Aamsanchar

यसरी मनाऔं बाल दिवस

Author Image
बुधवार, भदौ २९, २०७३

bal diwas

काठमाडौं ।

‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

अचेल अधिकारको चर्चा धेरै हुन्छ । नानीबाबुलाई थाहा भएकै कुरा हो यो । हामीलाई यो अधिकार पुगेन, त्यो अधिकार पुगेन भनेर माग भइरहन्छ । आन्दोलन भइरहन्छ । कतै महिला अधिका रको कुरा । कतै आदिवासी अधिकारका कुरा । कतै दलित अधिकारका कुरा । कतै सूचना अधिकारको कुरा । बाल अधिकारका कुरा पनि त्यतिकै सुनिन्छ । आखिर के होला यो अधिकार भनेको ? तपाईंहरूलाई पक्कै चासो होला । अधिकारसँग कर्तव्य पनि जोडिएको हुन्छ । अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटाजस्तै हुन् । अधिकार लिनुसँग सम्बन्धित हुन्छ । कर्तव्यचाहिँ दिनुसँग सक्बन्धित हुन्छ ।

फेरि आफ्नो अधिकार लिँदा अरूको अधिकार हनन् हुनु हुँदैन । अरूको अधिकार हनन् भयो भने त्यो आफ्नो अधिकार हुनै सक्दैन । यो पनि बुझ्नुपर्छ । यसबारे आउँदा अंकमा चर्चा गरौंला । बाल अधिकारबारे चर्चा गर्नुअघि अधिकार भनेको के हो ? जानौं है । विश्वराज ढुंगानाले लेखेको नेपाली मझौला शब्दकोषमा लेखिएअुनसार अधिकारको अर्थ हक हो । हक भनेको कानुन, परम्परा आदिले दिएको सुविधा हो । यसको अर्थ राज्यले कानुन बनाएर नागरिकको अधिकार सुरक्षित गर्छ र परम्पराका आधारमा पनि अधिकार पाइएको हुन्छ । अधिकार कसैले दया गरेर दिने होइन । यो जन्मसिद्ध हुन्छ । जन्मेदेखि जीवनयापन गर्न मानिसलाई विभिन्न वातावरण चाहिन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न अधिकारलाई मानव अधिकार भनिन्छ । सामान्यत: अधिकारलाई आर्थिक, सामाजिक र सांस्कृतिक आधारमा छुट्टयाएर हेर्ने गरिन्छ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख गरिएको छ । स्रोतसाधन बाँडफाँडमा समानता हुनुपर्छ ।

रोजगारीमा समान अवसर हुनुपर्छ । ज्याला समान हुनुपर्छ । योग्यताअनुसारको काम पाउनुपर्छ । काम गर्ने उपयुक्त वातावरण पाउनुपर्छ । यो अधिकार आर्थिक अधिकार हो । आपसी सद्भाव हुनुपर्छ । कलझगडा हुनु हुँदैन । शान्तसँग बस्न पाउनुपर्छ । आरामसँग जीवन बिताउन पाउनुपर्छ । शोषण हुनु हुँदैन । पढ्न पाउनुपर्छ । उपचार गर्न पाउनुपर्छ । यस्ता विभिन्न अधिकार सामाजिक अधिकार हुन् । चाड पर्व मान्न पाउनुपर्छ । धर्म मान्न पाउनुपर्छ । मातृभाषामा शिक्षा लिन पाउनुपर्छ । यस्ता अधिकार सांस्कृतिक अधिकार हुन् । मानव अधिकारका बारेमा अनेकन बहस भइरहेका छन् । अधिकार विश्वव्यापी हुन्छ । यसको कुनै जात हुँदैन । कुनै धर्म हुँदैन । यो कुनै सिमानामा बाँधिएर पनि बस्दैन । यसलाई समानताको आधारमा विश्वभर लागू गरिन्छ । कसैलाई हानि नपुर्‍याउने, सबैलाई सबै अधिकार दिने, व्यक्तिको प्रतिष्ठालाई सम्मान गर्ने जस्ता मूल्यमान्यता मानव अधिकारभित्र हुन्छन् ।

मानिस सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ । त्यहीं हुर्कन्छ । हुर्कंदै जाने क्रममा उसले अनेकन चाहना राख्दै जान्छ । समाजका आफ्नै नियम हुन्छन् । त्यो नियम उसले बुझ्छ । नियम बुझेरै उसको चाहना पूरा गर्ने इच्छा राख्छ । त्यो इच्छालाई समाजले स्विकार्छ । राज्यले त्यसलाई मान्यता दिन्छ । अधिकारको विश्वव्यापी मान्यता यही हो । तर सबै समाज एउटै हुँदैन । समाजमा व्यक्तिको यही जन्मसिद्ध अधिकार हनन् गर्ने नेतृत्व हुन सक्छन् । हाम्रै समाजमा पहिला जिमुवाल, मुखियाले नागरिक अधिकार हनन् गर्थे । राजामहाराजाले हनन् गर्थे । त्यस्तो अधिकार हनन् नहोस् भनेर कानुन चाहिएको हो । अधिकार स्थापित गर्ने कानुन सजिलै नबनेको अवस्थामा आन्दोलनसमेत गर्नुपरेको छ । कतिपय अवस्थामा बनेका कानुन कार्यान्वयन हुन सकेका हुँदैनन् । त्यही भएर कानुनी राज्य हुनुपर्‍यो, विधिको शासन चाहियो भनेर बहस गर्नुपरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर