Aamsanchar

चिकित्सा विधेयकमा प्रधानमन्त्री र शिक्षामन्त्रीको मत बाझियो

Author Image
बिहिवार, असार २१, २०७५

शिक्षामन्त्री र गोविन्द केसीको वार्ताः म ओलीविरुद्ध लड्छु

काठमाडौं ।

सरकारले संसदमा ल्याउन लागेको चिकित्सा शिक्षासम्बन्धी विधेयक क्याबिनेटबाट पारित गर्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलवीच मत बाझिएको छ ।

डा. गोविन्द केसीले जुम्लामा अनसन सुरु गरेपछि उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलको मत बाझिएको छ ।

मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्यस्थितिलाई ध्यान दिँदै तत्कालै हेलिकोप्टर पठाएर काठमाडौं वा चितवनमा उपचार गर्न सहज हुने स्थानमा ल्याउन गृहमन्त्रालयलाई सुझाव दिएका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने डा. केसीको हाजिर कपी मगाएर सरकारी कर्मचारी कार्यालयमा उपस्थित भए/नभएको जाँच गर्न निर्देशन दिएको सूत्रको दाबी छ ।

ओलीको आरोप- शिक्षामन्त्री ढीट !

शिक्षामन्त्री पोखरेलले विधेयकको मस्यौदामा चिकित्सा शिक्षा आयोगको प्रावधान राखेकोमा प्रधानमन्त्री ओलीले असहमति जनाएका थिए । माथेमा आयोगको प्रतिवेदनले चिकित्सा शिक्षा आयोग बनाउन सिफारिस गरेको थियो, जुन विधेयकको परिच्छेद ३ मा समाविष्ट गरिएको छ ।

स्रोतका अनुसार विधेयकबारे शिक्षामन्त्री पोखरेलले कानस्न मन्त्रालयका साथै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग पटक-पटक विधेयकको मस्यौदामाथि छलफल गरेका थिए ।

अन्ततः प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई ‘तपाई ढीट हुनुहुँदोरहेछ’ भन्दै विधेयक क्याबिनेटमा लैजान अनुमति दिएपछि गतसाता यसलाई मन्त्रिपरिषद बैठकमा प्रस्तुत गरिएको हो ।

यसैवीच माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमाले सरकारद्वारा संसदमा प्रस्तुत गर्न लागिएको विधेयकमा चिकित्सा शिक्षा आयोगको प्रावधान राखिनु आफूहरुको सुझावअनुरुप नै भएको बताएका छन् ।

डा. माथेमाले अनलाइनखबरसँग भने- ‘आयोग बनाउने धारणा हाम्रो प्रतिवेदनमा पनि थियो । आयोग भनेको हाम्रो प्रतिवेदनको एउटा महत्वपूर्ण पार्ट नै हो ।’

शिक्षामन्त्री र गोविन्द केसीको वार्ताः म ओलीविरुद्ध लड्छु

यसैवीच शिक्षामन्त्री पोखरेलले विधेयकको मस्यौदा तयार पार्ने सिलसिलामा डा. गोविन्द केसीसँग पनि छलफल गरेका थिए । आफूले धेरै ठूलो प्रयास गरेर विधेयकमा चिकित्सा शिक्षा आयोगको प्रावधान राखेको र यसले माथेमा आयोगको भावनालाई समेटेको भन्दै मन्त्री पोखरेलले डा. केसीलाई सम्झाएका थिए ।

स्रोतका अनुसार डा. केसीले काठमाडौंमा थप मेडिकल कलेजलाई सम्वन्धन दिने प्रावधान कुनै हालतमा स्वीकार्य नहुने भन्दै मन्त्री पोखरेललाई भने- ‘तपाईको भावना म बुझ्छु, तर काठमाडौंमा मेडिकल कलेज खोल्ने गरी कानून आयो भने म केपी ओलीसँग लड्छु, यसमा विभागीय मन्त्रीको हैसियतले तपाई पनि पर्नुहुन्छ ।’

छलफलका क्रममा मन्त्री पोखरेलले अब बन्ने चिकित्सा शिक्षा आयोगमा बसेर काम गरिदिन डा. केसीसँग आग्रह गरेका थिए । तर, डा. केसीले मन्त्री पोखरेललाई भने – म बस्दिनँ ।

अन्ततः डा. केसी जुम्ला पुगेर अनसनमा बसेका छन् । उनको स्वास्थ्यस्थिति गडबडी भएमा तत्काल उपचारको उपलब्धता कमजोर छ । यही स्थितिलाई ध्यान दिँदै शिक्षामन्त्री उनलाई हेलीकोप्टरमार्फत उद्धार गर्नुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री भने डा. केसीसँग नझुक्ने बरु हाजिर कापी हेरेर कारबाही गर्ने पक्षमा रहेको सरकारी स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर