउने प्रयास गरिन् तर बुद्धिबहादुर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएकोे बयानका क्रममा बुद्धिले बताएको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताउनुभयो ।

बुद्धिले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए । उनले प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन हुलिया सहितको निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वाभाविक र शङ्कास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो । घटनास्थल लैखम विद्युत् आयोजनाको बाँध निर्माणस्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युत्गृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ ।

केही समयमै निवेदन सङ्कलन गरी मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाइ छ ।

बुहारीले दबाब दिएकी रहिछन्

आफ्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासूको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दबाब दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ ।

देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाति कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोसिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरू पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए ।

घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ । “पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ”, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, “नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

प्रहरीले यसरी निकाल्यो लास

खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गत शनिबार मात्र उत्खनन गरेको थियो । लास सडिसकेको अवस्थामा भेटिएको भट्टले बताउनुभयो । लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर शवपरीक्षण गरिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला अदालत जाजरकोटले उनीहरुलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ । दुवै लोग्नेस्वास्नीलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताउनुभयो । अबको १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरी प्रमूखको भनाइ छ ।

आमाबाबु जेलपरेपछि छोराछोरीको बिचल्ली

लोग्नेस्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको बिचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षीया दुई छोरी र ७ वर्षीय छोरा हेरिदिने घरमा कोही नहुँदा बिचल्ली भएको हो । आमाबाबु जेल गएपछि निर्दोष बालबालिकाको शिक्षादीक्षा र पालनपोषणबारे सर्वत्र चिन्ता बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर