Aamsanchar

‘’झापाली समाज र अन्तराष्ट्रिय झापाली समाजको अधिवेशन बारे’’

Author Image
मङ्गलवार, असोज १०, २०७४
[भरत शिवाकोटी]
युएई,
देशमा बढदो मुख्यतः बेरोजगारी समस्याका कारण लाखौं नेपालीहरु वैदेशिक रोजगारीका निमित्त विश्वका विभिन्न देशहरुमा कार्यरत छन । लगभग देशका सबै जिल्लाबाट वैदेशिक रोजगारीमा नेपालीहरु रहेका छन भन्दा अत्युक्ति नहोला तथापि अनुपातका हिसाबले तलमाथी छ ।
यिनै जिल्लाहरु मध्ये नेपालको पूर्वी भागको झापा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने झापालीहरुको संख्या उच्च रहेको छ । यसबाट जिल्लामा पर्न गएको सकारात्मक र नकारात्मक प्रभावहरु बारे वहस गर्न सकिन्छ तर यहाँ पछिल्लो समयमा प्रायजसो धेरै देशहरुमा रहेका झापालीहरुले सामाजिक उदेश्यका निमित्त संगठित झापाली समाज निर्माण अभियान, विकासक्रम त्यस सँगै तितामिठा अनुभव तथा त्यसैको पेरिफेरिमा चर्चा गर्ने कोशिस गरिएको छ ।
हाल जतिपनि देशमा रहेका झापाली समाजहरु छन ति सबैको मुख्य लक्ष्य तथा उदेश्य झापा जिल्ला कार्यक्षेत्र रहेर गर्ने सामाजिक कार्य नै रहेको छ र त्यो सँगसँगै कतिपय देशहरुका झापाली समाजले सिंगो झापा जिल्लाका अन्य क्षेत्रहरु सँगै विकास निर्माणको अभियानमा समेत सरिक हुन पहलाकदामिहरु गरिरहेका छन । यी सबै कार्यहरु अति नै सराहनीय एवं प्रशंसनिय छन भन्न सोचिरहन पर्दैन । विभिन्न देशमा स्थापना भएका झापाली समाजहरु दिर्घकालिन सम्म त्यहाँ रहेका अधिकतम झापालीहरुको माझमा पुर्याए मात्र सोहि देशमा रहेको झापाली समाजको जीवन्तता रहनेछ यस दिशामा धेरै झापालीहरूले योगदान गरिरहनु भएको छ । वैदेशिक रोजगारीमा रहेर समाज सेवामा लाग्नु आँफैमा कठिन कार्य हो सँगै कतिपय देशको कानुनको दृस्टीकोणले त यो चुनौतिपूर्ण पनि हो भन्न सकिन्छ ।
तथापि यो सबैलाई स्वीकार गरेर सामाजिक लक्ष्यमा लाग्ने र अरुलाई पनि अभिप्रेरति गर्ने सबैलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । तर समाजहरु स्थापना सँगै पद र आपसी खिचातानी तथा स्वार्थ र कमि-कमजोरीका कारण कतिपय देशका झापाली समाजले फुटको क्षति व्योहोरिसकेका छन भने कतिपय देशमा फुट र जुट सँगै समाज सुसुप्त अवस्थामा गुज्रिरहेका छन । यसो हुनुमा त्यहाँ रहेका झापालीहरू भन्दा झापाली समाजको नेतृत्व गर्नेहरु बढी जिम्मेवार छन । सामाजिक सेवाको भावले जब नेतृत्व जो कोहिले सम्हाल्छ भने उसले उसको व्याक्तिगत जीवन भन्दा सामाजिक जीवन बढी भएको महशुस गर्नैपर्दछ ।
उसका हरेक क्रियाकलापहरु सामाज सँग जोडिन पुग्छन चाहे त्यो जोडिन आवश्यक नहुन पनि सक्छ । सँगै नेतृत्व गर्ने क्षमता, आपसी समझदारी, विश्वसनीयता, धैर्यता, इमानदारिता, अनुशासन, काम गर्ने इच्छाशक्ती, आत्मसमीक्षा तथा आलोचना र आत्मालोचना सहन गर्ने शक्ति आदि थुप्रै गुणहरु नेतृत्वकर्ता सँग आवश्यक हुन्छन । जब नेतृत्वकर्ता कुशल र सबैको साझा हुन्छ तब त्यसको दायरा समेत फराकिलो हुन्छ र लक्ष्य तथा उदेश्य प्राप्ति सँगै जुनसुकै कठिनाई सँग सजिलै सामना गर्न सक्दछ किनभने यसमा सबैको साथ र सहयोग हुन्छ । यस दिशामा हरेक देशमा रहेका झापाली समाजका नेत्रित्वकर्ताले सोच्नैपर्छ र यो आज अपरिहार्य पनि छ ।
केवल पदका महत्कांक्षी र अन्य स्वार्थ बोकेर महाराजले शासन चलाए जस्तो अथवा निरीह नोकर जस्तो भएर समाजको नेतृत्व गर्नेबाट समाज किमार्थ अघि जान सक्दैन बरु धाराशायी भएर जान्छ अनि त्यस देशमा रहेका सम्पूर्ण झापा जिल्लावासीहरुले निश्चित व्याक्तिहरुको अकर्मण्यताका कारण आफुलाई समेत असजिलो महशुस गर्नेछन, कतिपय ठाँउमा गरिसकेका छन र गर्दैछन । यिनै समाजहरुको छाताको रुपमा केहि समय अघि स्थापना भएको अन्तरास्ट्रिय झापाली समाजले आगामी असोज २४ र २५ गते ‘’समृद्द झापाका लागि अन्तरास्ट्रिय झापाली समाज’’ भन्ने मुख्य उदेश्यका साथ झापामा आफ्नो प्रथम अधिवेशन गर्दैछ । अधिवेशनका निमित्त विभिन्न समिती तथा उपसमिती लगायत आवश्यक तयारीहरु धमाधम भैरहेको विभिन्न मिडिया मार्फत जानकारी हुन आएको छ ।
यसो भैरहँदा यसलाई जुन गहनताका साथ वृहद छलफल गरि सम्पूर्ण देशहरुमा रहेका समाजको छाताको रुपमा दुरगामी दायरा तय गरि अघि सारिनुपर्थ्यो त्यो भने खासै पाइएको छैन । अधिवेशन पुर्व विभिन्न देशमा रहेका समाजहरु बिचमा सबैभन्दा पहिला सामान्य विषयहरुमा एकरुपता कायम गर्ने दिशामा विमर्श गरिनुपर्थ्यो जस्तो सदस्यता, आजीवन सदस्यता, मापदण्ड आदि न्युनतम विषयहरुलाई एकरुपता कायम गरेर त्यसको आधारमा दिर्घकालिन लक्ष्य बनाइनुपर्थ्यो । यसो भनिरहदा झापाली समाज युएईको एउटा कामलाई यहाँ राख्न उपयुक्त हुनेछ । जहाँको समाजले आजीवन सदस्यताको अवधारणा तय गरेर व्यवहारमा लागु गर्दै आएको थियो भलै त्यो अहिले स्थगित छ ।
निश्चित प्रक्रिया पुरा गरेर युएई दिराहाम १०५ शुल्क तिरेर आजीवन सदस्य बनिसकेपछि पुनः कुनै किसिमको शुल्क बुझाउन नपर्ने र आजीवन सदस्यको मरणोपरान्त नेपाली एक लाख रुपैयाँ परिवारलाई सहयोग दिने नाराका साथ गरिएको यो कार्य आँफैमा अति नै महत्वाकांक्षी थियो जसलाई तात्कालिन समयमा नै सच्याउनुपर्छ भन्ने आवाज फिक्का रहेपनि अहिले सहयोग रकमको राशीलाई परिमार्जन गर्न समाज लागिरहेको छ, जुन आँफैमा दिर्घकालिन सोचको बुद्दिमतापूर्ण कदम देखिन्छ तथापि हिजोको शुरुवातमा जुन उदेश्य राखेको थियो त्यो भने अति नै सराहनीय थियो, छ र रहिरहनेछ ।
ठिक यस्तैगरी वा यसैको वरिपरी रहेर हरेक देशले आजीवन सदस्यको अवधारणा विकास गर्ने र निश्चित शुल्क लिएर आजीवन सदस्यको मरणोपरान्त सहयोग गर्ने रकमको निर्धारण यथार्थपरक ढंगबाट गर्ने हो भने यसले कालान्तर सम्म देश विशेष सामाज सँगै अन्तरास्ट्रिय झापाली समाजलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग त गर्ने नै छ सँगसँगै समाजका आजीवन सदस्य र झापाली समाजहरु विच दिर्घकालिन मेलमिलाप र सदभाव तथा आत्मीयताको विकास समेत गर्नेछ ।
अझै सकेको खण्डमा हरेक देशका आजीवन सदस्यताको रकमलाई एकत्रित गरि निक्षेपका रुपमा राख्ने र सरदारका आधारमा आजीवन सदस्यको क्षतिलाई पूर्वानुमान गरि निर्धारण गरिएको त्यसको ब्याज रकमले सहयोग गर्ने कार्य गर्दा झनै राम्रो होला, यहि रकमलाई ऋण प्रवाह गर्ने लगायतका कामबाट समेत लक्ष्य हासिल गर्न सकिन्छ भन्दा अन्यथा नहोला । यस्ता कार्यहरुबाट स्वदेश, विदेशको बसाई पुरा गरि फर्किएका र विदेशमा नै रहेका झापालीहरू बिचको सुमधुर सम्बन्ध अनि कार्यक्षेत्र झापाका हरेक ठाँउहरुमा समाजको आवाज समेत पुग्नेछ ।
यिनैमध्ये वैदेशिक रोजगारीमा रहँदा झापाली समाजको अवधारणा अनुरुप अनुबन्धित भएका आजीवन सदस्यहरु अन्तरास्ट्रिय झापाली समाजको अधिवेशनमा स्वत: प्रतिनिधी रहने व्यवस्था हुँदा सहभागिता र अन्य हिसाबले पनि मान्य रहन सक्थ्यो, सुगन्धित हुन सक्थ्यो । अन्तरास्ट्रिय झापाली समाजको समितीमा समेत उनीहरुको प्रतिनिधित्वलाई निस्चित मापदण्ड बनाएर सुनिस्चित गर्न सकिन्थ्यो ।
अन्तरास्ट्रिय झापाली समाजलाई साँच्चिकै कामयावी बनाउने हो भने वा सबै देशमा रहेका झापाली समाजको छाता संस्था बनाउने हो भने यसलाई झापामा नै रहने पूर्ण/मिश्रित व्याक्तिहरुको नेतृत्वमा केन्द्रित गर्दा उपयुक्त हुन्थ्यो जसले जतिपनि देशमा रहेका झापाली समाजहरु छन तिनीहरुले त्यस देशका तर्फबाट होस अथवा अन्तरास्ट्रिय झापाली समाजको तर्फबाट होस सबैका कार्यहरु झापामा व्यवस्थापन गर्न सक्दथ्यो, सजिलो हुन्थ्यो । समाजको कार्यक्षेत्र झापा भएको हुनाले समितीको पूर्ण हिस्सा नभएपनि केहि हिस्साले कार्यसमितीमा प्रतिनिधित्व पाए झापाको भूगोल भित्र रहेर कार्य व्यवस्थापन गर्न सजिलो तथा उपयोगी हुनेछ ।
यदि अन्तरास्ट्रिय समाजको कार्यसमिती पूर्ण रुपमा विदेशमा नै सिमित भए अथवा विदेशको भिसा लागेको र विदेशमा नै कार्यरत भएको आदि मापदण्ड भए कालान्तरमा कार्यक्षेत्रमा कुनैपनि कार्य गर्ने कुरामा सहजता हुने छैन जुन सहजता स्थानीय झापामा रहेका व्याक्तिहरु द्वारा हुनसक्छ । विस्तारको दौरानमा आवश्यक महशुस गरिएमा प्रत्येक देशमा रहेका झापाली समाजको न्युनतम रकममा अन्तरास्ट्रिय झापाली समाजको कार्यालय र कर्मचारीको समेत व्यवस्थापन गर्न ठुलो कठिनाई हुने छैन । यी सबै कार्यबाट हरेक देशमा रहेका झापाली समाजको सिधा सम्पर्क माध्यम त हुन्छ नै वर्षभरि नै कार्यक्षेत्रमा रहेका व्याक्तिहरुको उपस्थितिमा अन्तरास्ट्रिय झापाली समाज चलायमान समेत हुनसक्छ बनाउन सकिन्छ ।
सँगसँगै स्थानीय राजनीतिक तथा गैर राजनीतिक संघ, संगठन सँग आवश्यक सहयोग र सम्बन्धको समेत विस्तार गर्न सजिलो हुनेछ । यसो भनिरहदा केवल कार्यक्षेत्रका व्याक्तिहरु मात्र पर्दामा देखिने अथवा उनीहरु मात्र प्रधान भन्ने कुरा कदापि होइन । प्रधान त तिनै झापाली समाज र व्याक्तिहरु हुन जो वैदेशिक रोजगारीमा कार्यरत छन र त्यहिंको परिस्थिति सँग सामना गर्दै समाज सेवा जस्तो महान कार्यलाई आत्मासाथ गरेर अगाडी बढाइरहेका छन । जसको लक्ष्यलाई प्राप्तिको खुडकिलो सम्म पुर्याउन झापामा रहने व्याक्तिहरुले समेत सहजीकरण गर्दै भूमिका खेल्न सक्छन र समाज सेवाको अभियानमा आफु प्रत्यक्ष सहभागी हुँदै अरुलाई समेत सोहि दिशामा प्रेरित गर्न प्रत्यक्ष र अप्रत्यक्ष प्रोत्साहन सृजना गर्न सक्दछन ।
तर अहिलेको अन्तरास्ट्रिय झापाली समाजको अधिवेशनलाई नियाल्दा अलि साँघुरो सोच अघि सारेको जस्तो देखिन्छ जो सम्बन्धित देशमा रहेका समाजका पदाधिकारी वा सदस्यहरुको वरिपरी नै घुम्नेछ र कार्यक्षेत्र जस्तो महत्वपूर्ण स्थान रित्तो हुनेछ । जुनसुकै कार्यको लक्ष्यमा पुग्नका निमित्त ‘म’ र ‘पद’ को स्वार्थ र अहंकारलाई टाढा राखे मात्र सम्भव हुनेछ तर कोहि आफ्नो जिम्मेवारीबाट पन्छिए वा भागे वा नैराश्यतामा रुमल्लिए भने त्यसले मुर्त रुप लिन सक्ने छैन । साँच्चिकै समाज सेवाको निस्वार्थ भाव कसैले राख्छ भने समाजभित्र रहेर होस अथवा वाहिर रहेर समेत उसले क्रियासिलता जनाउँदछ, हो यस्तै कार्यको विकास हरेक देशका झापालीहरू सँगै झापाली समाजका समितीहरु देखि अन्तरास्ट्रिय झापाली समाज सम्म देखिनुपर्दछ, आवश्यक भएको छ ।
हरेक देशका झापाली समाज र अन्तरास्ट्रिय झापाली समाजले अधिवेशन पुर्व र अधिवेशन पश्चात धेरै गहन विषयहरुलाई दिर्घकालिन लक्ष्य बनाएर अगाडी जान सकोस जसले हरेक झापालीलाई मात्र होइन हरेकक नेपालीलाई समाज सेवा प्रति अभिप्रेरित गरोस अनि झापाली समाज समाज सेवाको निमित्त एउटा उज्ज्वल नक्षत्र बनेर चम्किरहोस । ( लेखक झापाली समाज यु.ए.ई. का केन्द्रीय सल्लहाकार हुनुहुन्छ )
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर