झापा कात्तिक २४, । हरेक वर्ष झापाको डोमलाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको झापा गोल्डकपमा दर्शक भरिभराउ हुन्थ्यो। गोल्डकपको ४ संस्करणसम्म आइपुग्दा कुनै पनि दिन प्याराफिट खालि देखिदैन थियो। झापा गोल्डकपको कारण मोफसलको फुटबलमा धेरै दर्शक बटुल्ने खेलमैदानको रुपमा देशभर चिनिएको थियो डोमलाल राजवंशी रंगशाला। अझ घरेलु टोली झापा–११ को खेल भएको दिन प्याराफिट नभाचिएको वर्ष नै हुन्थेन। तर सोही रंगशालामा भएको हाम्रो पुर्वाञ्चल गोल्डकपमा घरेलु टोली झापा–११ र नेपाल पुलिस बिचको खेलमा करिव ३ सयको संख्यामा मात्र दर्शक थिए। घरेलु टोलीबाट पनि झापा गोल्डकपको अघिल्ला संस्करणमा देखिएका केहि खेलाडीमात्र मैदानमा देखिए । प्रतियोगिताका लागि लगभग १० हजार दर्शकले एकै पटक हेर्न सक्ने गरी बाँसको प्याराफिट र अन्य व्यस्थापन गरिएको आयोजक जायोन स्र्पोटस क्लबको दाबी थियो। तर सेमीफाइनलसम्म आइपुग्दा औषतमा दैनिक ५ सय बढी दर्शकले पनि खेल हेरेका छैनन्। हाम्रो पुर्वाञ्चल गोल्डकप र झापा गोल्डकप दुवै प्रतियोगिताको पुरस्कार राशी र सहभागी टिम उस्तै भएपनि दर्शकको उपस्थितीमा फरक देखियो। यसबाट पछिल्लो समय मोफसलमा आयोजना हुँदै आएको गोल्डकपमा दर्शकको क्रेज घटदै गएको देखिन्छ।
भारतीय दर्शकको रोजाईमा पर्दैन
नेपालको गोल्डकप भारतका खर्साङ, सिक्किम, आसाम, दार्जिलिङ मिरिकलगायतका क्षेत्रमा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका खेलाडीहरुलाई रुचाइन्छ। उनीहरुलाई प्रतियोगितामा सहभागी क्लबहरुले दैनिक ५ हजारसम्म भत्ता दिएर खेलाउन लैजाने गर्छन। तर उही खेलाडी सहभागी भएर नेपालमा आयोजना हुने गोल्डकप भारतिय दर्शकको रोजाई पर्दैन। जसको प्रत्यक्ष उदाहरण नेपाल भारत सिमाको काँकडभिट्टामा आयोजित मेची नेत्रालय गोल्डकप हो। खुल्ला सिमा भएपनि मेची पुल तरेर पारी पानीट्याङकीका दर्शक काँकडभिट्टा खेल मैदानमा आएनन्। ४ हजार दर्शक अटाउने क्षमता बाँसको प्याराफिट र स्टेजका लागि ५ लाख रुपैया खर्च गरेको थियो आयोजकले। तर मुस्किलले हरेक दिन ३ सयको संख्यामा मात्र दर्शक आए। आयोजक समितीका अध्यक्ष एवंम नेपाली यु–१५ महिला टिमका गोलकिपिङ प्रशिक्षक मिन बस्नेत फुटबलको क्रेज नघटेपनि दर्शकहरुको उपस्थिती कम भएकोमा आश्चर्य मान्छन। ‘प्याराफिट भरिने आश थियो खै दर्शक नै आएनन् किन हो ? उनले भने ‘अघिल्लो संस्करणमा अपेक्षा गरिए अनुसारको दर्शक आएका थिए।’ मोफसलमा हुने अनियन्त्रित गोल्डकप र बैशाखको समयमा हुने चर्को गर्मी पनि दर्शकहरुको घट्नु एउटा कारण रहेको उनी बताउँछन।
पूर्वी पहाडमा पनि दर्शक मध्यम
पूर्वी पहाडको सर्वाधिक लोकप्रिय माइभ्याली गोल्डकपले फाइनल र अफ्रिकी टोली दाफिन्सको खेल बाहेक अन्य दिन अपेक्षिकृत दर्शक पाएन। इलामेहरुले दोश्रो दशैको रुपमा माईभ्याली गोल्डकपलाई चित्रित गर्दै आएका थिए। हरेक वर्ष खेल सुरु हुने समयमा पसलहरु बन्द हुने इलाम सदरमुकाम पाँचौ संस्करणको समयमा खुल्लै रहयो। ४ वटा संस्करण सम्म आइपुग्दा दर्शकहरुको चापका कारण अखिल नेपाल फुटबल संघले पनि क वर्गको प्रतियोगिताको रुपमा माइभ्यालीलाई लिएको थियो। आयोजकलाई दर्शक व्यवस्थापन गर्न निकै हम्मेहम्मे हुन्थ्यो। लाम लागेर आउने दर्शक खेलसँगै रमाउँथे। खेलाडीलाई हौसला हुन्थ्यो, खेलको महत्व झन बढ्थ्यो। तर पछिल्लो समय त्यो अवस्था भने छैन्। खेलहरु बढी मात्रामा आयोजना हुँदैछन, दर्शक घट्दा घट्दै शून्यमा झर्ने अवस्था सृजना हुने संकेत देखिन थालेको छ। अघिल्ला ४ संस्करणको क्रेजलाई मध्यनजर गर्दै ७ हजारबाट १० हजार दर्शक क्षमता रहेको प्याराफिट बनाएको माईभ्याली गोल्डकपले फाइनलका दिन मात्र चित्त बुझदो दर्शक पायो। ‘माईभ्याली दर्शकको रोजाईमा नपरेको भने होइन तर शीर्ष क्लबहरुका पहिलो रोजाइका खेलाडीहरु राष्ट्रिय टोलीको क्लोज क्याम्पका कारण सहभागी नभएकाले पहिलाको जस्तो चाँही आएनन्।’ आयोजक समितीका अध्यक्ष धिरेन चेम्जोङले भने। पाँचथर र ताप्लेजुङमा आयोजना हुँदै आएको प्रतियोगितामा टाढाका गाउँगाउँका दर्शकहरुको रोजाईमा भने पर्दै आएको छ। जसका कारण गोल्डकप प्रतियोगिताहरु पनि थपिदै आएको छ ।
स्पोट्स सिटीको अवस्था पनि उस्तै
स्पोट्स सिटीको रूपमा धमाधम इटहरीमा संरचनाहरु बनिरहेको छन्। राष्ट्रिय खेलकुद परिषदका निर्वतमान सदस्य सचिव केशवकुमार विष्टको गृह नगर इटहरीमा गत माघ १२ देखी १९ सम्म आयोजना भएको मदन भण्डारी गोल्डकपको अवस्था पनि निक्कै कष्टपुर्ण रहयो। दर्शकहरु स्टेज दाँयाबाँया रहेको बासको प्याराफिटमा मात्र सिमित रहे। फाइनलका दिन फाट्फुटट पक्की प्याराफिटमा देखिए। आयोजक समितीका संयोजक अनुरोध थापा टोलटोलका प्रतियोगिताले पनि गोल्डकपको क्रेज घटेको बताउँछन्। ‘गाँउगाँउमा राष्ट्रिय खेलाडीको खेल हेर्न पाउने भएपछि पैसा तिरेर को आउने रंगशालामारु’ उनी भन्छन्। अनियन्त्रित रुपमा भइरहेको गोल्डकपलाई नियमन नभए पूर्वका ठूला फुटबल प्रतियोगिताको क्रेज घट्न उनको तर्क छ।
‘मिनी ब्राजिल’ मा पनि फुटबल चार्म घटदै
प्रदेश एकको सहर धरान लाहुरेहरुको सहर मात्र होइन मिनी ब्राजिल नै भनिदै आएको छ। टोलैपिच्छे जसो राम्रा–राम्रा मैदान र निरन्तर खेल भइरहने सहरको प्रतिष्ठा बुढासुव्वा गोल्डकपले २ दशक पार गरिरहँदा दर्शकहरुको रोजाई पनि खस्कदै गएको छ। धरान रंगशालामा आयोजना हुँदै आएको प्रतियोगितामा गत वर्ष तुलनात्मक रुपमा कम दर्शक आएको आयोजकले बताएको छ । सिजन अघिको प्रतियोगिताले दर्शक पाएनन् : खड्गी अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य निरोज खड्गी गोल्डकपको सिजन समेत सुरु नभएकाले अहिले आयोजना हुँदै आएको प्रतियोगितामा दर्शक घटेको बताउँछन्। ‘अहिले नेपालका प्राय जसो सबै उमेर समूह र सिनियर टीमका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगितामा भएकाले पनि उत्कृष्ट खेल नहुने भन्दै दर्शक नआएका हुन सक्छन्।’ उनले भने ‘एन्फाले मोफसलको गोल्डकप नियमनका लागि बनाएको कार्यविधि समेत पुर्ण रुपमा लागू नभइसकेको अवस्था कुन क्लब कहाँ कसरी खेल्ने भन्ने बारेमा अन्यौल पनि छ।’ चाडवाड पछि लगतै सुरू भएको गोल्डकप दर्शकको रोजाई नपरेको उनको भनाइ छ।