Aamsanchar

सङ्घाई समूहले चिया बगानको करोडौं कर तिरेन

Author Image
मङ्गलवार, वैशाख ७, २०७३

इलाम, ७ वैशाख । त्रिवेणी सङ्घाई समूहले भाडामा लिएका इलाम र झापाका सात वटा चिया कारखानाको जग्गाको कर तिर्न मानेको छैन ।

सङ्घाई समूहले २०५७ सालमा सरकारबाट ५० वर्षका लागि इलामको कन्याम, सोक्तिम, इलाम चिया बगान र झापाका चिलिमकोट, बर्ने, बाह्रदशी र टोकला चिया बगान भाडामा लिएको हो । विसं २०६० यता कन्याम चिया बगानको जग्गाको कर निगमले अहिलेसम्म नतिरेको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताउनुभयो ।

“सम्झौतामा भाडामा लिनेले कर तिर्नुपर्ने कुरा उल्लेख छ, तर अहिलेसम्म कर तिरेको छैन,” उहाँले भन्नुभयो । कर तिर्न पटक–पटक पत्राचार गरिए पनि निगमले अटेर गर्दैआएको छ । यस्तै एक हजार ८९ रोपनीमा फैलिएको इलाम चिया बगानको मालपोत कर पनि सङ्घाई समूहले तिरेको छैन । यहाँको बगान कृषि मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयको नाममा रहेको छ ।

जग्गाको मालपोत करबापतको रकम तिर्न कृषि मन्त्रालय र महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेपनि कर तिर्न नमानेको इलाम नगरपालिकाका शाखा अधिकृत रामकुमार साहले बताउनुभयो । “सङ्घाई समूहले व्यवसायबापतको करसमेत तिरेको छैन । व्यवसाय कर वार्षिक रु एक हजार ५०० देखि रु १० हजारसम्म लगाउन सक्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

सङ्घाइको विर्तामोडस्थित क्षेत्रीय कार्यालयका प्रमुख लोकनाथ दङ्गालले व्यवसाय गर्न भाडामा दिएको जग्गाको कर सरकार आफैले तिर्नुपर्ने बताउनुभयो । “जग्गाको कर जग्गाधनीले नै तिर्नुपर्छ,” उहाँले भन्नुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर