Aamsanchar

वडाध्यक्षलाई निलम्बन गर्न माग

Author Image
बुधवार, मंसिर ५, २०७५

सप्तरी, 

भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पिताम्बर यादवलाई पदबाट निलम्बन गर्न स्थानीयवासीले माग गरेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नोकरी गरेको अभियोगमा विशेष अदालतबाट कैद र जरिवानाको सजाय पाएका यादवलाई वडाध्यक्षको पदबाट निलम्बन गर्न सोही वडाका किरणकुमार जायसवालले मङ्गलबार निवेदन दिएका हुन् । कानूनबमोजिम यादवलाई निलम्बन गर्न जिल्ला निर्वाचन कार्यालय सप्तरीमा निवेदन परेको जनाउँदै जिल्ला निर्वाचन अधिकारी दिलीपकुमार यादवले आवश्यक कारवाहीका लागि निर्वाचन आयोगमा निवेदनसहित पठाइएको बताउनुभयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विशेष अदालतले ०७४ साल पुस २१ गते यादवलाई ६ महीना कैद र १५ हजार जरिवानाको फैसला गरेको छ । अख्तियारले छानबिन थालेपछि ०७४ साल जेठ १० गते राजीनामा दिई राजनीति पेशा अपनाएका यादव गत मङ्सिर २ गते भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले जिल्ला शिक्षा कार्यालय दैलेखबाट ०६९ साल माघ १५ गतेदेखि प्राविधिक सब इञ्जिनियरिङ पदमा सेवा प्रवेश गरेका थिए ।

सब इञ्जिनियरका लागि चाहिने न्यूनतम योग्यता पास नगरी कम्प्युटरबाट स्क्यानिङ गरी नक्कली प्रमाणपत्र पेश गरेर यादवले जिल्ला शिक्षा कार्यालयमा सब इञ्जिनियरमा नियुक्ति लिई ६ वर्षभन्दा बढी समयदेखि राज्यलाई ठगी गर्दै आएकाले कारवाही गर्न माग गर्दै स्थानीय शिवशङ्करले अख्तियारमा निवेदन दिएका थिए ।

आयोगको ऐनको सार्वजनिक पदधारण गरेका व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा ४ बमोजिम थुनामा राखेकामा थुनामा रहेको अवधिभर वा दफा १८ बमोजिम मुद्दा चलेकामा किनारा नभएसम्म पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको कानून व्यवसायी मनोज देवले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर