Aamsanchar

आज काग तिहार, किम्बदन्ती यस्तो रहेको छ

Author Image
शनिवार, कार्तिक ९, २०७६

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो( तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ ।

पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा बाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र मांशजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटो देखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि बोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देँउसी अनि भैलोका सङ्गीतहरु गुञ्जायमान यस पर्वको हर्षोउल्लास वास्तवमै अद्भूत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा क्रमैसंग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहारपर्व मनाइने बारेमा धेरै किंवदन्तिहरु पाईन्छन् । जस्मध्ये एकदमै प्रचलीत कथा यम र उन्की बहिनीको प्रसगं यहा प्रस्तुत गर्न जाँदैछौ ।

मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासंग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजूसंग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत दाजुलाई भेट्न आँउन निम्तो पठाईन् । उन्ले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजूलाई भेटेको प्रसङ्ग छ । दाजुलाई भेटेपछी उनले दाजूलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाईदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।

काग तिहारमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर विभिन्न खानेकुराहरु पात या दुना टपरीमा कागका लागी भनेँर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यकाकुराहरुमात्र ल्याओस भनेर कामना गरिन्छ ।

उता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने अलिक फरक ढङ्गले काग तिहार मनाईन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरी भनिने यस चाड माघे संक्रान्ति अर्थात पुसे तिहार भनेर मनाईन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।

काग र कोईलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामीसबैले सुनिआएकै छौं । कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोईलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्कोस्वरमा नमिठोगरि कराउने कालो काग नै सुरिलोस्वर भएका हरेक कुहु कुहु गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थक अभिभावक हो, काग र कोईलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरुको उदाहारण दिएको छ ।

घरघरमा केराका बोटहरु लगायत अन्य प्रकारका झिलीमिली द्वारहरु बनाएर साँझमा दीप प्रज्जवलन गरिन्छ । विभिन्न प्रकारका पटाकाहरु पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपटिको हलुका लठ्ठिहरुको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाईलोको यो माहौलमा सजग र सुरक्षीत रहन पनि एकदमै जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर