भद्रपुर । हुन त परिवारमा कसैको मृत्यु हुँदा परिवारलाई पुग्ने क्षति अरु केहीले पूरा गर्न सक्तैन तर मृत्युलाई कसैले छेक्न पनि नसक्ने शास्वत सत्य हो । यस्तो बेला परिवारलाई केही राहत हुने काम भयो भने त्यसले परिवारलाई ठूलो राहत नै पुग्ने हुन्छ ।
विमा जगतमा सफल र वीमितहरुको मन जित्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकजना वीमितको असामयिक निधनपछि उनको परिवारलाई घरमै पुगेर विमा दाबी रकम भुक्तानी गरेको छ ।
तेह्रथुम जिल्ला चुहानडाँडा–४ निवासी वीमित ३३ वर्षीय जीतबहादुर मोक्तानको परिवारलाई कम्पनीले म्यादी विमाको दाबी भुक्तानी बराबरको १४ लाख रुपैयाँ उनको परिवारलाई बुधबार हस्तान्तरण गरेको हो । वीमित मोक्तानले वैदेशिक रोजगारमा जाँदा २०७३ सालमा गुँरास लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाखको अढाईवर्षे म्यादी विमा गराएका थिए । साउदी अरबस्थित आरसीसी कम्पनीमा कार्यरत रहेकै बेला गत वर्ष मोक्तानको आकस्मिक मृत्यु भएपछि प्रक्रिया पूरा गरेर दाबी भुक्तानी प्रदान गरिएको कम्पनीको विर्तामोडस्थित क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक गिरधर श्रेष्ठले जानकारी दिए ।
बुधबार मोक्तानको आफन्तको हल्दिबारीस्थित घरमा उनकी आमा डिल्लीमाया मोक्तानलाई दाबी रकमको चेक हस्तान्तरण गरिएको थियो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, कम्पनीका श्रेत्रीय प्रवन्धक श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।
त्यहाँ मृतक मोक्तानकी आमालाई सान्त्वना दिँदै गाउँपालिका प्रमुख लिङदेनले कसैको जीवन पैसासँग साट्न नसकिने तर अवश्यम्भावी मृत्युपछिको विपदमा विमा गरिएको रकमले राहत भने पुग्नसक्ने उल्लेख गरे ।