Aamsanchar

किन दिइयो चिन्तनलाई झापा अध्यक्षमा जिम्मेवारी ?

Author Image
मङ्गलवार, वैशाख १०, २०७६

बिर्तामोड । लामो प्रयत्न र असन्तुष्टिकाबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले जिल्ला नेतृत्व टुंगो लागेको घोषणा गरेको हो ।

७७ जिल्लामध्ये पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व लिएका छन् । पूर्व एमालेको भागमा अध्यक्ष परेको जिल्लामा सचिव पूर्व माओवादी हुने सैद्धान्तिक सहमति बमोजिम नेतृत्व वाँडफाँड भएको छ । पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेबाट सचिव भएका छन् ।

जिल्ला नेतृत्वको घोषणा सहमतिको आधारमा गरिएको कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले दाबी गरे । तर, बीचमै वरिष्ठ नेता माधव नेपालले कार्यक्रम छाडेर हिँडेका कारण जिल्ला नेतृत्वमा विवाद रहेको आशंकालाई बल पुगेको छ । विश्वभरका कम्युनिष्टहरुले २२ अप्रिललाई लेनिन दिवसका रुपमा मनाइरहेका बेला नेपालका कम्युनिस्टले भने पार्टी स्थापना दिवसका रुपमा समेत मनाएसँगै आफूलाई दक्षिण एशियाकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा दावी गरेको छ । दुई फरक धारका पार्टी एकीकरणपछि स्थानीय तहमा समेत खुशीयाली छाएको छ ।

झापामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा पूर्व एमालेका अध्यक्ष चिन्तन पठक (तिलचन पाठक)ले जिम्मेवारी पाएका छन् भने सचिवमा पूर्व नेकपा माओवादीबाट विजयकुमार साम्पाङले जिम्मेवारी पाएका छन् ।

को हुन चिन्तन ?
वि.सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति–२मा जन्मिएका उनी देवीप्रसाद र आमा लक्ष्मीमाया पाठकका छोरा हुन् ।
सरल स्वभावका चिन्तनले बिद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए ।
बुधबारेस्थित सरस्वती प्राविमा प्राथमिक शिक्षा आरम्भ गरेका पाठकले बुद्धआदर्श मावि बुधबारेबाट माध्यमिक तहको शिक्षा लिएका थिए । प्रमाणपत्र तह प्रथम वर्ष धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र दोश्रो वर्ष नेपाल ल क्याम्पस काठमाडौंबाट पूरा गरे । राजनीतिक जीवनसंगै अध्ययनलाई पनि प्राथमिकता दिएका चिन्तनले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् ।


चिन्तनले राजनीतिक रुपमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भएका छन् । २०३६–०३७ को विद्यार्थी आन्दोलन, २०३८मा अनेरास्यवियु बुद्धआर्दश माविमा प्रारम्भिक कमिटीमा संगठित, २०३८–२०४४ सम्म अनेरास्ववियु विशेष इलाका कमिटीको सदस्यसचिवको जिम्मेवारी, २०४४मा अनेरास्यवियु झापा जिल्ला कमिटी सदस्य, २०४६मा महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्रारम्भिक कमिटी सचिव, २०४७–२०४९ सम्म काठमाडौं नगर कमिटीको कोषाध्यक्ष, सचिव हँुदै अध्यक्ष बन्न सफल भएका थिए ।

त्यस्तै २०५० चैत्र २०–२५ गतेसम्म हेटौडामा सम्पन्न १२ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई मेची इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए । २०५२ चैत्र १३–२० गतेसम्म विराटनगरमा सम्पन्न १३औं राष्ट्रिय सम्मेलनबाट पुनःकेन्द्रीय सदस्यमा निर्वाचित भई मेची इञ्र्चाजको जिम्मेवारी पाएका थिए । २०५५ भदौमा काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित भई केन्द्रीय शैक्षिक विभागको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रालाई कायम राखन सफल भए । उनले प्ररायुसंघ अन्तर्गत जिल्ला कमिटी सदस्यको जिम्मेवारी पनि पूरा गरेका छन् ।

एमाले पार्टीको जिम्मेवारी
नेकपा एमाले अन्तर्गतका विभिन्न संगठनको जिम्मेवारी सम्हाल्दै चिन्तनले २०५० सालमा तत्कालीन बुधबारे गाउँ कमिटी सदस्य, सचिव, नेकपा एमाले ६ नं. इलाका कमिटी सदस्य, सचिव, नेकपा एमाले विद्यार्थी फ्याक्सन जिल्ला सदस्य, सचिव, नेकपा एमाले विद्यार्थी फ्याक्सन अञ्चल सदस्य, नेकपा एमालेको सामाजिक परिचालन विभाग,सहकारी विभाग,संगठन विभाग, सदस्यको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हाली सकेका छन् ।
त्यस्तै २०५६ फागुन २१–२३ गतेसम्म सम्पन्न नेकपा एमाले ५औं झापा जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीमा मनोनित जिल्ला सदस्य, २०६० जेठ २–४सम्म सम्पन्न नेकपा एमाले छैठौं झापा जिल्ला अधिवेशनबाट ५ नं. इलाका इञ्चार्ज, २०६३ भदौ २४–२६ सम्म सम्पन्न नेकपा एमाले ७ औं झापा जिल्ला अधिवेशनबाट ४नं. क्षेत्रीय सचिवमा निर्वाचित भएका चिन्तन एमालेको ८औं जिल्ला अधिवेशनमा सचिवमा पराजित भए पनि जिल्ला कमिटी सदस्यमा मनोनित भएका थिए ।

२०६९ फागुन २१–२३ सम्म सम्पन्न एमालेको ९औं जिल्ला अधिवेशनबाट कमिटीमा सर्वसम्मत सचिवमा निर्वाचित भएका थिए । उनी २०७१ पुस १७–१९ गते सम्पन्न एमाले प्रथम झापा जिल्ला परिषद् बैठकबाट अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । सबैसँग मिल्न सक्ने र सबैलाई पार्टीको नेतृत्वमा अग्रस्थानमा पु¥याउन अह्म भूमिका निर्वाह गरेका चिन्तन स्थानीय तहको निर्वाचनमा आफू पराजित भएपनि अधिकांश स्थानमा आफ्नो पार्टीको नेतृत्वलाई बिजयी गराउन सफल भएका थिए । उनी राजनीतिक यात्राकै क्रममा २०७६ वैशाख ९ गतेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रथम जिल्ला अध्क्षयको रुपमा चयन हुन सफल भएका छन् ।

जेलको बास
नरम स्वभावका चिन्तन राजनीतिक जीवनका क्रममा पटक–पटक जेल परेका छन् । पञ्चायत बिरोधी आन्दोलन र जनआन्दोलनको समयमा उनले जेल जीवन बिताएका हुन् ।

सबैलाई एकै स्थानमा समेट्दै पार्टीलाई मजबुत बनाएर लैजानुपर्छ भन्ने गरेका चिन्तनले विभिन्न संघ–संस्थामा रहेर जिम्मेवारी सम्हालेका छन् । उनले दर्जनौं सामाजिक संघ–संस्थाको नेतृत्वको अनुभव गरेका छन् । पत्रकारिताको पनि अनुभव सम्हालेका चिन्तन सहकारी संस्थाको प्रारम्भिक संस्थाको अध्यक्ष, जिल्ला सहकारी संघको सञ्चालक हँुदै जिल्ला लेखा समितिको संयोजक समेत भएका थिए । उनले शैक्षिक संस्थाहरुको नेतृत्व समेत सम्हालेका छन् । पार्टी कामको सिलसिलामा उनले भारत र थाइल्याण्डको समेत भ्रमण गरिसकेका छन् ।
दुई सन्तानका बुबा चिन्तनलाई श्रीमती कमला पाठकले राजनीतिक यात्राको क्रममा पूर्णरुपमा साथ दिएको उनले बताए । जिल्लाको १७५ सदस्यीय कमिटीमा १०५ जना पूर्व एमाले र ५० जना पूर्व एकीकृत नेकपा माओवादीको तर्फबाट सदस्य रहने कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

चिन्तनको अबको मिसन

पार्टी एकीकरणको वर्षदिन पछि जिल्ला तहको नेतृत्व टुङ्गो लागेपछि अबको लक्ष्य भनेको स्थानीय तहसम्म सबै कार्यकर्तालाई भावनात्मक रुपमा एकीकृत गर्दै अघि बढ्ने अध्यक्ष चिन्तनले बताए ।
दुई फरक धारका पार्टी एकीकरणपछि भावनात्मक रुपमा एकीकृत गर्न केही कठिनाई हुनसक्ने भए पनि सबैको भावनालाई आत्मसाथ गर्दै पार्टीलाई वैचारिक र सांगठानिक रुपमा एकीकृत गर्ने अध्यक्ष चिन्तनले बताए । सबै कार्यकर्ताको मनोभावलाई बुझेर हरेक क्षेत्रको निर्णय लिने भन्दै उनले भने– २ वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेकाले पनि पार्टीका भ्रातृ संगठनको अधिवेशन छिटोछिटो गर्नुपर्ने दायित्व आइपरेको छ ।
पार्टीको विधानत् २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दबाब रहेको छ । समयमा महाधिवेशन गर्न नसके निर्वाचन आयोगले समेत प्रश्न खडा गर्ने भएकाले पार्टी नेतृत्वलाई एकताबद्ध बनाउँदै जिल्लामा पार्टी अझ क्रियाशील बनाउनु पर्ने जिम्मेवारी आएको अध्यक्ष चिन्तनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका  ७७ जिल्ला अध्यक्ष र सचिव यी हुन्

७७ मध्ये माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु यी हुन्

प्रदेश १ बाट
ताप्लेजुङः बिजय बनेम
सुनसरीः योगेन्द्र मण्डल
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ: देवान चाम्लिङ
ओखलढुंगा: मोहनकुमार खड्का

प्रदेश २ बाट
बारा: गोपाल ठाकुर
सर्लाही: डाचाराज वाग्ले
धनुषा: जोखकुमार बर्बरीया
सिराहा: रामकुमार यादव

प्रदेश ३ बाट
चितवन: यमवहादुर परियार
सिन्धुली: राजन दाहाल
नुवाकोट:हिरानाथ खतिवडा
काभ्रे: रुकु चौलागाई
रामेछाप: मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश
गोरखा: जगन्नाथ खनाल
लमजुङ: मधुमाया अधिकारी
म्याग्दी: गोविन्द पौडेल
स्याङजा:पारस गैरे

प्रदेश ५ बाट
बाँके: आइपी खरेल
बर्दिया:भवनकुमार थारु
रोल्पा: सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम: मेघबहादुर श्रेष्ठ
नवलपरासी: राजुप्रसाद हरिजन

कर्णाली प्रदेशबाट
रुकुम पश्चिम: गोपाल शर्मा (अनल)
जाजरकोट: ढकविर राना
जुम्ला: सुरेश पहाडी
हुम्ला: विजय भण्डारी
कालिकोट:दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा

सुदुरपश्चिम प्रदेशबाट
दार्चुला: गणेश खत्री
डडेलधुरा: मानसिंह माल
कञ्चनपुर: वीरबहादुर थापा
वझाङ: कलकबहादुर खड्का 

                                                                                                                                           (पूर्वाञ्चलबाट साभार)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर