हरेक बर्षको डिसेम्बर ३० संग तुलना गर्दै त्यसको सबैभन्दा नजिकको आइतबारलाई बिश्व कुष्ठरोग दिवसका रुपमा मनाउने चलन छ । अपांगतासंग जोडेर कुष्ठरोगलाई हेर्ने गरिन्छ, बिश्व स्वास्थ संगठनका अनुसार अपांगता दिर्घसमयसम्म रोगको सही पहिचान हुन नसक्दा पनि हुने गर्दछ । रोगको समयमै पत्ता लगाउने अनि उपचार गर्न सक्ने संरचना भएमा, कुष्ठरोग लगायतका धेरै रोगका कारणले बालबालिका र बयस्कमा हुने अपांगता कम हुने थियो भनेर बिश्व कुष्ठरोग दिवसका दिन उल्लेख गरेको छ ।
बिश्वमा हरेक रोग अनि संक्रमणले आआफ्नो कालखण्डमा उधुम मच्चाएका हुन्छन् र समयसंगै हामी मानवले आफ्नो ज्ञान अनि अध्ययनले ति रोगहरुलाई जितेका छौं। चाहे कएक्समयको महामारी रेबिज, एचआईभी, टीबी या कुष्ठरोग नै किन नहोस् । करिब ३००० बर्षअघि नै मानव शरीरमा कुष्ठरोग पाइएको इतिहास छ, यस रोगको भयावय प्रवृति त त्यतिबेला बढ्न गयो जब बिश्वभरिका समाजमा यस रोगलाई पाप, सजाय अनि रोगीहरुलाई पापीको करार दिइन थालियो । सन् १८७३ मा आएर मात्र नर्वेका बैज्ञानिकले यस रोगलाई पाप नभई बिशुद्ध रोग भएको भनि आफ्नो अध्यनले सिद्ध गरेका हुन् । यस घटनाको करिब १५० बर्ष पनि भएको छैन् । नेपालमा पनि कुष्ठरोगीको दयानय अवस्था बृतान्त इतिहासका रुपमा सुन्न पाइन्छ, फलानाका फलानालाई कुष्ठरोग भएको र लगेर गाँउभन्दा पर ओडारमा राखेका लगायतका धेरै कथाहरु हाम्रा गाँउठाँउमा अझै आलै छन् ।
लगभग २ दशक अघिको महजोडी अभिनीत कुष्ठरोग जनचेतना अभियानको एउटा छोटो जानकारी मुलक गीत संझना गर्न चाह्यौं ।
सुन सुन दिदीबहिनी, सुन दाजुभाई
देउता लाग्या नठान है, कुष्ठरोगलाई
कुष्ठरोग लागेपछि लुकाउनुचाँही हुन्न
निको हुन्छ ओखतिले भाकलले छुन्न
नबिराई गरेदेखि ओखति मुलो
कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो ल है
यसै गीतले भनेझैं अहिले आएर नेपाली समाजमा कुष्ठरोगीहरुको अवस्थामा उल्लेखनात्मक सुधार आएको छ । स्वास्थसंस्थामा सहजै ओखति पाइन्छ र यसको सेवनले यो रोग हटेर पनि जान्छ । छालामा लाटो फुस्रो दाग देखिएमा र छुँदा थाहा नभएमा गएर अस्पतालमा देखाउनुहोला । पछि यहि दाग बढ्दै जाने, अगंहरु झमझमाउने र पछि अपांगता हुने सम्म हुन्छ । रोगले पापी र धर्मी कहाँ थाहा पाँउछ र ?
स्वास्थ हाम्रो अधिकार र दायित्व दुबै हो । बिश्व कुष्ठरोग दिवसका अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिन्छन् । यस रोगलाई अग्रेजी भाषामा लेप्रोसी भनिन्छ, लेप्रोसीका बिभिन्न मिसनहरु देश बिदेशमा सक्रिय छन् । हुन त सन् २०१५ को तथ्याकं अनुसार बिश्वमा केवल २ लाख १२ हजार कुष्ठरोगीहरु छन् जसको ६० प्रतिशत भारतमा मात्र छन् । यसका अलावा ईण्डोनेशीया, ब्राजिल लगायतका अन्य धेरै देशहरुमा यसको संक्रमण धेरै पाइएको थियो । पोषणको कमी अनि सरसफाईको लापरवाहीलाई यस रोगको मुख्य कारक मानिन्छ ।