Aamsanchar

मन्त्रिपरिषद्‌ ढिलाइले सरुवा अलपत्र

Author Image
मङ्गलवार, भदौ १४, २०७३

काठमाडौं:

Minister-Safat-57c23b3a753e62.66500471

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले कर्मचारीहरूको सरुवाका लागि फेरि नियमावली संशोधन गर्नुपर्ने भएको छ ।

यसअघि भदौ पहिलो साता मन्त्रिपरिषद्ले पूर्णता पाउने अनुमान गर्दै सामान्य प्रशासन मन्त्रालयले भदौ १५ गतेसम्म सरुवा गर्न सकिने गरी नियमावली संशोधनको प्रस्ताव लोकसेवा आयोगमा पठाएको थियो । तर कांग्रेसका १३ जना मन्त्रीले शुक्रबार मात्रै शपथ लिएकाले अब फेरि कर्मचारी सरुवाको समयसीमा केही दिन धकेल्नुपर्ने भएको छ ।

निजामती सेवा ऐनको नियमावलीअनुसार कर्मचारीहरूको सरुवा प्रत्येक वर्ष साउन मसान्तसम्ममा गरिसक्नुपर्छ । तर मध्यसाउनमा सरकार परिवर्तन हुँदा साउन मसान्तमा कर्मचारीहरूको सरुवा हुन नसकेपछि मन्त्रालयले भदौ १५ गतेसम्म सरुवा गर्न पाउने गरी नियमावली संशोधन प्रस्ताव लोकसेवामा पठाएको थियो ।

मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएपछि अझै केही दिन धकेल्ने गरी नियमावली संशोधनको अर्को प्रस्ताव लोकसेवामा पठाउने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ । ‘भदौ १५ गतेसम्ममा सरुवा गर्न सकिने गरी नियमावली संशोधनको प्रस्ताव लोकसेवा आयोगमा पेस गरेका छौं’, सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले अन्नपूर्णसँग भने, ‘तर अझै त्यो नियमावली संशोधन भएर नआएको र सरकार भर्खरै विस्तार भएकाले त्यसमा फेरि पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ ।’

सरुवाका लागि झन्डै ३ हजार कर्मचारीले सामान्य प्रशासन मन्त्रालयमा दरखास्त हालेका छन् । निजामती सेवा ऐनअनुसार प्रत्येक वर्ष साउन मसान्तमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको सरुवा गर्छ । साउन मसान्तमा सामान्यले सरुवा गरेपछि भदौ मसान्तसम्म मन्त्रालयले आफूमातहतका कर्मचारीको सरुवा गर्ने अधिकार छ । तर भदौ १५ सम्म पनि सामान्यले सरुवाको सूची सार्वजनिक गर्न नसकेपछि कर्मचारीको सरुवा असोजसम्म पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर