Aamsanchar

शन्दर्भ शनिजयन्ती : शनि ग्रह वायु तत्त्व र पश्चिम दिशाका स्वामी हुन्

Author Image
शुक्रवार, जेठ ९, २०७७

ज्यष्ठकृष्ण औंशीको दिन शनि जयन्तीको रुपमा मनाउने गरिन्छ । मानिन्छ कि यसदिन शनिदेवको पूजा एवम् आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नासभई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ । जो जातक शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेकाछन् उनीहरुकोलागि शनि जयन्ती कल्याणकारीअनि रामबाण सिद्ध हुनसक्दछ । जस्को जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रुकावटका साथै अनेकन समस्याहरुबाट पीडितहुनेहरूलाई शनि जयन्तीकोदिन शनिदेवलाई प्रसन्न पर्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

शनिदेव भगवान् सूर्य र छायाको पुत्रहुन् । शनिलाई सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पति पछिको सबैभन्दा ठुलो ग्रह मानिन्छ । शनि तुलाराशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौं र दशौँ स्थानमा शनिको पूर्णदृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्रग्रह हुन्, बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्त्व र पश्चिम दिशाका स्वामी हुन् । शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको शिरमा स्वर्णमुकुट र निलो वस्त्र धारण गर्नुभएको वहाँ कागमा सवारी गर्नुहुन्छ । फलित ज्योतिषको अनुसार शनिलाई अशुभ मानिन्छ शनि नवग्रह मध्ये शनिको स्थान सातौं हो । शनि एउटा राशिमा तीस महीनासम्म रहन्छ । शनि सुस्त-सुस्त हिड्ने भएकाले शनिलाई शनैश्चरपनि भनिन्छ । शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ । शनिको महादशा १९ वर्षसम्म रहन्छ । शनिको गुरूत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणाछ बढी रहेकोछ । मानिन्छ कि गुरुत्वबलको कारण हाम्रो राम्रो र नराम्रो विचार चुम्वकीय शक्तिद्वारा शनिसम्म पुग्दछ र जस्को कृत्य कार्य अनुसार परिणामपनि चाडै मिल्दछ ।

शनिजन्म जयन्तीको संदर्भमा स्कन्द पुराणमा एउटा पौराणिक कथा छ, जस अनुसार शनि, सूर्यदेव र उनकी पत्नी छायाको पुत्र हुनुहुन्छ । सूर्यदेवको विवाह संज्ञा संग भयो तर केहि समयपश्चात् संज्ञाबाट तीन सन्तानको रूपमा मनु, यम र यमुनाको जन्म भयो । केहि समयत संज्ञाले सूर्यको साथ जीवन निर्वाह गरिन् तर केहि समय पश्चात् संज्ञाले सूर्यको तेज धेरै समयसम्म सहन गर्न सकिनन् र तेसै कारण संज्ञाले आफ्नो बहिनी छायालाई पति सूर्यको सेवामा छोडेर त्यहाँबाट संज्ञा गइन्, केहि समय पश्चात् छायाको गर्भबाट शनि देवको जन्म भयो । एकदिन जब सूर्यले शनिलाई कालो वर्णको देखेर आफ्नो पत्नी छायाँलाई आरोप लगाएकि शनि मेरो छोरो हैनु । जब शनिलाई आफ्नो मातामाथी यस्तो आरोप लागेको थाहापाए र आफ्नो पिता सूर्यसंग क्रोधित भए, यसै कारणले शनि र सूर्यमा वैर भावना रहेको हो भनिएकोछ ।

शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ, जुन शनिलाई आफ्नो पत्नीको श्रापको कारण क्रूर बन्नुपरो । आखिरमा शनिको दृष्टि किन यति क्रुर भयो त ? ब्रह्म पुराणुका अनुसार शनि सानैदेखि विष्णु भगवानका परम भक्त थिए । पछि उनको विवाह चित्ररथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् । कुनै समयको रात्रिकालमा शनिपत्नीले आफ्नो पतिसँग ऋतुदानको इच्छा गरिन् तर शनिदेव त्यतिबेला भगवान् विष्णुको ध्यानमा मग्न थिए, कामातुर पत्नीले धेरैबेर प्रतिक्षा गर्नुपर्यो, फलतस् उनको ऋतुदर्शन निश्फल हुनपुग्यो । त्यसैबेला शनिकी कामक्रुद्धा पत्नीले आफूतिर नफर्किएको र ध्यानमा लिप्त भएको देखेर श्राप दिइन् कि (आजबाट तिम्रो दृष्टि जसमा पर्दछ उसको सर्वस्व नाश होस् यसरी कमवेगमा आएर आफ्ना पतिलाई श्राप दिईन्, पछि पश्चाताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य शनिमा थिएन उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउँको निहुर्याएर हिड्नथालेको कथा वर्णित छ ।

शनिदेवलाई न्यायप्रिय राजा मानिन्छ । स्कन्दपुराणको काशीखण्डमा वर्णित कथाअनुसार एकदिन सूर्य तथा छायापुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचरजगत् तथा नवग्रहहरू मध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौं जुन पद अहिलेसम्म कसैलेपनि प्राप्त गर्न सकेका छैनन, हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठूलो होस्, देवता, दानव, असुरआदि कसैले पनि मेरो वेगको सामना गर्न नसकुन् । मेरो शुभ दृष्टि जसलाई पर्छ उसको कल्याण होस् र जसलाई क्रूर दृष्टिपर्छ उसको सर्वनाश होस् शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान् महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो, आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्नगरी नव ग्रहहरूमध्यको एउटा उच्च पद प्राप्त गर्नुभयो । त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम पुम्पिनु भएको थियो र त्यसै कारण सम्पूर्ण जगत् शनिदेवसंग भयवित रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहिमाथि शनिको दृष्टि अढैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन बाध्य हुनुहुन्छ । शनिग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउँने सामर्थ्य शनिमा हुन्छ र शनिकै दृष्टिदोषका कारण भगवान् शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौं दुख,कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथाहररू पाईन्छ ।

आजको दिन हनुमनजीको आरधनाको पनि महत्व छ, रावणको योग बलबाट बंदी शनिदेवलाई लंका दहनको समयमा हनुमानजीले बंधन मुक्त गरिदिनु भएको थियोरे त्यसै बंधन मुक्त गरेको कारणले शनिदेवले हनुमानजी संग वर मग्नु भन्दा हनुमानजीले भन्नुभयो कलियुगमा जो कसैलेपनि मेरो आराधना गर्छ उसलाई कहिले अशुभ फल नदिनु, कुदृष्टि नराख्नु भन्दा शनिदेवले यस्तै हुनेछ भन्नुभएको थियोरे त्यसै समयदेखि जो व्यक्ति हनुमानजीको पूजा गर्दछ, शनिदेव वचनबद्ध भएको कारण आफ्नो प्रकोप गरी शुभफल प्रदान गर्नुहुन्छ भन्नेकुरा लोकमा व्याप्तछ ।

आजको यस शनि जयन्तीको दिन आजको दिन फलाम, निलम, तेल, शिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न रहनु हुनेछ, यसका साथै यथा शक्ति एवम् भक्तिले शनिदेवको पुजागरी, तिलको तेलमा बत्ती बाल्ने, निमुखा प्राणीलाई उद्धारगर्ने र आहार दिने साथै अशक्त एवम् असहायलाई भोजन र दानदक्षिणा गर्नाले शनिजन्य ग्रहपिडा कम भई शुभफल मिल्नेकुरा शास्त्रमा वर्णित छ । आजको दिन हनुमनजी, गणेशजी, विष्णुजी तथा शिवजी को दर्शन गर्नाले ग्रहपिडा कम हुनेछ । आजको दिन वृक्षारोपण गर्नालेपनि भाग्यमा वृद्धि हुनेछ । शुद्ध चित्तले शनिदेवको ध्यान गर्दै ॐ शं शनैश्चराय नमस्, ॐ प्रां प्रीं प्रौं सस् शनैश्चराय नमस्, ॐ भानुपुत्राय नमस्, ॐ क्रूराय नमस्, ॐ धनदाय नमस्आदि मन्त्रहरूको जप गर्नालेपनि शनिदेवलाई प्रसन्न पार्न सकिन्छ । यदि कोई जातक अन्याय, धोका, अत्याचार, दुराचार, कुकर्मआदि अनैतिक कार्य गर्दैनभने शनिदेवबाट डराउनुपर्ने कुनै कारण रहँदैन । किनकि शनिदेव सत्कर्म र सत्मार्गमा लागेका जतकहरूलाई अनावस्यक कष्ट कदापी दिनुहुन्न, जय शनिदेव ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर