Aamsanchar

 मेरो स्तन नहेर

Author Image
मङ्गलवार, साउन १८, २०७३

क्याटलिन जुभिक 


‘नो ब्रा डे’की अभियन्ता विद्यार्थी जुभिक
हटमोसक्लव डटकम

अमेरिकाको हेलेना हाइस्कुल पढ्ने क्याटलिनले स्कुलमा ब्रा नलगाउने अभियान चलाएर विश्वलाई नै छक्क पारिन्। ‘मैले स्कुलमा नो ब्रा डे आयोजना किन गरेँ’ शीर्षकमा डेढ महिनाअघि गार्जियनमा उनले एउटा ब्लग लेखिन्। ब्लगको भावानुवाद–

यो शारीरिक अपहेलना अन्त्य गर्ने कुरा हो। केटीहरूको बारेमा दोहोरो मापदण्ड अन्त्य गर्नेबारेको कुरो हो।

चौथो घण्टी बजेपछि साथीहरूसँग लञ्चका लागि निस्किनै लाग्दा सहायक प्रिन्सिपलले मलाई रोकिन्। र, सोधिन्, ‘तिमीले आज केही भुल्यौ?’ म केहीबेर अकमकिएँ। उनले फेरि थपिन्, ‘तिम्रो अनुपयुक्त पहिरनबारे तिमीसँग कुरा गर्नुछ।’

यो २५ मे को कुरा हो। मैले पाखुरासम्म बाहुला भएको कालो टिसर्ट लगाइराखेकी थिएँ। मैले लगाएको पहिरन स्कुलले तय गरेको ‘ड्रेस कोड’भन्दा फरक थिएन। अथवा, मैले स्कुलको नियम विपरीत केही लगाएकी थिइन। त्यसैले सहायक प्रिन्सिपलको मुखबाट मैले पहिरनको नियम बिर्सेको कुरा सुन्दा म आश्चर्यचकित भएँ। म अलमलिएँ पनि। मैले के गल्ती गरेँ भन्ने प्रश्न र कौतुहलले मलाई हल्लायो।

‘होइन, मैले बुझिनँ,’ मैले अल्मलिदैँ सहायक प्रिन्सिपललाई जवाफ दिएँ।

‘तिमीले ब्रा लगाइराखेकी छौ त?’ उनले सोधिन्।

‘छैन’ मैले जवाफ दिएँ।

‘ठीक छ, तिमीले या त यो छोप्नुपर्छ या ब्रा लगाउनुपर्छ, किनभने यहाँ थुप्रै पुरुष शिक्षक र विद्यार्थीहरू छन्।’ उनले मेरो छातीतिर लक्षित गर्दै भनिन् ‘तिमीले ब्रा नलगाउनाले तिनीहरूलाई असजिलो हुन्छ। तिनीहरू यो हेर्न चाहदैँनन्।’

मैले अपमानित महसुस गरेँ र म रातोनिलो भएँ। मैले लगभग बेइज्जत भएको महसुस गरेँ। म सबैथोक देखाउँदै हिँडिरहेको थिइनँ। वास्तवमा मैले ब्रा लगाएकी छैन भन्न सक्नुहुन्नथ्यो। म निहुँरिदाँ पनि तपाइँ केही देख्न सक्नुहुन्नथ्यो। म त्यस्तो खालको मान्छे नै होइन।

म प्रायः ब्रा नलगाई हिँड्न चाहन्छु किनभने यो बढी आरामदायी हुन्छ। मेरा कतिपय साथीहरू कहिल्यै ब्रा लगाउँदैनन्। सहायक प्रिन्सिपलको भनाइले मैले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठानेँ। यस्तै महसुस गरेँ, त्यसैले मैले त्यो बेला मेरो टिसर्टको बदलामा केही लगाउँला भनेर त्यहाँबाट हिँडे।

वास्तवमा मलाई यो कुराले साह्रै छोयो। पछि मैले स्कुले नियमका पुस्तिकाहरू पढेँ। त्यहाँ ब्राको स्ट्राप (फिता) देखाउन नमिल्नेबाहेक यसबारे अरु कुनै कुरा थिएन। ब्रा नै नलगाएपछि स्ट्राप देखाउने कुरा मेरो लागि समस्या छँदै थिएन।

यो विषय मेरा लागि महत्वपूर्ण थियो, एउटा व्यक्तिका रूपमा। त्यसैले यसबारेमा मैले स्न्यापच्याटमा केही लेखेर पोस्ट गरेँ र थुप्रै मान्छेहरूले मसँग सम्पर्क गरे। सबै यो कुराले ‘पागल’ भएका थिए। एक प्रकारको भर्चुअल बहस सृजना भयो। मेरो एक जना साथीले चाँडोभन्दा चाँडो ‘नो ब्रा डे’ आयोजना गर्ने सुझाव दिँदै मलाई म्यासेज पठाइन्।

यो जरुरी कुरा थियो, थुप्रै मानिसहरूले हामीलाई सहयोग गरे। हामीले ब्रा नलगाई स्कुल जाने योजना बनाएका थियौँ। हामी कसैलाई हानी गर्न चाहन्नथ्यौँ। हामी प्रशासनलाई पनि दुःखी बनाउन चाहदैँनथ्यौँ। यो नित्तान्त हाम्रो विषय थियो, हाम्रो बारेमा थियो।

यो लैङ्गिक समानताको कुरा पनि थियो। र, महिलाको शरीरलाई ‘सेक्सुअलाइज’ नगर्न सिकाउने कुरा थियो। हामीलाई जहिले पनि पुरुषहरूलाई बढी आरामदायक महसुस हुने काम गर्न भनिन्थ्यो। यदि मेरो स्तनले तपाईंलाई असजिलो बनाइरहेको छ भने तपाईं किन मलाई त्यस दृष्टिले हेरिरहनुभएको छ?

यो अरु कसैको सजिलो–असजिलोप्रति वास्ता गर्ने कुरा होइन। आफ्नो शरीर र आफ्नो पहिरनबारे किशोरीहरूले कसरी सहज र आरामदायी महसुस गर्छन् भन्ने छनौटको कुरा हो। यही कुरा अरुलाई बुझाउने समय हो यो।

भन्न त अरुहरूले मलाई ‘एटेन्सन सिकर’ पनि भने तर म त्यसका लागि यो सबै गरिरहेकी थिइनँ। र, मैले यो यति ठूलो विषय बन्ला भन्ने सोचेकी पनि थिइनँ।

00                                     00

Com-8eyUEAAIIB2

२७ मे मा हामी ब्रा नलगाई स्कुल गयौँ। थुप्रै शिक्षक र विद्यार्थीहरू यसै विषयमा कुरा गरिरहेका थिए।

त्यस दिन मलाई चार पटक प्रिन्सिपलको अफिसमा बोलाइयो। त्यसमध्ये एउटा बैठकमा प्रिन्सिपलले हाम्रो फेसबुक पेज बन्द गर्न भने। उनले हाम्रो फेसबुक पेजले सिकाइमा बाधा उत्पन्न गरिरहेको र सम्हाल्न नसकिने विषय बन्दै गरेको बारेमा सचेत गराए।

म एकदमै निरास थिएँ। उनी नै त्यो व्यक्ति थिए जसले हामीले मात्रै ब्रा नलगाएका कारण कक्षाको बीचमा मलाई बारम्बार बाहिर बोलाएर हाम्रो सिकाइमा बाधा पुर्याइरहेका थिए। हामी के गरिरहेका थियौँ र हाम्रो सोचको मूल्य के थियो भन्ने कुरा उनले बुझिरहेका थिएनन्। हामी हाम्रै लागि खडा भइरहेका छौँ र मसँग अभिव्यक्तिको स्वतन्त्रता छ भनेर मैले व्याख्या गर्ने कोशिस गरेँ। तर..?

म त्यहाँबाट रुदैँ बाहिर निस्किएँ किनभने म गहिरो चोटमा थिएँ। त्यसपछि मेरो साथीले एउटा स्थानीय समाचार स्टेसन मसँग कुरा गर्न चाहन्छ भन्ने खबर दिई। म यति दुःखी थिएँ कि मैले सोचेँ, किन कुरा नगर्ने त? समाचारमा यो कुरा छाएपछि फेसबुक तथा अन्य समाचार स्टेसनहरू हुँदै जताततै पुग्यो।

बेलायत, फ्रान्स र भारतजस्ता टाढाका मान्छेहरूले मसँग सम्पर्क गरे। ममाथि अनेकन टिप्पणीहरू गरियो। सम्भव भएजति सबै नामले मलाई पुकारियो। ‘आत्महत्या गर’, ‘तँ खतरनाक वेश्या होस्’, ‘कोही पनि तेरो स्तन हेर्न चाहँदैन’, जस्ता कुराहरू लेखेर मानिसहरूले मलाई पठाए।

तर, अब यो कुरा ठूलो बनिसकेको छ। र, यो कुरा बाहिर आएकोमा म अत्यन्त खुशी छु। तर म अब यो कुरा ब्रामा मात्रै केन्द्रित होस् भन्ने चाहन्नँ। यो शारीरिक अपहेलना अन्त्य गर्ने कुरा हो। केटीहरूको बारेमा दोहोरो मापदण्ड अन्त्य गर्नेबारेको कुरो हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर