Aamsanchar

बोलबमधाममा चहलपहल

Author Image
आइतवार, फागुन १९, २०७५

खस्यौली,

महाशिवरात्रि पर्वलाई लक्षित गरेर प्रसिद्ध बोलबमधाममा चहलपहल बढ्न थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधाममा भक्तजनलाई शिव पुराण श्रवण गराउन र अखण्ड भजन कीर्तन गराउन व्यवस्थापनको काम भइरहेको पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबमधामका महासचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले महाशिवरात्रिको पूर्वसन्ध्यामा विभिन्न धार्मिक अनुष्ठानसहितका कार्यक्रम तय भएको जानकारी दिँदै शिव पुराण वाचनका लागि काठमाडौँबाट आचार्य पं राजकुमार खनाललाई आमन्त्रण गरिएको बताउनुभयो । आचार्य पं राजकुमार खनालले रासससँग कुरा गर्दै महाशिवरात्रिका दिन चञ्चला नाम गरेकी कन्या व्रत बसेर मनोकामना पूरा भएकाले यसको विशेष महिमा र महत्व रहेको बताउनुभयो ।

उहाँले महाशिवरात्रिको दिन व्रत बस्नाले विद्या आर्जन, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने, उखुको रसले महादेवको अभिषेक गर्नाले लक्ष्मी प्राप्त हुने, महले अभिषेक गराउँदा सुख शान्ति प्राप्त हुने र बेलपत्र मात्रै अर्पण गर्दा पनि कष्ट निवारण हुने शास्त्रमा उल्लेख भएको जानकारी दिनुभयो ।

उक्त ज्योर्तिलिङ्ग बोलबमधाममा शिव पञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषी माताको मन्दिर चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, पाँच–पाँच फिटको शिवमूर्ति र नागकुण्ड छन् । ज्योर्तिलिङ्गको शास्त्रीय प्रमाणका लागि अध्ययन अनुसन्धान शुरु भएको स्वयं उत्पत्ति भएको ज्योर्तिलिङ्गका रुपमा यसको महिमा रहेको बताइएको छ । भोलि सोमबार महाशिवरात्रि पर्व मनाइँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर