Aamsanchar

उच्चस्तरीय शिक्षा आयोग गठन गर्न पहल

Author Image
बुधवार, भदौ १५, २०७३

काठमाडौँ ।

नेपाल विद्यार्थी सङ्घले उच्चस्तरीय शिक्षा आयोग गठन गर्न पहलकदमी लिने भएको छ ।

यही भदौ १० र ११ गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिन  उहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले मुलुकको समग्र शिक्षा प्रणाली सुधार्ने नेविसङ्घको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
अध्यक्ष महरले कुनै पनि विद्यार्थी नेताले सङ्घलाई जानकारी नदिई आफूखुसी पैसा उठाए कडा कारबाही गरिने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा प्रारम्भिक बालविकास तह स्थापनाका लागि नेविसङ्घले पहल गर्ने उल्लेख गर्नु भयो ।

सम्मेलनमा नेविसङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न दबाबस्वरुप जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

नेविसङ्घले विभिन्न विश्वविद्यालयमा नियुक्त गरिने उपकुलपति, शिक्षाध्यक्षलगायत नियुक्त गर्दा भागबन्डाको आधारमा भन्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने निर्णय गरेको सम्मेलनमा जानकारी दिइयो ।

बैठकले नेविसङ्घको ११ औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महाधिवेशन निर्देशन समितिका संयोजक डा प्रकाशशरण महत, सदस्य गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र निवर्तमान सभापति रञ्जीत कर्ण तथा उहाँको कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी बैठकले कानुनभन्दा धेरै शुल्क लिएर कक्षा सञ्चालन गरेका विद्यालयमाथि छानबिन गरी कारबाही गर्न पहल गर्ने निर्णय गरेको अध्यक्ष महरले बताउनुभयो । नेविसङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७३ अनुरुप व्यवस्था गरिएको दुई वर्षमा गरिनुपर्ने महाधिवेशन सुनिश्चित गर्न तत्काल ‘क्यालेण्डर’ प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर