Aamsanchar

मोरङमा पुनःसंरचनाको टुङ्गो लाग्यो

Author Image
बुधवार, भदौ २९, २०७३

मोरङ ।

org

दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ ।  जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् ।

जसअन्तर्गत मोरङमा एउटा महानगरपालिका, छ नगरपालिका र छ वटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङख्यामा सहमति भएको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डमरुबल्लब बरालले बताउनुभयो ।  हाल कायम रहेका सात नगरपालिकामध्ये सुन्दरदुलारी र कोसी हरैचालाई गाभेर एउटै नगरपालिका बनाइने सहमति भएको छ । अन्य नगरपालिकामा आसपासका गाविस गाभिने भएका छन् । विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाइने भएको छ ।

यसका लागि हात्तीमुडा, टङ्कीसिनवारी, लखन्तरी, वैजनाथपुर, कटहरी र बुधनगर गाविस गाभिने भएका छन् । महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सङ्ख्या र सिमानाको सिफारिस मापदण्ड अनुसारनै गरिएको छ । महानगरपालिकाका लागि २०६८ सालको जनगणना अनुसार तीन लाख जनसङ्ख्या भएको हुनुपर्ने छ ।

नगरपालिकाका लागि तराईमा ७५ हजार र गाउँपालिकाका लागि ५० हजार जनसङ्ख्या हुनुपर्ने आधार तय गरिएको छ ।

अब पुनःसंरचनाको टुङ्गो लागेकाले यस सम्बन्धी प्रतिवेदन चाँडै नै आयोगमा पठाउने जिल्ला विकास समितिको तयारी छ । नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा हाल एक उपमहानगरपालिकासहित सातवटा नगरपालिका र ५० वटा गाविस रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर