Aamsanchar

मेराबा

Author Image
बिहिवार, असार ११, २०७७

म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामीहरु साउनिया, सतिलाल र नारीलाई झारफुक गर्न लगाउने तथा शनिश्चरेको बंगाली डाक्टर तथा चारपानेको बिजय डाक्टरकोमा उपचार गराउन लाने गर्दै सानोमा मलाई हुर्काउनु भएको थियो ।
आफू सामान्य लेखपढ भए पनि छोरोले राम्रोसँग पढोस् भन्ने उहाँमा चाहना थियो । त्यसैले घरैमा मास्टरको व्यवस्था गरेर तारा सञ्जेल सरलाई राख्नुभएको थियो । बासी भात खायो भने पढ्न आउँदैन भनेर बासी खान कहिल्यै दिनु भएन । छोरा पढी मात्र राखोस्, खराब केटाहरुको संगतले नबिग्रियोस् भन्ने बुवाको इच्छा थियो । यति निगरानी हुँदाहँुदै पनि बुवालाई छलेर आमाको स्वीकृतिमा गोठाला जाँदा एकपल्ट खैनी खाएर लठ्ठ परेको, कहिले बर्षे धान खेतमा ढोक्सा थाप्न, होलीमा माछा मार्न, घाग्रा खोला र पाटा खाडीमा पौडी खेल्न, काउडी भैंसीको डँडेल्नोमा बसेर चराउन गएको सम्झना ताजै छ । दिदीको घरग्वालीमा तास खेल्दै गर्दा बुवाले आएर बाँसको सिर्किनाले हानेको र भाग्दै घर पुगेर ढोका थुनेर चुकुल लगाई बसेको अविस्मरणीय सम्झनाहरु अहिले झल्झली आइरहेको छ । आज लाग्छ ,ती सबै अनुशासनको पाठ सिकाउन बुवाले गर्नुभएको प्रयत्न रहेछ ।

बुवाले माया गरेर घोडामा राखेर शनिश्चरे बजार घुमाउन लगेको, दशैंमा टीका लगाउँदै आशिर्वाद दिएको, जँुगे घोष मिठाई बालालाई रसदाना र कान छेडेको दोकानीले झिलिया प्याजी किनिदिएको, एस.एल.सी पास हुँदा सी.को.घडी किनिदिएको, यी सबै बुवाको माया र कर्तव्य भित्र पर्थे होलान् ।
बुवा सानैमा पहाड भोजपुरको दिङ्लाबाट भाइबहिनीहरुलाई सँगै लिएर आसाम पुग्नु भएछ । त्यहाँ दक्षिण पहाडको चिया बगानमा पत्ती टिप्ने काम गर्दै परिवार पाल्नु भएको रहेछ । २०११ सालमा आसामबाट पाराखोपी– ६ (हाल अर्जुनधारा– ५)मा बसोबास गर्दै खेतीपाती र धाना काँटा, किराना ब्यवसाय गर्दै गुजारा गर्दै बस्नु भएको रहेछ । त्यहीं नै आमासँग विवाहबन्धनमा बाँधिई घरजम गर्नुभएको रहेछ । सधैँ परिश्रम गर्नुपर्छ, ढाँटेर, ठगेर खानु हँुदैन भन्ने मेरो बुवा ८० बर्षसम्मको हुँदासम्म हलो जोत्नु हुन्थ्यो । तर, मलाई उहाँले कहिल्यै हलो जोत्न लगाउनु भएन ।


बुवाले मलाई सामाजिक कार्यमा लाग्ने कुरामा कहिल्यै रोक्नु भएन । म १३ बर्षको उमेरदेखि नै गाउँको संस्थामा लागेर सामाजिक कार्य गर्न थालिसकेको थिएँ । सांस्कृतिक कार्यक्रम गर्ने, पुस्तकालय सञ्चालन तथा विवाह, मर्दा–पर्दा स्वयंसेवी रुपमा सघाउन जाने लगायतका कार्य गर्दै आएको थिएँ । बुवा पनि गाउँमा मर्दा–पर्दा, बिरामी कोही हुँदा, सरसापट सहयोग गर्नुहुन्थ्यो । पैसा कमाउन कहिल्यै पनि आशक्ति देखाउनु भएन । मेरो बुवा ठूलो ब्यक्तिभन्दा पनि समुदाय र घर परिवारको लागि असल व्यक्ति हुनुहुन्थ्यो । आज उहाँको प्रेरणा र सत्मार्ग प्रदर्शनले गर्दा सोही बाटोमा लाग्ने प्रयासमा छु ।
मसँग बुवाको खासै गुनासो रहेन होला ! शायद खुशी नै हुनुहुन्थ्यो होला छोराको प्रगति देखेर । विवाह गरेर केही समय पछि छुट्टिएर बस्न खोज्दा अलिकति गुनासो गर्नुभएको थियो । २०६६ सालमा आमा स्वर्गारोहण भईसकेपछि भने क्रमशः खस्किनुभयो । सायद श्रीमान् श्रीमतीभन्दा नजिक कोही हुँदैन जस्तो लाग्थ्यो बुवालाई देखेर । आमाको काजकिरिया सकेको १३ दिनको पुण्यतिथिमा बुवा सारै रुनु भएको थियो । लाटी लठेब्री जे भए पनि बोल्ने साथी त थिई भन्दै रुनु भयो । बुवासँगै हामी पनि रोयौं । बुवा पछिसम्म पनि बाकसमा राखिएका समवेदनाका फोटाहरु हेरेर भावबिव्हल हुनुहुन्थ्यो ।

मैले बुवालाई एउटा खास मान्छे देखेको थिएँ । एउटा छोटो कदको तर प्रभाव र ओजपूर्ण बोली भएको ब्यक्ति । घोडामा चढेर ठाँटसँग हिँड्ने, छोराछोरी पाल्न सधैँ संर्घषरत् व्यक्ति जो खेतीपाती, व्यापार, व्यवसायमा लागीरहने । सामाजिक व्यक्तित्व मर्दापर्दा, सुख–दुःखमा आफन्त साथीभाइहरुलाई सहयोग गर्ने भावना भएको हुनुहुन्थ्यो । मैंले बुवा क्रमशः शारीरिक मानसिकरुपमा बूढो हुँदै गएको देखेँ । तर, पनि बुवालाई हौसला बढाउँदै हामी भन्थ्यौं– १०० बर्ष कटाउनु पर्छ है भनेर ।
बुवाले जिन्दगीमा मसँग केही पनि माग्नु भएन बरु उल्टै हामीलाई पुग्ने सम्पत्ति छोडेर जानु भयो । अहिले पनि अफिसमा खाना पुर्याइ दिएको छ कि छैन भनेर सोधिरहने रे । बेलुका एकछिन भए पनि बाबुछोरा भलाकुसारी गरिन्थ्यो । बुवा स्वर्गवास हुनु दुई दिन अगाडि पनि एकका लागि एक अभियानको राष्ट्रिय समाचारमा छोरालाई देखेर खुशी हुनु भएको रहेछ ।

अब बुवा हामी बीच रहनु भएन । बुवा हुनुहुन्थ्यो र त हामी थियौं । अब सामाजिक र पारिवारिक दुबै जिम्मेवारी आफूमा सरेको महशुस भइरहेको छ । बृद्ध हुनुको पीडा पनि मैले नजिकबाट नियाल्ने मौका पाएँ । तपाईंले देखाएको सत्बाटोमा हामी सधैँ हिँड्ने प्रयत्न गर्नेछौं । तपाईको नामको सुवासलाई घटाउने कुनै पनि कार्य गर्ने छैनौं भन्ने प्रण गर्दछु । तपार्इं हामीलाई आकाशको तारा भएर संरक्षकत्व प्रदान गरिरहनु होला । बुवा हजुरको स्वर्गमा बास होस् ।
“कोटी कोटी नमन बुवा”

लेखक गिरी सहारा नेपाल साकोसका कार्यकारी निर्देशक,एकका लागि एक अभियानका संयोजक  हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१