Aamsanchar

कांग्रेस नेतृ सुजातालाई स्तन क्यान्सर

Author Image
शनिवार, कार्तिक २०, २०७३

काठमाडौं:

download

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको छ ।  कोइराला परिवारमा खानदानी रोगकारुपमा रहेको क्यान्सर सुजातालाई पनि देखिएपछि उपचारका लागि सरकारसँग एक करोड रुपैयाँ माग गरिएको छ।

उनको बाबु पुस्ताका बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई पनि क्यान्सर भएको थियो । उनकै परिवारकी बलिउड अभिनेत्री मनिषा कोइरालालाई पनि क्यान्सर नै भएको थियो ।

एक महिनाअघि छातिमा दुखाई महसुस गरेपछि उनले स्वास्थ्य जाँच गरेकी थिइन् । नेपालको प्रारम्भीक जाँचपछि सुजाताले मलेसियामा पनि स्वास्थ्य जाँच गर्दा क्यान्सरको लक्षण देखिएको थियो । सुजातानिकट स्रोतका अुनसार उनलाई ब्रेस्ट (स्तन ) क्यान्सर भएको हो ।

समाचार अनुसार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्या देवी भण्डारीले होटल सोल्टीमा दिएको रात्रिभोजमा पनि सुजाताको क्यान्सरबारे कुरा भएको थियो ।  त्यही कार्यक्रममा अर्की कांग्रेस नेतृ आरजु देउवाले सुजातालाई स्वास्थ्यबारे बुझ्दै यो रोगबारे आफू जानकार भएको भन्दै नआत्तिन आग्रह गरेकी थिइन् ।

सुजातालाई क्यान्सर भएको समाचार आजै बाहिर आएको हो । क्यान्सरबारे सुजाताले यसअघि मुख खोलेकी थिइनन् । मलेसियामा क्यान्सरको पुष्टि गरेर नेपाल आएपछि पार्टी सभापति शेरबहादुर देउवाले मण्डिखाटारस्थित उनको निवासमै पुगेर नआत्तिन भन्दै सहयोगको प्रतिवद्धता जनाएका थिए ।

सुजाताको अवस्था बुझेपछि सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपचार खर्चबारे कुरा पनि गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सुजाताको उपचारका लागि सरकारले पहल गर्ने आश्वासन दिएको स्रोतको भनाई छ ।

सुजाताले उपचारका लागि सिंगापुर जाने तयारी गरेकी छन् । उनलाई उपचार खर्च दिनेबारेको प्रस्ताव पनि मन्त्रिपरिषदमा गइसकेको बताइन्छ । तर सरकारले यसबारे चाँडै निर्णय गर्ने भएको छ ।

सुजाता निकटहरुका अनुसार मलेसिया भ्रमणमा रहेका बेला कोइराला छोरी ज्वाइँसँगै किनमेलन गर्न गएकी थिइन् । त्यही क्रममा उनलाई रिंगटा लागेको थियो । त्यसपछि त्यहीँको अस्पतालमा स्वास्थ्यजाँच गर्दा क्यान्सर पत्ता लागेको हो ।

मलेसियाबाट नेपाल आएपछि सुजाताले सरकारसँग सहयोग माग गरेकी छन्। उनले क्यान्सरको उपचारका लागि सरकारसँग एक करोड मागेकी गृह मन्त्रालय श्रोतले जनाएको छ।

शुक्रवारको मन्त्रिपरिषदमा पनि सुजाताको उपचार खर्चबारे छलफल भएको थियो । तर कुनै निर्णय त्यहाँ हुन सकेन । प्रधानमन्त्री प्रचण्डले त्यसबारे निर्णयको जिम्मा गृहलाई नै दिएको स्रोतको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर