यो फल नेपाली हावापानीमा सजिलै हुर्काउन सकिने, बजारमा माग भएको र ओखतीजन्य भएकाले यसको व्यावसायिक खेती विस्तार गर्न सबै सरोकारवालाहरु लागि परेको देखिन्छ।
जाँगरिला युवा कृषकका लागि नेपालमा थोरै लगानीमा धेरै आम्दानी दिने बालीहरू छन् । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । मनपरेको बाली छनोट गरी ज्ञान, सीप र प्रविधि उपयोग गरे राम्रो आम्दानी लिन सकिन्छ ।
उत्पादन, प्रशोधन र बजारीकरणमा भने ध्यान दिनुपर्छ । सुरुमा केही कठिन लागे पनि निरन्तर लागिपरे कृषि व्यवसायले फाइदा दिन्छ । त्यसलाई सफल पार्न कृषि विज्ञ, व्यावसायिक किसान र व्यापारीको पनि अनुभव र सल्लाह लिनुपर्छ । के गर्ने, कहाँ गर्ने, कसरी गर्ने भनी मन डुलिरहेको छ भने विदेशमा सफल भई नेपाल भित्रिएको औद्योगिक बाली याकोनको खेती उपयुक्त छ । यसले परिवारको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउन सक्छ ।
याकोन दक्षिण अमेरिकाबाट फैलिएको बहुवर्षीय वनस्पति हो । बोट १–२ मिटर अग्लो र ठाडो हुन्छ, पातहरू ठूला र लाम्चा हुन्छन् । फूल सूर्यमुखीको जस्तै हुन्छ । जरा वरिपरि सखरकन्द जस्तै लाम्चा गाना लाग्छन्, जुन रसिलो र गुलियो हुन्छ । अलिअलि स्याउको जस्तो बास्ना आउँछ । त्यसैले यसलाई भुइँ स्याउ पनि भनिन्छ । कन्द ९ट्युबर० सुन्तले, गुलावी, वैजनी रङको हुन्छ । सखरकन्द जस्तै देखिने र कार्बोहाइड्रट धेरै हुने भएकाले यसलाई सखरखण्ड स्याउ पनि भन्न सकिन्छ । कन्दलाई सलाद, जुस, तरकारी, औषधी आदि प्रयोजनमा ल्याइएको छ । पातलाई चियाको सट्टा प्रयोग गरिन्छ । धेरै देशले यसलाई औद्योगिक बालीका रूपमा अपनाइरहेका छन् ।
नेपालमा याकोन भित्रिएको तीन दशक भए पनि धेरैलाई यो नौलै छ । एक जापानीले सन् १९८० तिर पहिलोपटक पोखरामा ल्याएका थिए । तर बोक्रा ताछेर खान नजान्नाले एक दशकसम्म खाद्य प्रयोजनमा आउन सकेन । याकोन समशितोष्ण हावापानीमा हुने बाली हो । तापक्रम १५–३० डिग्री सेल्सियस र आर्द्रता ६०–७० प्रतिशत उपयुक्त हुन्छ । १,००० देखि २,५०० मिटरसम्मको क्षेत्रमा खेती गर्न सकिन्छ । पानी जम्ने र सुख्खा जमिन ठिक हुँदैन । धेरै प्रकारको माटोमा हुन्छ, तर बलौटे दोमट र खुकुलो माटो उपयुक्त हुन्छ । प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटोमा फस्टाउँछ । नेपालको धेरै क्षेत्रको हावापानी र माटो याकोन खेतीको लागि उपयुक्त छ ।
बिउको स्रोत :
याकोन कृषक र व्यवसायी हुन्, जसलाई जिल्ला कृषि विकास कार्यालयले खोजिदिन सक्छ । एउटा गानो बिउलाई २० देखि ४० रुपैयाँ पर्छ । बोटको वृद्धिसंँगै उत्पादन पनि धेरै दिनसक्ने बाली भएकोले पूर्ण क्षमताको उत्पादन लिन माटोमा खाद्य तत्त्वहरू त्यही अनुसार उपलब्ध हुनुपर्छ । याकोन लगाउने जग्गा राम्रोसंँग जोतखन गरी आलु लगाउनका लागिजस्तै तयार पार्नुपर्छ । त्यसमा २–२ फिटको फरकमा ड्याङ बनाई १ फिट गहिरो र १ फिट चौडा खोपिल्टा खनी १ देखि २ केजी गाई–भैंसीको मल हालेर माटोसंँग मिलाउनुपर्छ । प्रत्येक खोपिल्टोमा राम्रो स्वस्थ एउटा गानो रोपी फेदमा माटोले थिच्नुपर्छ । त्यसपछि माटो भिज्नेगरी पानी हालिदिनुपर्छ । यो चैत–बैसाखमा रोपिन्छ ।
रोप्ने बेला एकचोटी सिंचाइ गर्नुपर्छ । त्यसपछि सुख्खापन हेरी सिंचाइ दिनुपर्छ । वर्षामा पानी निकासको व्यवस्था गर्नुपर्छ । रोपेको ४–५ सातापछि बिरुवा ३०–३५ सेमि हुन्छ । त्यसपछि आधा केजी पाकेको कम्पोस्ट मल फेदमा हाली माटोले पुरेर अलिकति अग्लो पारिदिनुपर्छ । दोस्रो गोडाइ फूल फुल्नुभन्दा पहिले वर्षायाममा झार धेरै आएको बेला गर्नुपर्छ । रोपेको ६–७ महिनापछि याकोन खन्न सकिन्छ । पुरानो हँुदै जाँदा केही चाउरी परे पनि गुलियोपना बढ्दै जान्छ । खन्ने क्रममा पहिले बोट काटेर हटाउनुपर्छ । बोटको वरिपरि र तलतिर गानो भेट्नेगरी खनिसकेपछि सिंगो बोट निकाली बेर्ना बन्ने तरुल राइजोमहरू नबिग्रनेगरी विस्तारै छुट्याउनुपर्छ । फललाई चोटपटक नलाग्नेगरी डोको वा क्रेटमा हाल्नुपर्छ ।
याकोन एउटा बोटमा २–३ केजी फल्छ । आलुलाई जत्तिकै मिहेनत गर्दा ४–५ गुणा बढी फल्छ । प्रतिकेजी २ सय रुपैयाँ हाराहारीमा बिक्री भएको पाइन्छ । खनेपछि ७–८ महिनासम्म भण्डार गरेर राख्न सकिन्छ । यसमा मधुमेहका रोगीलाई फाइदा हुने औषधीय गुण हुन्छ । याकोनको कन्द सलाद, जुस, तरकारीमा प्रयोग गरिन्छ । कन्दमा पानीको मात्रा ९० प्रतिशत र प्रोटिनको मात्रा पनि धेरै हुन्छ । यसलाई बोक्रा ताछेर सजिलै खान सकिन्छ । जुस, केक, फ्रुट सलाद बनाएर बिक्री गरिन्छ । नेपालमा सिरप, वाइन, जाम बनाएर पनि बेच्ने गरिएको छ । उत्पादन प्रशोधन बढाएर उद्योगका रूपमा विकास गर्न सकिन्छ ।