Aamsanchar

संक्रमित बढन थालेपछी सुदूरपश्‍चिमका स्थानीय तहले गर्न थाले आन्तरिक लकडाउन

Author Image
सोमवार, असार ८, २०७७

डडेल्धुरा :  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।  संक्रमति बढ्दै गएपछि यहाँका स्थानीय तहले आफ्ना क्षेत्र धमाधम सिल गर्न थालेका छन्। सुदूरपश्चिममा पिसिआर जाँचका लागि संकलन भएको नमुनाको रिपोर्ट दुईरतीन सातासम्म पनि नआएपछि क्वारेन्टाइनबाट घरघर पठाउँदा समुदायमा संक्रमण फैलिने त्रास बढेको छ।

कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै गाउँ पठाउँदा समुदायमा संक्रमणको त्रास बढेपछि स्थानीय सरकारहरुले आफ्ना क्षेत्र नै सिल गर्न थालेका हुन्। रिपोर्ट नआउँदै एक हप्ता घरमा अलग बस्न आग्रह गर्दै पठाए पनि अधिकांश समुदायमा घुलमिल भएकाले कोरोनाले गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन्। यसले कोरोना समुदायस्तरमा फैलिने खतरा बढेकाले बजार क्षेत्र तथा पुरै पालिका नै सिल गरिएको हो। डडेल्धुराका तीन स्थानीय तह सिल दुई नगरपालिका र पाँच गाउँपालिकाका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ।

संक्रमितको संख्या बढेसँगै यहाँका तीन स्थानीय तहले पालिकालाई नै पूर्णरूपमा सिल गरेका छन्। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले नगरक्षेत्रलाई सिल गरेको छ। आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन रूपमा नगर क्षेत्रलाई सिल गरिएको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए। उनका अनुसार नगर क्षेत्रमा आवश्यक काम बाहेक हिँडडुल गर्नमा पूर्ण रोक लगाइएको छ। अमरगढी नगरपालिकामा पनि दिनहुँ कोरोनाका बिरामी थपिँदै गएका छन्।

आइतबार यहाँका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणको दर बढ्दै गएपछि शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सिल गरी डडेल्धुरा जिल्ला सदरमुकाम सिल गरिसकिएको छ। अर्को सूचना जारी नहुन्जेलसम्म लागि डडेल्धुरा सदरमुकाम क्षेत्र सिल रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यापार–व्यवसाय सबै बन्द गरिएको हो।

सरकारी कार्यालय खुला नै रहने छ भने अतिआवश्यक बाहेक सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेशदत्त ओझाले बताए। सिल गरिएपछि बजार क्षेत्र सुनसान जस्तै छ। यस्तै, डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रसमेत आइतबारदेखि सिल गरिएको छ। ७ देखि ११ असारसम्म अत्यावश्यक सेवाबाहेक नगरपालिका क्षेत्रका सम्पूर्ण बजार सिल गरिएको नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए। स्थानीय बजार, आवतजावत, एक टोलबाट अर्को टोलसमेत आवत जावत बन्द गर्ने गरी सिल गरिएको उनले बताए। यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस ९कोभिड १९० संक्रमितको संख्या बढेपछि सिल गरिएको थियो। गत बिहीबारदेखि असार १२ गतेसम्म गाउँपालिका सिल गरिएको हो। बिहीबार एकैदिन गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

जिल्लामा अहिलेसम्म कोरोना पोजेटिभ आएकामध्ये आधा गन्यापधुरा गाउँपालिकाकै रहेका कारण सतर्कता अपनाउन गाउँपालिका सिल गरिएको अध्यक्ष मल्लले बताए। सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरू, बैंक र पसलसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन पनि गाउँपालिकाकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ। साथै गाउँपालिकाले सवारीसाधन पनि नचलाउन भनेको छ। बैतडीको पाटनका बजार क्षेत्र सिल बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई सिल गरिएको छ। वडा नं ६ को कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि नगरक्षेत्र भित्रका बजार क्षेत्रलाई सिल गर्ने निर्णय अनुसार बजार क्षेत्र सिल गरिएका हुन्। कोरोनाका बिरामी बढ्दै गएपछि संक्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सील गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए।

लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरणका लागि बजार क्षेत्र सील गरिएको उनले बताए। उनका अनुसार नगरपालिकाको पाटन, मानिकाखान, खोड्पेलगायत बजार क्षेत्र असार १५ गतेसम्म बजार क्षेत्र सिल गरिएको हो। बजार सिल गर्ने निर्णय कसैले उल्लघंन गरेमा जरिवाना गरिनेसमेत जनाइएको छ। पाटन नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एकजना निको भएर घर फर्केका छन्। बाँकी ७ जना आइसोलेसनमा बसिरहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। यस्तै पाटन नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई हप्तामा ३ दिन मात्र सेवा दिन नगरपालिकाले आग्रह गरेको छ। आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

कैलालीका पालिका पनि सिल कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि नगरक्षेत्र सिल गरिएको छ। नगरपालिकामा कोरोनाका बिरामी थपिँदै भएपछि गोदावरी नगरक्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगरप्रमुख हरिसिंह साउँदले जानकारी दिए। नगरक्षेत्र पूर्ण रूपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेकोसमेत उनले जानकारी दिए। अत्तरिया बजार क्षेत्र पनि पूर्ण सिल गरिएको छ। संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यकबाहेकका सेवाहरू बन्द गर्न अनुरोध गरिएको उनले जानकारी दिए। कैलालीको गौरीगंगा नगरपालिका पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सिल गरिएको छ। कोरोना रिपोर्ट ढिलो आउने र संक्रमित व्यक्ति बजार बजार डुल्ने क्रम नरोकिएपछि पालिकाहरू सिल गरिएका हुन्।  थाहाँखबरबाट साभार

संक्रमित बढेपछि सुदूरपश्‍चिमका स्थानीय तह धमाधम सिल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर