Aamsanchar

दुर्घटनाको कारक सडक डिभाइडर नै

Author Image
बुधवार, भदौ ११, २०७६


रङ्गेली ! जोखिमपूर्ण यात्राको लागि सडक निर्माण गरिएको होइन । सुरक्षित, आरामदायी र छोटो समयमा गन्तव्यमा पुर्याउनु सडकको काम हो । यसैलाई ध्यानमा राखेर कोशी राजमार्ग ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । राजमार्गलाई अझै सुरक्षित बनाउन विराटनगर खण्डमा निर्माण सम्पन्न भएको स्थानमा डिभाइडर राखिएको छ । विराटनगरको वरगाछी–ढाट खण्डमा डिभाइडर बिछ्याइएको छ । त्यसरी बिछ्याइएका डिभाइडर नै दुर्घटना निम्त्याउने पासो सावित भएका छन् ।इञ्जिनियरिङको हिसाबले त्रुटि पूर्ण रहेका डिभाइडरको बीचमा नियम विपरीत मनलाग्दी स्थानमा ‘क्रसिङ’९मोड्ने ठाउँ राखिएको छ । जसले दुर्घटनालाई आमन्त्रण गरिरहेको छ ।
वरगाछीदेखि ढाटसम्मको करिब चार किलोमिटर सडकमा बिछ्याइएका डिभाइडरमा राखिएका क्रसिङले दुर्घटना बढाएको मोरङ ट्राफिकको भनाइ छ ।

सडकबाहेक पहुँचका आधारमा व्यक्तिका घरअगाडि पनि डिभाइडर क्रसिङ राखिएको छ । क्रसिङको दूरी न्यूनतम् एक किलोमिटर हुनु पर्नेमा विराटनगर वरगाछीदेखि ढाटसम्म ५० मिटरभन्दा कम दूरीमा नै क्रसिङ राखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
वरगाछीदेखि ढाटसम्म चार किलोमिटरको दूरीमा ३३ स्थानमा क्रसिङ राखिएको छ । जसको कारणले सडकमा गुुड्ने मोटरसाइकल, सिटी सफारी, आटोले दायाँ–बायाँ नहेरी मोड्दा दुर्घटना निम्तिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेल बताउँछन् । जथाभावी क्रसिङ बनाएका कारण दैनिकजसो सवारी दुर्घटना हुने गरेको उनले बताए ।

व्यक्तिगत फाइदाका लागि राजमार्गमा राखिएका क्रसिङले दुर्घटनाको जोखिम बढाएको प्रहरी निरीक्षक पोखरेलको भनाइ छ । उनले भने, ‘डिभाइडर इञ्जिनियरिङ हिसाबले पनि त्रुटिपूर्ण रहेको छ ।’ अनावश्यकरूपमा राखिएका क्रसिङ हटाउन सम्बन्धित निर्माणपक्षलाई लिखित र मौखिक जानकारी गराए पनि त्यसमा कुनै सुधार नभएको पोखरेलले बताए ।
रातको समयमा कोशी राजमार्गको डिभाइड् झन् ज्यानमारा बन्ने गरेका छन् । होचा डिभाइडरमा कतै पनि रिफ्लेक्टर नभएका कारण राति सवारी चलाउँदा डिभाइडर भए नभएको भेउ पाउनै मुस्किल पर्छ । वरगाछी–ढाट खण्डमा राति मोटरसाइकलमा हिँड्न निकै डरमर्दो हुने गरेको स्थानीय राजु राई बताउँछन् । उनले भने, ‘कतिबेला कुन सवारी मोडिने हो भन्दै डराई डराई कुदाउनु पर्ने अवस्था छ ।’

प्रदेश १ सरकारले सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । यता आफ्नै राजधानी रहेको विराटनगरमा सडक दुर्घटनाको कारण बनिरहेको डिभाइडर व्यवस्थापनमा भने खासै चासो दिएको पाइँदैन । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा सवारी साधनको चाप त्यसै पनि बढ्दो छ । यता विराटनगर भन्सारबाट ठूला कन्टेनर सहितका मालवाहक सवारीसाधन पनि कोशी राजमार्ग भएर गुड्ने गर्छन् । आवश्यकताभन्दा बढी सङ्ख्यामा रहेका क्रसिङले सवारी दुर्घटना हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर