भद्रपुर : अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ भद्रपुरको आयोजना, विराट मेडिकल कलेज टिचिङ हस्पिटल विरानगरको प्राविधिक सहयोगमा झापाको मेचीनगर १५ मा आज सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विपन्न, आदिवासी समुदाय र मजदूरहरुको अधिक बसोबास रहेको ज्यामिरगढी क्षेत्रका जनतालाई विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ३८४ जना सर्वसाधारणले स्वास्थ्य जाँच गरी आवश्यक औषधि निःशुल्क प्राप्त गरेको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकालले जानकारी दिए ।
ढकालकै अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच वडा नं १५ का अध्यक्ष गुणराज भट्टराईले शिविरको उद्घाटन गरेका थिए । उनले विकासमा निकै पछि रहेको ज्यामिरगढी क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेर रोटरीले ज्यामिरगढीबासीलाई ठूलो गुन लाएको उल्लेख गरे ।
रोट्रयाक्ट क्लव अफ भद्रपुरको पनि सक्रिय सहभागिता रहेको शिविरमा ४० जना बिरामीको अल्ट्रासाउण्ड गरिएको रोटरी भद्रपुरका प्रेसिडेन्ट नोमिनी विगत ओझाले जानकारी दिए । शिविरमा विभिन्न १४ किसिमका विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
रोटरियन ईश्वर अधिकारीले सञ्चालन गरेको उद्घाटन समारोहमा पूर्व अध्यक्ष राजकुमार पोखरेलले संस्थाका उद्देश्यहरुका बारे प्रकाश पारेका थिए । शिविरलाई सनराइज बैंकले पनि सहयोग गरेको थियो ।