Aamsanchar

‘१६ लाखको विल होइन, तिर्न दबाब पनि छैन र कोही भागेको पनि छैन’

Author Image
बुधवार, साउन ३०, २०७५

बिर्तामोड।

झापाको बीएण्डसी हस्पिटलमा उपचार गराइरहेका बिरामीका आफन्तले गलत सूचना सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका छन् । अस्पताल प्रशासन र बिरामीका आफन्तले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विभिन्न माध्यममा आएका कुराप्रति आपत्ति जनाएका हुन् ।

अस्पताल र विरामीका परिवारको मानमर्दन गर्ने गरी भएको कुराप्रति अस्पतालको ध्यानाकषर्ण भएको छ– अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलनमा भने– ‘१६ लाख उपचार खर्च तिर्न अस्पतालको दवाव’ भन्ने कुरा प्रचार भएको छ, त्यसमा म मात्र होइन अस्पताल प्रशासन र बिरामीका आफन्त नै दुःखी छौं । वीएण्डसी हस्पिटलविरुद्ध गलत प्रचार गरिएको, विरामीका आफन्तलाई पैसा तिर्न कुनै दबाब नदिएको बरु सकेको सहयोग गर्ने हस्पिटलले जनाएको छ ।

प्रसाईले भने– ‘सत्यतथ्य बुझेर त्यस्ता कुरा बाहिर ल्याएको भए हुन्थ्यो, मैले अन्य हस्पिटलमा उपचाररत् बिरामीलाई समेत आर्थिक सहयोग गरेको छु ।’ ७ लाख ४९ हजारको बिललाई बढाईचढाई गरेर १६ लाख बनाएर भ्रम छरेको भन्दै उनले दुःख व्यक्त गरे ।

यता हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकज नेपालले बिरामीलाई गम्भीर अवस्थामा अस्पताल ल्याएको बताए । ‘यहाँ ल्याउँदा घाइतेको एउटा आँखा बाहिर निस्केको थियो’– डा. नेपालले भने– ‘प्राइमरी उपचारपछि क्रमशः बिरामीको अवस्था सुधार हुँदै गएको छ ।’ उनले एउटा आँखा निस्किए पनि अर्को आँखा ठीकै भएको बताए । उनलाई अहिले पनि भेन्टिलेटरमा राखेको बताउँदै उनले अझै २÷३ हप्ता उपचार लम्बिने जानकारी दिए ।

अस्पतालमा उपचाररत् अरुण तामाङकी श्रीमती इन्दुले आफूलाई त्यस बिषयमा जानकारी नभएको बताइन् । उनले अरुणका मामाका छोरा निमा तामाङले पत्रकारलाई जानकारी दिएको हुन सक्ने बताइन् । ‘हामीलाई त्यो कुरा बिषयमा जानकारी छैन र विरामी छोडेर कोही भागेको पनि छैन’– तामाङकी श्रीमती इन्दुले भनिन्– ‘बिरामी जाती हुँदैन भने कति खर्च भएको छ हिसाब गरिदिनु अस्पताल प्रशासनलाई भनेका थिएँ ।’ रोङ गाउँपालिका–४ घर भएका तामाङ साउन १३ गते बर्नेमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको हाल वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर