Aamsanchar

हवाई यात्रा ‘विलम्ब वा रद्द’ भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने

Author Image
आइतवार, पौष १३, २०७६


हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यो प्रावधान समेटिएको हो ।

सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक उड्डयन ऐन २०७६’ को मस्यौदा तयार पारेको छ । उक्त मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मन्त्रिपरिषद्मा गएको छ ।

ऐन लागू भएपछि हवाई सेवा संचालन गर्ने उद्योगले हवाई यात्रुको जानकारीका लागि यात्राका शर्त, सुविधा तथा हवाई भाडाका दर पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्छ । उद्योगका कारणबाट यात्रुको उडान रद्द भए, ढिला भए वा उडान नै गर्न नपाउने अवस्था आएमा हवाई यात्रले आफ्नो अधिकारी प्रयोग गर्न सक्नेछन् । त्यसका लागि भने नियामक निकायले मापदण्ड निर्माण गर्नुपर्ने हुन्छ ।

नेपालमा साँघुरो संरचना र अधिक भिडभाडका कारण हवाई यात्रा कठिन बनिरहेको छ । त्रिभुवन विमानस्थलमा हुने दैनिक चर्को हवाई ट्राफिक चाप, उद्दान रद्द र डिलेबाट हुने सास्ती हटाउन कानूनी प्रावधानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

नेपालमा अघिल्लो वर्षदेखि अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि ‘मन्ट्रीयल महासन्धि’ लागू भएपछि हवाई यात्रुका अधिकारहरु बढेका छन् । आन्तरिकमा भने हवाई यात्रुको अधिकार स्थापित हुने गरी कानून बनेको छैन । सरकारलाई सर्वोच्च अदालतले २०७२ सालमै तोकिएको समयमा मनासिव कारणबिना नै उडान रद्द भएमा, रद्दको पूर्वसूचना उपभोक्तालाई समयमै नदिए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न आदेश गरेको थियो ।

अदालतको फैसलामा समयमा उडान गर्नुपर्ने वायुसेवा कम्पनीको प्राथमिक दायित्व भएको भन्दै सेवाको मूल्य चुक्ता गरेका उपभोक्तालाई गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक र कानूनी हक भएको सर्वोच्चको फैसलामा उल्लेख थियो ।

नेपालमा उडान ढिला हुने र रद्द हुने कारणले यात्रु र सेवा प्रदायकबीच पटकपटक द्वन्द्व हुने गरेको छ । यसले हवाई उडानको सुरक्षामै जोखिम निम्याउने खतरा देखिएको छ । तर, वायुसेवा प्रदायक कम्पनीहरुले भने विमानस्थलले धान्न नसक्ने गरी वायुयान र यात्रुको चाप बढेका कारण व्यवस्थापनमा मुस्किल परिरहेको बताउने गरेका छन् ।

दायित्व सरकारले तोक्ने

नेपालमा स्थापना भएका वा नेपालमा हवाई सेवा संचालन गर्ने विदेशी कम्पनीको यात्रुप्रतिको दायित्व तोक्ने कामसरकारले गर्नेछ । हवाई यातायात सेवा सञ्चालनबाट यात्रु वा मालसामान उपर कुनै प्रकारको क्षति पुग्न गएमा त्यस्तो हानी(नोक्सानीको दायित्व तोक्ने गरी सरकारले राजपत्रमा सूचना निकाल्ने छ । राजपत्रमा तोकिएअनुसार क्षतिपूर्ति दिने दायित्व सेवा प्रदायकको हुने मस्यौदामा उल्लेख छ ।

यसरी क्षतिपूर्ति तोक्दा महासन्धि मन्ट्रीयल महासन्धीले गरेको व्यवस्था भन्दा कम गर्न नहुने उल्लेख छ । उक्त महासन्धि अनुसार अन्तर्राष्ट्रिय उडानमा कम्पनीका कारण उडान ढिला भएमा, ब्याजेग हराएमा, सामानमा क्षति पुगेमा समेत क्षतिपूर्ति दाबी गर्न सकिने प्रावधान रहेको छ ।

दुई प्राधिकरणको व्यवस्था

नयाँ नागरिक उड्डयन ऐन कार्यान्वयनमा आइसक्दा नेपालमा हवाई सेवाको नियमन तथा व्यवस्थापनका लागि दुई वटा प्राधिकरण रहने छन् ।

नेपालमा हवाई सेवाको नियमन गर्न ‘नेपाल नागरिक उड्डयन नियमन प्राधिकरण’ रहनेछ । विमानस्थलको संचालन तथा व्यवस्थापनमा भने ‘नेपाल हवाई सेवा प्राधिकरण’ रहनेछ ।

दुई प्राधिकरणका गठनका लागिसमेत विधेयकहरु अहिले कानून बन्ने प्रक्रियामा रहेका छन् । यसपछि कानूनी रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको विभाजन हुने भएको छ ।

अहिले भने एउटै प्राधिकरणबाट नियमन र सेवा प्रदायकको काम भइरहेको छ । यही कारणले यूरोपेली यूनियनले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर