प्रदेश १ मा लकडाउन कडा पार्न मुख्यमन्त्री शेरधन राईले निर्देशन दिएसँगै धरानमा लकडाउन उल्लघंन गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार शनिबार विहानै लकडाउन उल्लंघन गरी मर्निङ वाकमा हिँड्ने दर्जनौँको संख्यामा मानिसहरुलाई पक्राउ गरिएको छ।
‘आज विहानै ४ बजेदेखि हामीले मर्निङ वाक गर्नेहरुलाई नियन्त्रणमा लिएर धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा राखेका छौँ,’ उनले भने, ‘विहान ७ बजेसम्ममा मात्रै १ सय २३ जनालाई नियन्त्रणमा लिएर राखेको अवस्था छ। साँझमा पनि इभिनिङ वाक भन्दै लकडाउन उल्लंघन गर्नेहरु बढेपछि यो कदम चाल्न हामी बाध्य भएका हौं।’ उनले नियन्त्रणमा लिएपछि केही समय पब्लिक हाइस्कुलको मैदानमा राखेर जनचेतनामूलक कक्षा पछि छाडिने बताए।
प्रहरीले हिजो शुक्रबार साँझ पनि धरानबाट ९७ जनालाई नियन्त्रणमा लिएर पब्लिक हाइस्कुलकै मैदानमा केही समय राखेको थियो। प्रहरीले मोटरसाइकल, स्कुटर नियन्त्रणमा लिएपछि लकडाउन अवधिभर फिर्ता नगर्ने जनाएको छ। उता, शुक्रबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ का जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाई दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनुपर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 20