Aamsanchar

सडक दुर्घटनाका नियति र हाम्रो मानसिकता

Author Image
सोमवार, माघ ७, २०७५

तीर्थराज खरेल

सडक दुर्घटना नेपालीको सबैभन्दा त्रासदीपूर्ण नियति बनेको छ । नियन्त्रण बाहिरको घटना, दुई वा दुईभन्दा बढी पक्षको कमजोरीका कारणले हुने घटना, कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । विज्ञानले मानवजीवनलाई सहजता मात्रन बनाई विनाश र क्षति पनि दिएको छ । सवारीसाधनको आविष्कारको प्रयोगले घन्टौं लगाएर हिँड्नुपर्ने समस्याबाट मुक्ति पाए पनि बढ्दै गएर सडक दुर्घटनाले ठूलो मात्रामा धनजनको क्षति हुँदै गएको छ । सडक यातायात नेपालीलाई विकल्पहीन विकल्प हो । हाम्रो सन्दर्भमा भन्नुपर्दा सडक यातायात नै प्रमुख र भरपर्दो साधन हो ।

हवाइमार्ग, रेलमार्ग, रोपवे, दूतावास, केबुलकार तुलनात्मक रूपले महँगो र आर्थिक रुपले पनि सर्वसाधारणको पहुँचभन्दा बाहिरको हुन्छ, तसर्थ सडक यातायातलाई व्यवस्थित, भएका कानुनको कडाइका साथ कार्यान्वयन र अपुग भएका नियमहरू निर्माण गरी अगाडि बढ्नुपर्ने देखिन्छ ।

जलमार्गको सम्भावना कम भएको, रेल मार्गको विस्तार भई नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुँच बाहिर रहेकाले सडक यातायात एकमात्र भरपर्दो यात्राको माध्यम हो । तर, सडक यातायात असुरक्षित बन्दै गइरहेको छ, सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीले अकाल मृत्युवरण गर्नु परेको छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठूलो क्षति भइरहेको छ । सडक दुर्घटनामा मर्नेको समाचार नआएको कुनै दिन वा हप्ता छैन । माओवादी र राज्यबीच भएको १० वर्षे आन्तरिक द्वन्द्वमा भएको मानवीय क्षतिभन्दा सडक दुर्घटनामा हुने क्षतिबढी रहेको तथ्यांकले देखाएका छन् । सन् २०११ पछिमात्र १० हजार बढीले ज्यान गुमाइसकेका छन् । यो भयावह स्थितिको अन्त्य कसरी होला, प्रश्न अनुत्तरित छ ।

फाइल तस्वीर

मृत्युको कारणमा सडक दुर्घटना नेपालमा चौथो र अन्तर्राष्ट्रिय रुपमा दशौं नम्बरमा पर्छ । सवारीसाधनको प्रयोगलाई व्यवस्थित गराउने उद्देश्यले सवारी ऐन तथा नियम लागू गरिएका छन् । तर, सवारी नियमको पालना चालकदेखि पैदल यात्रुसम्मका प्रभावकारी ढंगले नगर्दा धेरै दुर्घटना हुने गरेको देखिन्छ । ट्राफिक संकेतको ज्ञान नहुनु भएमा पनि त्यसको पालना नगर्नु, जेब्राक्रसिङको प्रयोग नगर्नु, सवारी चापको वृद्धि अनुरुप सडक विस्तार हुन नसक्नु, भएका सडकहरू पनि व्यवस्थित र सवारीमैत्री नहुनु जस्ता कारणहरूले गर्दा सडक दुर्घटनामा व्यापक रुपले वृद्धिभएर गइरहेको छ ।

सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारीदर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको लापरबाही नै हुन् । सडक जस्तै सवारीसाधनको पनि अवस्था भयावह छ । विशेषगरी सवारीचालकले आफ्नो सहयोगी सहचालकलाई सिकाउने क्रममा उसलाई सवारी चलाउ नदिँदा पनि दुर्घटना भएको देखिन्छ । त्यसैगरी लामो दूरीमा सवारी चलाउने चालकलाई बाह्रदेखि सोह्र घण्टासम्म एउटैले अनवरत रूपमा सवारी हाँक्दा पनि मानसिक तथा शारीरिक थकावटका कारण पनि दुर्घटना भएको पाइन्छ । त्यस्तै अनियन्त्रित गतिमा सवारीसाधन चलाएका कारण पनि सडक दुर्घटना भएका छन् ।

सडक तथा पुल निर्माण ठेकेदारबाट नेताहरुले घुस लिएका कारणले न्यूनस्तरका सडक बन्छन् । यातायात क्षेत्रका माफियालाई राजनीतिक नेतृत्वको संरक्षण छ । प्रधानमन्त्री र मन्त्रीले राज्य यस सम्बन्धमा गम्भीर बनेको बताएका छन्, तर राज्य आफ्ना नागरिकको जीवनको सुरक्षा गर्न अक्षम देखिएको छ । सार्वजनिक यातायात सेवाको सञ्चालन तथा व्यवस्थापन यातायात व्यवसायी तथा यातायात श्रमिकहरुले गरिरहेका छन्, जुन मुख्यरुपमा राज्यको काम हो । सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखीभन्दा नाफामुखी भएको छ । पुराना र पाका चालकहरु सुरक्षित भविष्यका लागि वैदेशिक रोजगारमा छन् । यातायातको साधनको आयातमा सरकारी नीति अपुग र अव्यवहारिक छ । सर्वसाधारणलाई सेवा दिने ठूला सवारीसाधनहरुको थोरै आयातले यात्रुहरुले कोचिएर यात्रा गर्नुपर्ने अवस्था छ भने निजी सवारीसाधनहरु मोटरसाइकल, कार आयात भने अनियन्त्रित भित्रिनाले सडकमा भीड सिर्जना भई दुर्घटनालाई बढेको छ ।

समाधानका उपाय सुझाउनुले मात्र पनि समस्या न्यूनीकरण हुन सकेको छैन । सवारीसाधन आयात तथा दर्ता गर्दा यात्रुको चाप, आवश्यकता, रुटको अध्ययन आदि हेरेर मात्र गरिनु पर्छ । रुट ईजाजत पत्र नलिई सवारीसाधनलाई चल्न दिनु हुँदैन । रुट निर्धारण, समयसारिणी व्यवस्थापनमा राज्यको स्वीकृति हुने नीति बनाइनु पर्छ । यातायात व्यवस्थापन, सञ्चालन, परिचालन र सार्वजनिक यातायातलाई सहज बनाउने विषयमा राज्य गम्भीर बन्नुपर्छ । ट्राफिक प्रहरीको संख्या बढाएर मात्र समस्याको समाधान हुँदैन । आवश्यक सबै पूर्वाधारसहित सडक विस्तार कार्य तीब्र बनाइनु पर्छ । विद्यमान कानूनको परिधिमा रहेर स्वच्छ ढंगले व्यवसाय सञ्चालन गरी अगाडि बढ्ने परिपाटीको विकास गर्नुपर्ने देखिन्छ । विभिन्न कमी–कमजोरीलाई सुधार गरी सडक यातायातलाई विश्वसनीय बनाउने प्रभावकारी कदम अगाडि बढाउन अब ढिला गर्नु हुँदैन ।

अन्यथा अझै दुर्घटनाको शृंखला बढ्दै जान्छ र मानवीय क्षति हुने अनि सडक यातायातको जोखिम प्रति सर्वसाधारणत्रसित बन्ने अवस्था आउनेमा शंका रहँदैन । अनियन्त्रित गतिमा गाडी चलाउनेलाई नियन्त्रण गर्न देशका अत्यधिक सडक दुर्घटना हुने स्थान तथा बस्ती छेउछाउको व्यस्त सडकमा सवारीका साधनको गति नाप्ने यन्त्र राडर गनको व्यवस्था गर्नुपर्ने कुरा पनि सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । सडकमा डिभाइडर रिफ्लाक्टर ट्राफिक सिग्नल, ट्रयाफिकलाई ट्राफिकपोस्ट आकस्मिक उपचार केन्द्र सडक, ढल, सडकपेटी यात्रु प्रतिक्षालय आदि भौतिक पूर्वाधारसहितका सुविधा थप्नुपर्छ । यात्रु र सवारीचालक सहचालक दुवै पक्षले त्यस नियमलाई पालना गरिएको पाइँदैन ।

सवारी चलाउँदा कुराकानी गर्ने मोबाइलमा गफ गर्ने, रेडियो वा एयरफोनमा मस्त हुन नपाउने कानूनी व्यवस्था भए पनि त्यसको पालना नहुँदा पनि धेरै दुर्घटना भइरहेका छन् । त्यसैले भएका नियमहरूको कडाइका साथ पालनामा जोड दिनुपर्ने देखिन्छ । दुर्घटनापछि भएका कतिपय छानबिन समितिका प्रतिवेदन अनुसार अप्ठ्यारो भौगोलिक बनावट, अधिकांश सडकको खराब अवस्था, यान्त्रिक गडबडी र सवारीचालकको लापरवाही वा सरकारी तहबाट हुने फितलो अनुगमन दुर्घटनाका प्रमुख कारण हुन् ।

तर, सडक सुरक्षाका लागि करोडौँ रुपैयाँ छुट्टाइए पनि सामान्य पूर्वाधार अभावले समेत ठूला दुर्घटना हुनेक्रम नरोकिएको जोखिमपूर्ण भनी पहिचान गरिएका सडकमा समेत उचित सुरक्षा उपाय अवलम्बन नगरिँदा यात्रा जोखिमपूर्ण बन्दै गएको विज्ञहरूले बताएका छन् ।

तर, जोखिम न्यूनीकरणका लागि सडकको पूर्वाधारमा सुधारका अतिरिक्त घुम्ती फराकिलो पार्ने, ऐनावा संकेत राख्ने र नदी किनारका सडकमा स्टीलका बार लगाउने लगायतका काम प्राथमिकताका साथ अघि बढाइनुपर्छ । सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । सबैको प्रयत्नबाट मात्र सडक दुर्घटनाबाट निम्तिने दुःखान्त नियतिको न्यूनीकरण सम्भव छ ।

मूल कुरा सरकारको मात्र होइन, जनस्तरबाट पनि आफ्नो अधिकार र कर्तव्य दुवै प्रति सजग हुन आवश्यक छ । सडक प्रयोग र सवारीसाधन सञ्चालन सम्बन्धमा हाम्रो मानसिकतामा परिवर्तन ल्याउन सकेमात्र सडक दुर्घटनाको रोक्न मुस्किल परिरहेको भयावह स्थिति र दुर्दान्त नियतिबाट मुक्तिको क्रम शुरुवात सम्भव हुनसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर