समुद्री सतहबाट १४०० मिटर उँचाइमा पाइने सिमल । यसको वैज्ञानिक नाम भने ‘बम्बाक्स सेइबा’ हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।
नेपालको प्राय तराईका जिल्लामा बढी पाउने सिमल बडेमानका रूख हुने गर्छ । सिमलको लकडी सारै प्रयोगमा ल्याईने गरिदैन, कफल्लो हुने, छिट्टो किरा लाग्ने र पसाङगिने कारणले बढी दाउरामा मात्र प्रयोग गरिने चलन छ ।
स्वास्थ्यका लागि सिमल
सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन छ । तर, औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरू अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् ।
यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एकरदुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने लेखेका छन् ।
सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेख अनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ । अर्को रोचक जानकारी अनुसार, महीनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ ।
धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौन सम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ । श्रोत : कमल मादेन